क्रिसमस र नयाँ अवसरको उपहारबारे भ्रामक सूचना फैलाइएको भन्दै सचेत रहन नेपाल टेलिकमको आग्रह

पुस ४, २०८१

कान्तिपुर संवाददाता

Nepal Telecom's request to be aware of misleading information about Christmas and new occasion gifts

काठमाडौँ — सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको अवसरमा उपहार दिने भन्दै सामाजिक सञ्जालबाट गलत सूचना फैलिरहेको र यसबारे सचेत रहन आग्रह गरेको छ । कम्पनीले ब्लुट टिक भएका आफ्ना आधिकारिक सोसल मिडिया एकाउन्टबाट आएका सूचना मात्रै पत्याउन ग्राहकलाई अनुरोध गरेको छ ।  

नेपाल टेलिकमले ५ हजार रूपैयाँसम्मको नगद तथा उपहार दिने भन्दै कम्पनीको लोगो दुरुपयोग गरेर सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलिरहेको जनाएको छ । कम्पनीको आधिकारिक लोगो दुरुपयोग गरी फेसबुक ग्रुप, म्यासेन्जर तथा अन्य सामाजिक सञ्जालमार्फत यस्ता गलत सूचना प्रवाह भइरहेको जनाउँदै सचेत रहन आग्रह गरेको छ । 

‘आउँदै गरेको क्रिसमस तथा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर ५ हजारसम्मको नगद तथा उपहारको व्यवस्था गरेको भनेर नेपाल टेलिकमको आधिकारिक लोगोसमेत प्रयोग गरी सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भइरहेको पाइएको छ,’ कम्पनीले विज्ञप्तिमा भनेको छ, ‘यसप्रति सचेत रहन सबैमा हार्दिक अनुरोध छ ।’ 

कम्पनीले ब्लुटिक भएको आफ्नो आधिकारिक फेसबुक पेज, एक्स तथा अन्य सामाजिक सञ्जालमा उपलब्ध सूचनाहरू मात्रै विश्वास गर्न अनुरोध गरेको छ । साथै, कम्पनीको आधिकारिक वेबसाइटलाई मात्र आधार  मानेर नेपाल टेलिकमको सेवाबारे अपडेट हुन आफ्ना ग्राहकलाई अनुरोध गरेको छ ।  

कान्तिपुर संवाददाता

Link copied successfully