विद्युतीय सेवा प्रवाहमा दक्षिण एसियामा कमजोर नेपाल

१९३ देशमध्ये सन् २०२४ मा नेपाल विद्युतीय सुशासनमा ०.५७८१ अंकसहित ११९ औं स्थानमा 

पुस ७, २०८१

सजना बराल

Nepal weak in South Asia in providing electronic services

काठमाडौँ — संयुक्त राष्ट्रसंघले दुई वर्षको अन्तरालमा सार्वजनिक गर्ने विद्युतीय सुशासन विकास सूचकांकमा यो वर्ष नेपालको अवस्था सुधार भएको छ । कुल १ सय ९३ देशमध्ये सन् २०२४ मा नेपालले विद्युतीय सुशासनमा ०.५७८१ अंकसहित ११९ औं स्थान हासिल गरेको छ ।

 यसअघि सन् २०२२ मा १२५ औं स्थानमा रहेको नेपालले ६ अंकको सुधार गरेको हो ।

दक्षिण एसियाली देशमध्ये विद्युतीय सेवा प्रवाहमा नेपाल कमजोर अवस्थामै रहेको देखिन्छ । यो क्षेत्रमा अफगानिस्तान र पाकिस्तानबाहेक अन्य देशको भन्दा नेपालको विद्युतीय सेवा प्रवाह फितलो भएको राष्ट्रसंघको अध्ययन प्रतिवेदनले औंल्याएको छ ।

विद्युतीय सुशासनको सूचकांकमा भारतको स्थान ६२ औं, माल्दिभ्सको ९४ औं, श्रीलंकाको ९८ औं, बंगलादेशको १०० औं, भुटानको १०३ औं, नेपालको ११९ औं, पाकिस्तानको १३६ औं र अफगानिस्तानको स्थान १८८ औं छ ।

विद्युतीय सुशासन विकास सूचकांकमा राष्ट्रसंघले विश्वभरका देशहरूको सार्वजनिक सेवा प्रवाहमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगको अवस्था मूल्यांकन गर्ने गरेको छ । यसका तीन मुख्य आधार छन् । सरकारी कार्यालयले अनलाइनमार्फत दिने सेवा, दूरसञ्चार पूर्वाधार र दक्ष जनशक्तिको अवस्था विश्लेषण गरेर डिजिटल सुशासन मापन गर्ने गरिएको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्रसंघले हालै मात्र ‘ई–गभर्मेन्ट सर्भे २०२४’ प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२२ यता कम विकसित देशमध्ये बंगलादेश, भुटान, रुवान्डा, नेपाल, कम्बोडिया र जाम्बियाले डिजिटल विकासमा अग्रता कायम गरिरहेको जनाएको छ । भूपरिवेष्टित देश भएकाले डिजिटल सेवा विस्तारमा नेपाल, रुवान्डा र जाम्बियाले अतिरिक्त चुनौती झेल्ने गरेको पनि उल्लेख छ ।

सूचकांकमा नेपालको स्थान माथि उठे पनि सार्वजनिक सेवा प्रवाहमा डिजिटल प्रविधिको पर्याप्त लाभ उठाउने सन्दर्भमा भने नेपाल पछाडि नै देखिन्छ । नागरिकलाई अनलाइनमार्फत सेवा दिने सन्दर्भको मूल्यांकन गरिने ‘ई–पार्टिसिपेसन इन्डेक्स’ मा नेपालको स्थान १५२ औं रहनुले चुनौती अझै कायम रहेको देखाउँछ । 

ई–गभर्मेन्ट डेभलप्मेन्ट इन्डेक्समा नेपालले हालसम्मै सबैभन्दा धेरै अंक र उच्च स्थान पाएको भनेको सन् २०१८ मा हो । त्यो बेला नेपालको स्थान ११७ औं थियो ।

भूकम्पका बेला ड्रोनलगायत डिजिटल प्रविधि प्रयोग गरी क्षति मूल्यांकन गरिएको जस्ता कारणले त्यो बेला विद्युतीय सुशासनको अवस्था सुधारोन्मुख देखिएको थियो । त्यसपछि सन् २०२० मा १५ अंक तल झरेर १३२ औं स्थानमा पुगेको नेपाल सन् २०२२ भने पुन: अवस्था सुधार गर्दै १२५ औं स्थानमा आएको थियो । डिजिटल नेपाल फ्रेमवर्क, नागरिक एपजस्ता डिजिटल पहललाई त्यो बेला प्रतिवेदनमा औंल्याइएको थियो ।

यस वर्ष नेपालको स्थान सुधार भए पनि विद्युतीय सुशासनको विश्वव्यापी औसत अंक (०.६३८२) भन्दा कम अंक हुनुले थप पहल आवश्यक रहेको देखाउँछ । राष्ट्रसंघको अध्ययनअनुसार विद्युतीय सेवा प्रवाहमा सबैभन्दा उदाहरणीय र विश्वमै अग्रस्थान हासिल गर्ने देश डेनमार्क छ । यो सूचकांकको पुछारमा भने सोमालिया  छ । 

विद्युतीय सुशासन विकास सूचकांकमा कसको स्थान कति ?

देश र स्थान

भारत : ६२ 

माल्दिभ्स : ९४ 

श्रीलंका : ९८ 

बंगलादेश : १००

भुटान : १०३

नेपाल : ११९ 

पाकिस्तान : १३६ 

अफगानिस्तान :१८८ 

विद्युतीय सुशासन विकास सूचकांकमा नेपालको स्थान

वर्ष र स्थान

२०२४ : ११९

२०२२ : १२५

२०२० : १३२

२०१८ : ११७

२०१६ : १३५

२०१४ : १६५

२०१२ : १६४

२०१० : १५३

२००८ : १५०

२००५ : १२६

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully