अधियाँ खेत कमाएर १७४ मुरी धान

छिमेकी र साहुबाट भाडा अनि अधियाँमा जग्गा लिएर धान खेती गरेका मकरबहादुरले यस वर्ष पनि पालिकामै सबैभन्दा बढी धान फलाए, पुरस्कार जिते

पुस ८, २०८१

लक्ष्मी गौतम

174 muri paddy by earning Adhiyan field

पाँचथर — खेत दुई रोपनी मात्रै छ । घरमा श्रम गर्ने जनशक्ति पनि दुई जना मात्र छन् । तर उनैले गाउँमै सबैभन्दा बढी १ सय ७४ मुरी धान फलाएका छन् । र, दोस्रो पटक उत्कृष्ट उत्पादकको उपाधि जितेका छन् । उनी हुन् फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडाका मकरबहादुर तामाङ । 

तामाङले गत वर्ष पनि गाउँपालिकामा सबैभन्दा धेरै धान फलाएका थिए । मकरबहादुर नवमीडाँडाको लाप्सीबुङस्थित आफ्नो खलामा छिमेकीको साथ लिएर आइतबार धान निफन्न र भर्न व्यस्त थिए । छिमेकी र आफन्तसँगै गाउँपालिकाबाट आएका जनप्रतिनिधि र कर्मचारी गरी १२ जनाले तीन घण्टा मिहिनेत गर्दा मात्रै उनले फलाएको धानको लेखाजोखा गर्ने काम सकिएको थियो । कति क्षेत्रफलमा कति बीउ रोप्दा फल्यो यति धेरै धान ? ‘आफ्नो नाममा २ रोपनी खेत मात्रै छ, त्यहाँ ७ मुरी फल्यो, बाँकी १ सय ६७ मुरी छिमेकी, आफन्त र साहुको खेत अधियाँ र कुतमा कमाएर फलाएको हुँ,’ मकरबहादुरले भने ।

यति धेरै धान फलाउन श्रीमती र आफूसहित केही मजदुर ज्यालामा ल्याएर सम्भव भएको मकरबहादुरले सुनाए । मकरबहादुरको घरमा श्रीमती र वृद्धावस्थाकी आमासहित तीन जनाको परिवार छ । उनका दुई छोरीको विवाह भइसकेको छ भने छोराहरू झापाको दमकमा घरजम गरेर बसेका छन् । ‘७८ वर्षीया आमा श्रम गर्न सक्नुहुन्न, भ्याएसम्म बूढाबूढी खट्छन्, नभ्याएका खण्डमा छिमेकीलाई श्रमको मूल्य दिएर बोलाउँछन् । कहिलेकाहीं हामी गएर सघाउँछौं,’ छिमेकी जमुना तामाङले भनिन् । मकरबहादुरले फाल्गुनन्द–१ लाप्सीबुङ, ७ काब्रेती, खलासाइले, करमबोटे र सिस्ने गरी ५ वटा बेंसीमा धान रोप्छन् । यी सबै बेंसी छिमेकी र आफन्तबाट अधियाँ कुतमा लिएका हुन् । उनले गतवर्ष अधियाँ र कुत गरी ५० मुरी धान साहु–महाजनलाई बुझाएका थिए ।

174 muri paddy by earning Adhiyan field

यस वर्ष ३० मुरी फल्ने काब्रेसोती बेंसीमा लाग्ने कुलो भदौ महिनामा पहिरोले बगाइदिएपछि त्यहाँ एक पाथी पनि उब्जनी नभएको मकरबहादुरले बताए । ‘बाढीपहिरोकै कारण पोहोर जति धान नफल्ला र इज्जत जाला भन्ने डर थियो, पोहोरभन्दा ६ मुरी धेरै फलेछ, धन्न इज्जत जोखियो,’ मकरबहादुरकी पत्नी टकिामायाले भनिन् । तामाङ दम्पतीले यतिका धान फलाउन ३ मुरी ५ पाथी (६५ पाथी) बीउ रोपेको बताए । धान रोप्न ३९ हलगोरु र ३९ जना हलीसहित बाउसे, रोपाहार, ब्याडे र कोदाले गरी डेढ सय हाराहारीमा जनशक्तिको श्रम खर्च भएको तामाङले सुनाए । तामाङ ०५६ मा रोजगारीको खोजीमा साउदी अरब गएका थिए । चार वर्ष उतै बिताएका उनी ०६० सालदेखि धान खेतीमा लागेका हुन् । 

‘खान–लाउनकै दुःखले बिदेसिएको थिएँ, उता झन् धेरै दुःख भयो, गाउँ फर्केर ढुंगामाथि माटो छापेरै भए पनि खेती गर्छु भनेर यतातिर लागेको हुँ, पहिले २ पाथी धान लुकाएर चाड मनाउनुपर्थ्यो, अहिले दुई–तीन लाखको त बेच्छु नै,’ विगत सम्झिँदै उनले भने । तामाङ दम्पती गत वर्ष पनि १ सय ६८ मुरी धान फलाएर जिल्लाकै उत्कृष्ट धान उत्पादक घोषित भएका थिए । यस वर्ष आफैंलाई उछिन्दै १ सय ७४ मुरी फलाएर दोस्रो पटक पुरस्कार पक्का गरेका हुन् । गत वर्ष उनलाई गाउँपालिकाले ५० हजार नगद पुरस्कार दिएको थियो ।

174 muri paddy by earning Adhiyan field

यस वर्ष पनि पुरस्कारलाई निरन्तरता दिइएको गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिले तामाङको खेतमै धान भरेपछि फूलमाला लगाएपछि बोकेर खलो वरिपरि घुमाए । यही पुस २९ मा गाउँसभा अवसर पारेर पुरस्कार वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापोले बताए । 

फाल्गुनन्दले गत वर्षदेखि ५० मुरीभन्दा धेरै धान फलाउनेलाई ३० हजार र एक सय मुरी नघाउनेलाई ५० हजार नगद पुरस्कार दिन थालेको हो । गत वर्ष एक सय मुरीभन्दा धेरै धान फाउनेको संख्या दुई थियो, यस वर्ष भने तीन पुगेको छ । यो वर्ष मकरबहादुर पछि फाल्गुनन्द–७ का दिप्सन चेम्जोङले १ सय १५ र तिलबहादुर चेम्जोङले १ सय ८ मुरी धान फलाएको गाउँपालिकाको तथ्यांक छ । गत वर्ष ५० मुरीभन्दा धेरै फलाउने २९ किसानलाई पुरस्कृत गरेकामा यस वर्ष बढेर ४६ पुगेको अध्यक्ष बृजहाङ आङदेम्बेले जनाए । ‘प्रोत्साहन र पुरस्कारको नीतिले किसानलाई कृषि कर्ममा फर्काएको छ, बाँझो रहेका खेत रोप्न थालिएको छ, फाल्गुनन्द गाउँपालिकालाई अन्नमा आत्मनिर्भर गर्न अरू बालीमा पनि प्रोत्साहन र पुरस्कारको व्यवस्था गर्छौं,’ अध्यक्ष आङदेम्बेले भने ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully