हुवावे टावरको प्रदर्शनी केन्द्र उद्घाटन
काठमाडौँ — हालै चीनमा आयोजित ‘टेक फर गुड’ प्रतियोगितामा नेपाली विद्यार्थीहरूको एक समूहले ‘पिपल्स च्वाइस अवार्ड’ प्राप्त गरेको छ । केही समयअघि चीनको शेन्जेन सहरमा १९ देशका सहभागीहरूबीच भएको प्रतियोगितामा नेपाली विद्यार्थीहरूले प्राप्त गरेको उक्त अवार्ड शनिबार हुवावे नेपालले एक कार्यक्रम गरी विजेता विद्यार्थीहरूलाई हस्तान्तरण गरेको छ ।
हात्तीसारस्थित हुवावे टावरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अवार्ड हस्तान्तरण गरेका थिए । विजेता विद्यार्थीहरूको समूहमा काठमाडौं विश्वविद्यालय, पुल्चोक इन्जिनियरिङ क्याम्पसलगायत शैक्षिक संस्थामा कम्प्युटर साइन्स, इन्जिनियरिङलगायत विषयमा अध्ययनरत प्रियान्सु शर्मा, एन्जलिना घिमिरे, समृद्धि कार्की, साधना पन्थी, आशीष कार्की, समिप अर्याल संलग्न छन् ।
नेपाली समूहले टेक फर गुडका लागि अल्ट्राकेयर नामक गर्भावस्थामा हुने जटिलताको यथाशीघ्र पहिचान गर्ने एआईमा आधारित डिभाइसबारे आइडिया सुनाएपछि पब्लिक च्वाइस अवार्ड जितेको थियो । ‘ग्रामीण भेगको सामाजिक समस्यालाई सम्बोधन गर्ने डिभाइस भएकाले हामीले अवार्ड जितेका हौं भन्ने लाग्छ,’ एन्जलिनाले भनिन्, ‘अवार्ड जित्नुभन्दा ठूलो उपलब्धि चाहिँ त्यहाँ पाएको एक्स्पोजर थियो ।’
कार्यक्रममा सञ्चारमन्त्री गुरुङले विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउन सिड फर द फ्युचरजस्ता पहल महत्वपूर्ण हुने धारणा राखे । सरकारले सूचना प्रविधिको रुपान्तरणकारी पक्षलाई अवलम्बन गरेको उनले बताए । हुवावे नेपालका प्रमुख जिम हुआङले सन् २०१८ देखि सुरु गरिएको सिड फर द फ्युचर कार्यक्रममा समावेशिता र विविधतालाई ध्यानमा राखेर विद्यार्थीहरू छनोट गर्ने गरेको बताए ।
