दूरसञ्चार र इन्टरनेट सेवा प्रदायकलाई सरकारसँग झगडा नगर्न सञ्चारमन्त्री गुरुङको आग्रह

पुस ६, २०८१

कान्तिपुर संवाददाता

Communication Minister Gurung urges telecommunication and internet service providers not to fight with the government

काठमाडौँ — दूरसञ्चार र इन्टरनेट सेवा प्रदायक कम्पनीलाई सरकारसँग झगडा नगरी गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आग्रह गरेका छन् । काठमाडौंबाट पोखरासम्म पुग्दा किलोमिटरैपिच्छे सञ्चार सेवा अवरुद्ध हुने गरेको भन्दै उनले गुणस्तरमा समस्या रहेको बताए । 

शुक्रबार आईसीटी अवार्ड कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सेवा प्रदायकहरूलाई सरकारले आवश्यक सहुलियत र सहजिकरणको सेवा प्रदान गर्ने बताए । तर, सेवा प्रदायकले पनि आफ्ना जिम्मेवारी पूरा गर्नुपर्ने उनको भनाइ थियो । 

‘एनटीसी, एनसेल, वर्ल्डलिंकजस्ता सेवा प्रदायकलाई हामीले सरकारसँग झगडा गरेर बस्ने होइन, सरकारविरुद्ध अड्डा-अदालतमा मुद्दा हालेर बस्ने होइन भनेका छौं,’ मन्त्री गुरुङले भने, ‘यो सरकारले व्यवसाय गर्ने उचित वातावरण दिएपछि सेवा प्रदायकहरूले पनि सरकारका ऐन, कानुन र नीतिहरू पालन गर्नुपर्छ ।’ 

अहिलेजस्तो ‘झगडा गरेर बस्ने मनस्थिति’ अन्त्य गरेपछि मात्रै आईटी क्षेत्रको विकास सम्भव हुने मन्त्री गुरुङको आशय थियो । उनको भनाइअनुसार नेपालका राजमार्गहरूमा इन्टरनेट र दूरसञ्चार सेवाको गुणस्तरमा धेरै समस्या छ । ‘नागढुंगाबाट मुग्लिनसम्म एक किलोमिटरमा फोन लाग्छ, अर्को किलोमिटरमा लाग्दैन,’ उनले भने, ‘काठमाडौंबाट पोखरासम्म जाँदा कयौं ठाउँमा फोनै लाग्दैन ।’ 

सेवा प्रदायकले भोगेका समस्या समाधान गर्न सरकार तयार रहे पनि सेवा प्रदायकहरू झगडै गरेर बसिरहने मनस्थितिमा रहेको पनि उनले बताए । ‘यस्तो चिज अन्त्य नगरी आईटी क्षेत्रको विकास हुँदैन,’ गुरुङले भने ।

कान्तिपुर संवाददाता

Link copied successfully