‘सम्भावित चुनौती सामना गर्न बैंकिङ क्षेत्र सक्षम’

पुस ४, २०८१

कान्तिपुर संवाददाता

”Enable the banking sector to face potential challenges”

काठमाडौँ — सम्भावित चुनौतीको सामना गर्न नेपालको बैंकिङ क्षेत्र सक्षम रहेको विज्ञहरूले बताएका छन् । अर्थतन्त्रका अन्य क्षेत्रको तुलनामा बैंकिङ क्षेत्र सुशासित र पारदर्शी रहेकाले सम्भावित चुनौती सामना गर्न कठिन नरहेको उनीहरूको भनाइ छ । नेपालको बैकिङ क्षेत्र दक्षिण एसियामै सबल रहेको उनीहरूको दाबी छ । 

नेपाल बैकर्स संघको ३८औं वार्षिक साधारणसभामा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंकिङ क्षेत्र अन्य क्षेत्रहरूको तुलनामा धेरै पारदर्शी रहेको बताए ।

नेपाल राष्ट्र बैंकले ल्याउने कुनै पनि सुधारका नीति नेपालको बैंकिङ क्षेत्रलाई अप्ठ्यारो बनाउन नभई सबल बनाउने प्रयत्नसाथ आउने उनले जनाए । ‘नेपालको बैंकिङ क्षेत्रमा प्रशस्त चुनौती भए पनि ती चुनौतीको सामना गर्न नेपालको बैंकिङ क्षेत्र सक्षम छ,’ उनले भने, ‘वर्तमान अवस्थामा नेपालको बैंकिङ क्षेत्रमा केही असहज अवस्था देखिए पनि आउँदा दिन निकै राम्रा हुनेछन् । यसकारण निराश नभईकन सकारात्मक सोचका साथ अगाडि बढ्नुहोस् ।’ 

विश्व अर्थव्यवस्थामा देखिएका मुख्य चुनौती र यसका समाधानका नवीनतम उपाय खोजी गर्नुपर्नेमा अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का दक्षिण एसिया क्षेत्र हेर्ने अर्थशास्त्री कमलिका दासले जोड दिइन् । दक्षिण एसियाली राष्ट्रको आर्थिक वृद्धि अन्य देशको तुलनामा राम्रो देखिएको उनको भनाइ छ । यसका लागि यस क्षेत्रमा प्रवाह हुने रेमिट्यान्सले निजी उपभोग बढाएको र अर्थतन्त्रलाई चलायमान बनाउन सघाएको उनले जनाइन् । 

नेपालको बैंकिङ क्षेत्र दक्षिण एसियामै उत्कृष्ट रहेको संघका निवर्तमान अध्यक्ष सुनिल केसीको दाबी छ । यसका लागि नेपाल राष्ट्र बैंकले खेलेको अभिभावकत्वको भूमिकाको योगदान धेरै रहेको उनले बताए । वार्षिक साधारणसभाका अवसरमा संघले हरेक वर्ष बैंकिङ क्षेत्रमा उल्लेखनीय योगदान दिएका व्यक्तिलाई सम्मान गर्दै आएको छ । यसअन्तर्गत यस वर्ष पूर्वबैंकरद्वय राजनसिंह भण्डारी र रत्नराज बज्राचार्यलाई सम्मान गरियो । 

साधारणसभाले संघका अध्यक्ष, उपाध्यक्ष र तीन जना सदस्य सर्वसम्मत चुनेको छ । यसअनुसार अध्यक्षमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइराला र उपाध्यक्षमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी चुनिएका हुन् ।

साधारणसभाले कार्यकारिणी समितिका तीन जना सदस्य पनि चुनेको छ । यसमा एभरेस्ट बैंकका सीईओ सुदेश खालिङ, कुमारी बैंकका सीईओ रामचन्द्र खनाल र नेपाल बैंकका सीईओ तिलकराज पाण्डेय छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully