स्थानीय सांस्कृतिक झलकसहित परिकारसम्म प्रदर्शनीमा
काठमाडौँ — अंग्रेजी नयाँ वर्ष २०२५ को साइत पारेर कतै घुम्न जाने सोचमा हुनुहुन्छ ? कुनै योजना बनाउनुभएको छैन भने सौराहा, पोखरा वा भक्तपुर घुम्न तयार हुनुहोस् । आन्तरिक पर्यटक वृद्धि गर्नेलगायत उद्देश्य राखेर अंग्रेजी नयाँ वर्षवरिपरि भक्तपुरको थिमिमा मध्यपुर महोत्सव, पोखराको लेकसाइडमा सडक महोत्सव र चितवनको सौराहामा हात्ती पर्यटन महोत्सव हुँदै छन् ।
मध्यपुर थिमिमा पुस १२ देखि तीन दिन ऐतिहासिक जात्रा, नाच, पुराना मुद्रा र सिक्का प्रदर्शनी गरिँदै छ । ‘पर्यटनलाई स्थानीय विकासको साझेदार बनाउनुपर्दछ । स्थानीय सम्पदालाई रोजगारी एवं आयसँग जोडेर अर्थतन्त्रलाई थप गतिशील बनाउन सकिन्छ भन्ने अवधारणामा मध्यपुर महोत्सव–२०८१ आयोजना हुँदै छ,’ नगर प्रमुख सुरेन्द्र श्रेष्ठले भने ।
विभिन्न समयमा आयोजित वः महोत्सव, धिमेबाजा प्रतियोगिता, बाँसुरी बाजा प्रतियोगिता, भजन गायन प्रतियोगितालगायत कार्यक्रमले नगरलाई आन्तरिक एवं बाह्य पर्यटकका आँखासम्म पुर्याएको श्रेष्ठको भनाइ छ । ‘यिनै परिदृश्य र अवधारणामा मध्यपुर महोत्सव आयोजना गर्दै छौं,’ उनले भने ।
चितवनमा पुस ११ देखि १५ सम्म १८औं हात्ती तथा पर्यटन महोत्सव हुने भएको छ । रत्ननगरस्थित बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा महोत्सव हुने आयोजक क्षेत्रीय होटल संघ नेपाल, चितवन, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपालले जनाएका छन् ।
महोत्सवका विभिन्न गतिविधिमा निजी स्तरमा सञ्चालित र सरकारी स्वामित्वमा रहेका गरी ८० वटा हात्ती सहभागी हुनेछन् । २०५५ सालबाट सुरु भएको हात्ती महोत्सव कोराना महामारीको प्रकोपका कारण तीन वर्ष रोकिएको थियो । विश्वसम्पदामा सूचीमा सूचीकृत नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जको काखमा रहेको सौराहामा महोत्सव हुने आयोजकको दाबी छ ।
दुई दशकदेखि आयोजना गर्दै आएको महोत्सवले सौराहासहित चितवनमा पर्यटक आगमन बढाउन सफल भएको आयोजकको भनाइ छ । महोत्सवका कारण हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटकको आगमनमा वृद्धि हुने गरेको पनि बताइएको छ ।
पोखराको लेकसाइड क्षेत्रमा अंग्रेजी नयाँ वर्षको स्वागतमा पुस १३ देखि ५ दिन सडक महोत्सव हुँदै छ । सडकमै खाऊँ, सडकमै नाचौं सडकमै रमाऊँ’ नारासहित महोत्सव हुँदै छ । महोत्सवमा विभिन्न जातजातिका सांस्कृतिक कार्यक्रम, मौलिक वेशभूषा प्रदर्शन, झाँकी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, डुंगा दौड, वेटर रेस, टग अफ वार, मःम, ससेज खाने प्रतियोगिता, स्थानीय उत्पादन, हस्तकला र चित्र–मूर्तिकलाको आनन्द लिन पाइने रेस्टुरेन्ट एन्ड बार एसोसिएसनका महासचिव वीरेन्द्र शेरचनले जनाए ।
फेवातालमा हुने डुंगा दौडमा भाग लिन यस वर्ष पनि चीनबाट जहाज चार्टर गरेर विदेशी आउने उनले बताए ।
