नौबिसे–मुग्लिन सडक पुस ७ देखि १३ सम्म आंशिक बन्द

बिहान ११ देखि दिउँसो २ बजेसम्म एम्बुलेन्स र सुरक्षा निकायका बाहेक सवारी सञ्चालन गर्न नदिइने 

पुस ५, २०८१

हरिराम उप्रेती

Naubise-Mughlin road partially closed from 7th to 13th December

गोरखा — पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मुग्लिन खण्ड पुस ७ देखि १३ सम्म आंशिक बन्द हुने भएको छ । नौबिसे–मुग्लिन खण्डको पोखरेभीर र विशालटारमा चट्टान काटी मोड सुधार गर्ने कामका लागि आंशिक रूपमा सडक बन्द गर्न लागिएको नागढुंगा–मुग्लिङ सडक योजना पश्चिम खण्डका सहायक आवासीय इन्जिनियर अशोक देवकोटाले जनाए । 

बिहान ११ देखि दिउँसो २ बजेसम्म सवारीसाधन आंशिक रूपमा रोकी निर्माण कार्य गरिने नागढुंगा–मुग्लिङ सडक योजना (पूर्वी र पश्चिम खण्ड) तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले संयुक्त रूपमा जारी गरेको सूचनामा उल्लेख छ ।

‘पहाडको माटो काट्नुपर्ने भएकाले कार्यालयको आग्रह र समन्वयमा राजमार्ग आंशिक बन्द हुन लागेको हो,’ देवकोटाले भने । उक्त अवधिमा एम्बुलेन्स र सुरक्षा निकायका बाहेक सवारी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । 

पोखरेभीरको मोड सुधारका लागि उक्त अवधिमा नौबिसेबाट गजुरी छिर्ने भारी सवारीलाई गल्छी–बैरेनी र हलुका सवारीलाई जरेखेतमा रोकिनेछ । मलेखुतर्फबाट नौबिसे छिर्ने भारी सवारीलाई चालिसे र हलुका सवारीलाई घाटबेंसीमा रोकिनेछ ।

विशालटारको मोड सुधारका लागि मुग्लिनतर्फबाट मलेखु छिर्ने भारी सवारीलाई मझिमटार र हलुका सवारीलाई चरौंदी बजारमा रोकिनेछ । 

मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारीलाई बेनीघाट र हलुका सवारीलाई विशालटारमा रोकिनेछ । आंशिक रूपमा रोकिने सवारी दिउँसो २ बजेपछि मात्र छाड्ने सूचनामा उल्लेख छ ।

सवारी चलाउँदा लेन अनुशासन कायम राख्न र सवारी लामबद्ध भएको अवस्थामा जथाभावी ओभरटेक नगर्न पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले अनुरोध गरेको छ ।

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully