काठमाडौँ — आफ्नो प्रमुख प्रतिस्पर्धी टिकटक कानुनी र नीतिगत उल्झनमा फसेको बेला मेटाले इन्स्टाग्रामलाई अझै सशक्त बनाउने तयारी थालेको छ । सन् २०२५ मा विश्वका तेस्रो सर्वाधिक धनाढ्य अर्बपति मार्क जुकरबर्गले आफ्नो नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित मेटा मुभी जेनेरेटर सार्वजनिक गर्ने योजना अघि सारेका छन् ।
इन्स्टाग्रामलगायत प्लाटफर्ममा एआई सिर्जित भिडियोहरू सम्पादनको सुविधाले प्रयोगकर्ता र कन्टेन्ट क्रिएटरलाई ब्रान्डिङ र प्रचारको थप विकल्प प्राप्त हुने दाबी गरिएको छ ।
बुधबारको एक कार्यक्रममा इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले जेन एआई भिडियो एडिटिङ फिचर प्रयोग गरेर देखाएका थिए । यो नयाँ सुविधाले भिडियो सम्पादनलाई सरल बनाउन उनको भनाइ छ । भिडियो सम्पादनको खास सीप नभएका कन्टेन्ट क्रिएटर र प्रयोगकर्ताहरूका लागि यो फिचर उपयोगी हुने अपेक्षा गरिएको छ । मेटाको यो एआई प्रविधि गुगल, अमेजन, ओपनएआई, एक्सलगायत ठूला प्रविधिहरूले एआईमा बढाएको लगानी र प्रतिस्पर्धामा अघि रहने होडबाजीका रूपमा बुझ्न सकिन्छ ।
यसै वर्ष सार्वजनिक भएको ओपनएआईको 'सोरा' नामक भिडियो जेनेरेटिङ प्लाटफर्मले अपेक्षा अनुसारको परिणाम दिन नसकेको चर्चा भइरहेको छ । एडोबीले सेप्टेम्बर २०२४ मै आफ्नो 'फायरफ्लाई' नामक भिडियो मोडेल अघि सारिसकेको छ । यसले भिडियो सिर्जना गर्न जेनेरेटिभ एआई प्रयोग गर्छ । जेनेरेटिभ भिडियो सिर्जनाको प्रतिस्पर्धामा गुगलले 'भियो २' सार्वजनिक गरेको छ । अमेजन र एक्सजस्ता कम्पनीहरू पनि यो प्रविधितर्फ निरन्तर काममा लागेका छन् ।
मासिक २ अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ता रहेको इन्स्टाग्रामलाई विश्वकै सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल प्लाटफर्महरूमध्ये एक मानिन्छ । भारतमा मात्रै इन्स्टा प्रयोगकर्ताको संख्या झन्डै ३९ करोड छ र भारत यस प्लाटफर्मका लागि सबैभन्दा ठूलो बजार पनि हो । अमेरिका र ब्राजिल क्रमश: दोस्रो र तेस्रो स्थानमा छन् । प्रयोगकर्ताहरूको यो विशाल उपस्थितिका कारण इन्स्टाग्रामले सन् २०२३ मा मात्रै झण्डै ५० अर्ब अमेरिकी डलर आम्दानी गरेको थियो । यो मेटाको कुल आम्दानीको ३७ प्रतिशत हो ।
भिडियो सेयरिङ प्लाटफर्म, टिकटकको बढ्दो र आक्रामक उपस्थितिसँगै अनेकौं कन्टेन्ट जेनेरेटिङ प्लाटफर्मबाट धक्का महशुश गरेको मेटालाई भारतलगायत ठूला जनसंख्या र इन्टरनेट प्रयोगकर्ता भएका देशमा टिकटक माथिको प्रतिबन्धले राहत दिएको छ । मेटाका मालिक जुकरबर्गको अकासिएको आम्दानीले पनि उनका पछिल्ला प्रयत्नले काम गरिरहेको छनक दिन्छन् ।
अमेरिकामा टिकटकलाई प्रतिबन्ध गराउन सक्रिय रूपमा भूमिका खेलेको आरोप पनि उनीमाथि लाग्ने गरेको छ । मेटा मुभी जेनेरेटरको आगमनले इन्स्टाग्राममा प्रयोगकर्ताहरूको उपयोगिता अझै बढ्ने र त्यसले प्रयोगकर्तासँगै कन्टेन्ट क्रिएटर र व्यावसायीहरूका लागि ब्रान्डिङ र प्रचारको थप विकल्प उपलब्ध गराउने इन्स्टाग्रामका प्रमुखको दाबी छ ।
