नारायणगढ–मुग्लिङ सडकमा बल्ल बने बाटो बराबरका पुल

बाटोअनुसारका १९ वटा फराकिला पुल बनाउनुपर्नेमा १८ पुल तयार भएर गाडी चल्न थालिसके, एउटा पुलको काम अन्तिम चरणमा 

पुस ५, २०८१

रमेशकुमार पौडेल

A bridge equal to the road was barely built on the Narayangadh-Mugling road

चितवन —  नारायणगढ–मुग्लिन सडक हुँदै यात्रा गर्दा विगतमा पुलको मुख नजिक पुग्दा गाडी थररर गरेको हेक्का पक्कै होला । सडकभन्दा पुल सानो भएका कारण पुल आउँदा गाडीको गति कम गर्ने जनाउ दिन सडकमा ससाना ब्रेकरको पट्टी राखिएका कारण गाडी थररर गर्थे ।

साथै तुइन खोलामा पुल बनाउन पहाड काट्नुपरेकाले गएका दुई वर्ष लगातार हिउँदयामभर सडक दिनको तीन–चार घण्टा नै बन्द गर्नुपर्‍यो । 

साँघुरो नारायणगढ–मुग्लिन सडकलाई एसियाली मापदण्डअनुरूपको दुई लेनको बनाए पनि पुल पुरानै थिए । अहिले भने सडकमा पर्ने पुल राजमार्गको चौडाइअनुरूपको बनाउने काम लगभग सकिएको छ । बाटोअनुसारका १९ वटा फराकिला पुल बनाउन सुरु भएको थियो, जसमध्ये तुइन खोलासहित १८ वटा पुल तयार भएर गाडी चल्न सुरु भइसकेका छन् । बाँकी एउटा पुलको काम अन्तिम चरणमा छ ।

‘मुग्लिन नजिक खहरेको पुलको काम पनि ९० प्रतिशतभन्दा माथि पूरा भएको छ । काम सम्पन्न हुने मिति माघ १ सम्म त्यो पुल पनि चालु हुनेमा आशावादी छौं,’ पुल निर्माणको संयोजन गरेको नागढुंगा मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी रहेका इन्जिनियर सचिन्द्र मिश्रले भने । २०३६ सालमा तयार भएको नारायणगढ–मुग्लिन सडक साँधुरो भएका कारण २०७२ वैशाखमा विस्तार गर्न सुरु भएको थियो ।

सडकलाई दुई लेनको फराकिलो बनाउने काम २०७५ सालको हिउँदमा सकिएको थियो । २०३६ सालमै सडकसँगै बनेका पुल साँघुरा थिए । ‘सडकमा १८ वटा पुल थिए । सडक त साँघुरो थियो नै, पुल पनि झनै साँघुरा भएका कारण २०६०/६१ सालतिर कुनै–कुनै पुलका रेलिङ सारेर पनि पुललाई केही चौडा बनाउने काम भएको रहेछ,’ नारायणगढ–मुग्लिन सडक आयोजानका तत्कालीन इन्जिनियर शिव खनालले भने । 

सडक विस्तारकै क्रममा चार नयाँ पुल बनेका थिए । दासढुंगा, खानी पुल र मौरी पुलमा पुरानै पुलको समानान्तर (आडैमा) नयाँ फराकिला पुल बनेका थिए । त्यसैगरी जलबिरेमा पहिला घुमाउरो बाटो थियो । सानो पुल हुँदै गाडी ओहोरदोहोर गर्थे । घुमाउरोको सट्टा बाटो सिधा हुने गरेर ७५ मिटर लम्बाइको नयाँ पुल बनेको थियो । बाँकी १५ वटा फराकिला पुल बनाउन २०७६ चैत १० मा सम्झौता भएको थियो ।

नारायणगढ–मुग्लिन सडकको लम्बाइ ३६ किमि छ । यो सडकको सेती दोभानमा पनि जलबिरेमा जस्तै घुमाउरो बाटो भएर गाडी ओहोरदोहोर गर्दथे । त्यो बाटो घुम्न नपर्ने गरेर सेती दोभानमा ६५ मिटर लम्बाइको नयाँ पुल बनेको छ । बाँकी सबै १४ पुलको आडैमा पुराना पुल पनि छन् । नयाँ पुलबाट दुई वटा गाडी राम्रैसँग वारपार हुन सक्छन् । तर आडैमा भएका कारण नयाँ–पुराना दुवै पुल प्रयोगमा आइरहेका छन् । 

पुराना पुल केही जीर्ण भने छन् । रेलिङ बिग्रिएका–भाँच्चिएका छन् । यस विषयलाई डिभिजन सडक कार्यालयले सम्बोधन गर्नुपर्ने नागढुंगा–मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्र बताउँछन् । बनेका नयाँ पुल र आडका पूरा पुल हुँदै सहज रूपमा गाडी ओहोरदोहोर भइरहेको डिभिजन सडक कार्यालयले जनाएको छ ।

‘केही ठाउँमा रेलिङ मर्मत र पुलहरूको उचाइ मिलाउनुपर्ने जस्तो देखिन्छ । संकेत चिह्न राखेका छौं । कुनै अलमल नभई नयाँ पुराना पुल प्रयोग गर्दै गाडी चल्ने व्यवस्था मिलाएका छौं,’ भरतपुरको डिभिजन सडक कार्यालयका प्रमुख नारायणप्रसाद लामिछानेले भने । नारायणगढ–मुग्लिन सडक संघीय राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग हो । 

राजधानीको जीवनरेखा (लाइफ लाइन) पनि भनिने यो सडक हुँदै दिनहुँ १० हजारभन्दा बढी साना–ठूला गाडी ओहोरदोहोर गर्छन् ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully