च्याटजीपीटीले ‘सोरा’ सार्वजनिक गर्नासाथ गुगलले ल्यायो ‘भियो २’ भिडियो जेनरेटर मोडल

पुस ३, २०८१

एजेन्सी

As soon as ChatGPT released 'Sora', Google introduced 'Vio 2' video generator model.

काठमाडौँ — कसले सबैभन्दा उच्च गुणस्तरको 'आउटपुट' दिने भिडियो जेनरेटर टुल निर्माण गर्न सक्छ भन्नेमा प्रविधि कम्पनीहरूबीच होडबाजी छ । च्याटजीपीटी निर्माता ओपेनएआईले आफ्नो चर्चित भिडियो जेनरेसन मोडल ‘सोरा टर्बो’ आम प्रयोगकर्तामाझ उपलब्ध गराएको एक साता बित्न नपाउँदै गुगलले पनि ‘भियो २’ बारे घोषणा गरेको छ ।  

भियो २ ले फोर के एआई भिडियो सिर्जना गरिदिनसक्ने गुगलले जनाएको छ । यसले भिडियो जेनरेटर टुलमध्ये सबैभन्दा शक्तीशाली मानिएको ‘सोरा’ लाई समेत पछि पार्ने दाबी गरिएको छ । गुगलको एआई रिसर्च कम्पनी डिपमाइन्डले बनाएको भियो २ ले मानिस र जनावरका अति-वास्तविक लाग्ने क्लिपदेखि एनिमेटेड भिडियोहरू बनाइदिन सक्छ ।  

प्रयोगकर्ताहरूले ‘भिडियोएफएक्स’मार्फत भियो २ मा साइन अप गर्न सक्ने गुगलले जनाएको छ । गुगलले सार्वजनिक गरेको ब्लग पोस्टमा भियो २ ले बनाएका उच्च गुणस्तरका भिडियो क्लिपहरू उदहारणका रूपमा राखिएका छन् ।  यो टुलले प्राकृतिक र कृत्रिम प्रकाशमा खिचिने भिडियोको फरकपनदेखि फोर के रिजोलुसनसहितको भिडियो बनाइदिनसक्ने उल्लेख गरिएको छ । सोरा टर्बोले भने अधिकतम १०८० पिक्सेल रिजोलुसनमा मात्रै आउटपुट दिन सक्छ । 

तथापी, भियो २ मा मोसन इफेक्ट भने अझै पनि गतिलो नरहेको कतिपयले औंल्याएका छन् । गुगल डिपमाइन्डले भिडियो जेनरेटरलाई अझै सुधार गर्न सकिने जनाएको छ । हाल अमेरिकामा मात्रै सार्वजनिक गरिएको भियो २ फिचर आगामी वर्ष युट्युब सर्टस् र गुगलका अन्य प्रोडक्टमा उपलब्धमा गराइने कम्पनीको तयारी छ ।   

एजेन्सी

Link copied successfully