बर्सेनि साढे ३ अर्बको छुर्पी निर्यात

चालु आर्थिक वर्षको ४ महिनामै १ अर्ब १५ करोडको निर्यात, मुख्य बजार अमेरिका र युरोप 

पुस ५, २०८१

राजु चौधरी

Annual export of 3.5 billion

काठमाडौँ — छुर्पीको निर्यात उत्साहजनक रूपमा बढेको छ । चालु आर्थिक वर्षको ४ महिनामा ६ लाख २१ हजार ७ सय ४७ किलो निर्यात भएको हो । उक्त निर्यातबाट १ अर्ब १५ करोड रुपैयाँ भित्रिएको भन्सार विभागको तथ्यांक छ ।

अमेरिका, क्यानडा, ब्राजिल, चीन, ग्रिस, जापान, दक्षिण कोरिया, मलेसिया, सिंगापुर, युके, युक्रेनलगायत मुलुकमा छुर्पी निर्यात हुने विभागले जनाएको छ । त्यसमध्ये औसतमा करिब ९० प्रतिशत नै अमेरिका निर्यात हुने गरेको विभागको भनाइ छ ।

४ महिनामा अमेरिकामा मात्रै १ अर्ब २ करोड २३ लाख ७१ हजार रुपैयाँको ५ लाख ५२ हजार ४८ किलो छुर्पी निर्यात भएको छ । दोस्रो निर्यात गन्तव्य क्यानडा हो । ४ महिनामा क्यानडामा ७ करोड ७२ लाख ९७ हजार रुपैयाँको ३२ हजार ४ सय ५ किलो छुर्पी निर्यात भएको विभागले बताएको छ । 

पूर्वतिर उत्पादन भएको छुर्पी धेरै भारत जान्छ । भारतीय व्यवसायीले त्यही छुर्पी निर्यातसमेत गर्छन् । तर नेपाली ब्रान्डमा पठाउन नसकिएको नेपाल डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले जनाए । ‘पूर्वका स–साना डेरी उद्योगबाट उत्पादित छुर्पी भारत जान्छ । खुला सीमाका कारण रेकर्ड पनि हुँदैन,’ उनले भने, ‘नेपालबाट धेरै निर्यात गर्न सक्छौं । तर नेपाली ब्रान्डमा पठाउन सकेनौं । पूर्वाधार बनाउन सकेनौं ।’

अन्तर्राष्ट्रिय बजारमा माग बढ्न थालेपछि छुर्पी उत्पादन गर्ने डेरी उद्योग पनि बढेका छन् । तर व्यवस्थित उत्पादन छैन । धेरैजसोले पराम्परागत रूपमै उत्पादन गर्छन् । केहीले भने निर्यातकर्ताको मागअनुसार उत्पादन गरिरहेका छन् । त्यसपछि निर्यातकर्ताले मोडिफाई गरेर निर्यात गर्दै आएका छन् ।

‘विगतदेखिको ट्रेन्ड हेर्दा पाँचथर, इलामतिर घरघरमै छुर्पी उत्पादन हुन्छ । तर सबै जनाले निर्यात गर्दैनन् । निर्यातकर्ताले संकलन गरेर निर्यात गर्छन्,’ अध्यक्ष दाहालले भने, ‘छुर्पी मात्रै उत्पादन गर्न ठूलो उद्योग आइसकेको छैन । तर यसको सम्भावना छ ।’

व्यवसायीका अनुसार विदेशमा कुकुरको प्रमुख खान्की नै छुर्पी हो । ‘हरेक वर्ष माग बढ्दो छ, तर गुणस्तरीय उत्पादन र आपूर्तिको समस्या छ,’ दाहालले भने, ‘केही कम्पनीले संकलनसँगै उत्पादन पनि गर्न थालेका छन । तर पर्याप्त छैन ।’ 

विभागको पछिल्लो ५ वर्षको तथ्यांकअनुसार निर्यात बजार उत्साहजनक छ । २०७६/७७ मा १ अर्ब २२ करोड ८३ लाख रुपैयाँको ७ लाख १७ हजार २ सय ६४ किलो छुर्पी निर्यात भएको छ । यसमध्ये अमेरिकामा मात्रै १ अर्ब ५ करोड ९१ लाख रुपैयाँको ६ लाख २४ हजार ३ सय ५३ किलो निर्यात भएको छ ।

दोस्रोमा क्यानडामा ९ करोड २२ लाख रुपैयाँको ५४ हजार २ सय ८७ किलो निर्यात भएको छ । २०७७/७८ मा १ अर्ब ९६ करोड ५० लाख ४६ हजार रुपैयाँको १२ लाख ६२ हजार ९ सय ९८ किलो छुर्पी निर्यात भएको उल्लेख छ । 

