पोखरामा ड्रागन बोट रेस आयोजना हुँदै

पुस ७, २०८१

कान्तिपुर संवाददाता

Dragon Boat Race is being organized in Pokhara

काठमाडौँ — पोखरामा हुन लागेको दोस्रो ड्रागन बोट रेस प्रतियोगितामा नेपाल, चीन र सिंगापुरका २० वटा समूहले भाग लिने भएका छन् ।

अंग्रेजी नयाँ वर्षको साइत पारी पुस १४ र १५ गते आयोजना हुन लागेको ड्रागन बोट प्रतियोगिताको दोस्रो संस्करणमा नेपालका ११, चीनका ८ र सिंगापुरका एक गरी २० वटा समूहको सहभागिता रहने आइतबार पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मलेनमा आयोजकले जनाएको छ ।

नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन वोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सह–आयोजनामा पर्यटकीय राजधानी पोखरामा दोस्रो नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस आयोजना हुन लागेको हो ।

२ सय मिटर र ५ सय मिटर दूरीमा आयोजना गरिने प्रतियोगितामा दुवै दूरीका प्रथम हुने विजेता समूहले पाँच हजार डलर, उपविजेताले दुई हजार डलर, तृतीयले १ हजार २ सय डलर पुरस्कार प्राप्त गर्नेछन् ।

त्यसैगरी, सहभागी बाँकी १७ वटा समूहलाई प्रतिसमूह पाँच सय डलर पनि प्रदान गरिने आयोजकले बताएको छ । ड्रागन बोटको दोस्रो संस्करण पनि फेवातालमै हुनेछ । चीन सरकारकै अगुवाइमा नेपालमा पहिलो पटक सन् २०२३ मा ड्रागन बोट फेस्टिभल भएको थियो । चीनले यस खाले प्रतियोगिता विश्वका ५० वटा देशमा आयोजना गर्दै आएको छ ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूतावासमा डेपुटी चिफ अफ मिशन वाङ सिनले प्रतियोगिताले नेपाल र चीनका नागरिकबीच सुमधुर सम्बन्ध स्थापित हुनाका साथै नेपालको पर्यटन प्रवर्द्धन हुने बताए । उनले नेपालको पर्यटन प्रवर्द्धन गर्न चीन सधैं सकारात्मक रहेको उल्लेख गरे ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले चीन नेपालको प्रमुख पर्यटकीय स्रोत बजार पनि भएको उल्लेख गर्दै ड्रागन बोट रेसले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए ।

चिनियाँले मनाउने यस पर्वलाई सन् २००९ देखि युनेस्कोले मानवताको अमूर्त सांस्कृतिक सम्पदा मानेको छ । चीनमा प्रचलित लुनार क्यालेण्डरको पाँचौं महिनाको पाँच गते चीनमा ड्रागन बोट फेस्टिभल आयोजना हुने गरेको पर्यटन बोर्डले जनाएको छ  । चीनका विभिन्न प्रान्तमा ३ देखि ७ दिनसम्म यस चाड मनाउने परम्परा रहेको छ । यस चाड मनाउन चीन सरकारले सार्वजनिक बिदा दिन्छ । 

चीनमा बालबालिकादेखि बुढाबूढीसम्मले हर्षोल्लासपूर्वक यो चाड मनाउने गर्दछन् । चिनियाँ भाषामा ‘डुआन्वु–जी’ भनिने ड्रागन बोट फेस्टिभल चीनको चार वटा ठूला चाडमध्ये एक हो । चीनमा ड्रागनलाई सकारात्मक शक्तिको रूपमा लिइने गरिन्छ ।

सन् २०१९ मा चीनबाट १ लाख ६९ हजार ५ सय ३४ जना र २०२३ मा ६० हजार ८ सय ७४ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२४ को जनवरीदेखि नोभेम्बरसम्म ९२ हजार ८ सय ४८ जना चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

कान्तिपुर

Link copied successfully