सबैभन्दा धेरै अमेरिकामै निर्यात भएको छ । अमेरिकामा १ अर्ब ७० करोड १३ लाख ५९ हजार रुपैयाँको १० लाख ३२ हजार १ सय ७ किलो निर्यात भएको छ । दोस्रोमा क्यानडामा १६ करोड १३ लाख ९१ हजार रुपैयाँको ८४ हजार १ सय ३ किलो निर्यात भएको विभागको तथ्यांक छ ।

माता पाथीभारा डेरी उद्योग प्रालिका सञ्चालक गंगा खड्काले पनि अन्तर्राष्ट्रिय बजारमा माग बढिरहेको बताए । अमेरिका र भारतमा छुर्पी निर्यात गर्दे आएका उनले युरोपमा पनि तयारी गरिरहेको जनाए । 

‘छुर्पीको बजार राम्रो छ । मासिक ३० हजार किलो निर्यात हुन्छ,’ उनले भने, ‘उत्पादन र संकलन क्षमता थप बढाउँदै छु ।’ खड्काले १० हजार किलो आफ्नै डेरीमा छुर्पी उत्पादन गरे पनि १५ देखि २० हजार केजी अन्य डेरीबाट संकलन गर्छन् । १ किलो छुर्पी बनाउन २२ देखि २५ लिटर दूध चाहिन्छ । छुर्पी उत्पादनले किसानलाई समेत प्रोत्साहन भएको खड्काको भनाइ छ । 

विभागका अनुसार २०७८/७९ मा २ अर्ब ९१ करोड १९ लाखको छुर्पी निर्यात भएको छ । यस अवधिमा १७ लाख ४४ हजार ४ सय ५१ किलो निर्यात भएको जनाएको छ । अमेरिकामा मात्रै २ अर्ब ४४ करोड ५० लाख ३७ हजार रुपैयाँको १३ लाख ५८ हजार ६ सय ५ किलो निर्यात भएको विभागको तथ्यांक छ । दोस्रोमा क्यानडामा ३१ करोड ३५ लाख ५२ हजार रुपैयाँको १ लाख ५० हजार १७ किलो निर्यात भएको छ । 

२०७९/८० मा ३ अर्ब ४० करोड ९० लाख रुपैयाँको १७ लाख ८६ हजार १ सय १२ किलो निर्यात भएको छ । अमेरिकामा २ अर्ब ९६ करोड ७६ लाख रुपैयाँको १५ लाख २६ हजार ४ सय ४३ किलो निर्यात भएको छ । क्यानडामा २९ करोड ४२ लाख रुपैयाँको १ लाख ४४ हजार ५ सय ३२ किलो छुर्पी निर्यात भएको छ । 

२०८०/८१ मा ३ अर्ब १८ करोड ४३ लाख रुपैयाँको १६ लाख ४६ हजार ८ सय ८७ किलो निर्यात भएको विभागको भनाइ छ । यस अवधिमा अमेरिकामा २ अर्ब ७६ करोड १३ लाख रुपैयाँको १४ लाख ३५ हजार ८ सय ५३ किलो र क्यानडामा २६ करोड ६३ लाख रुपैयाँको १ लाख २३ हजार ८ सय २२ किलो निर्यात भएको छ ।

गायत्री डेरी उद्योगका सञ्चालक निराजन कोइरालाले पनि मासिक २५ हजारदेखि ३० हजार किलो निर्यात गरेको बताए । बटर बिक्री नहुँदा छुर्पी उत्पादनमा समस्या हुन थालेको उनले जनाए । 

‘छुर्पीको बजार राम्रो छ । तर उत्पादनका क्रममा बटर पनि बन्छ । त्यो बिक्री हुँदैन । बटर बिक्री नहुँदा छुर्पी उत्पादनमा समस्या छ,’ उनले भने । बजार सुनिश्चित गर्न सरकारले छुर्पीको मापदण्ड जारी गर्नुपर्ने कोइरालाले बताए ।

‘अहिले उत्पादन बिक्रीवितरण भएको छ । तर व्यवस्थित छैन, यसको मापदण्ड नै छैन,’ उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा बजार सुधार गर्न सरकारले तत्काल छुर्पीको गुणस्तरसम्बन्धी मापदण्ड जारी गर्नुपर्छ ।’ पछिल्लो समय सुजल डेरीले पनि छुर्पी उत्पादन गर्ने तयारी थालेको छ । सुजलले युरोपबाट प्रविधि ल्याएर उत्पादन गर्ने गृहकार्य गरिराखेको जनाएको छ ।

राजु चौधरी चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully