अमेरिकी डलरमा हरेक दिन नयाँ रेकर्ड

बुधबारका लागि एक अमेरिकी डलरको विनिमय दर १३६.१४ रुपैयाँ

पुस ३, २०८१

कान्तिपुर संवाददाता

A new record in the US dollar every day

काठमाडौँ — नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको विनिमय दर १३६.१४ रुपैयाँ (बिक्री दर) तोकेको छ । यो हालसम्मकै उच्च हो ।

पछिल्ला साता अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर बन्दै आएको छ । सोही कारण डलरको विनिमय दरले हरेक दिन नयाँ रेकर्ड बनाउँदै आएको हो । 

गत सोमबार एक अमेरिकी डलरको विनिमय दर १३५.९७ रुपैयाँ थियो । मंगलबार बढेर १३६.०९ रुपैयाँ पुग्यो भने बुधबार थप बढेर १३६.१४ रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । बुधबारका लागि एक अमेरिकी डलरको खरिद मूल्य भने १३५.५४ रुपैयाँ तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार गत कात्तिक मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ १.०२ प्रतिशतले अवमूल्यन भएको छ । गत वर्षको सोही अवधिमा नेपाली रुपैयाँ १.१८ प्रतिशतले अवमूल्यन भएको थियो । गत कात्तिक मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १३४.७४ रुपैयाँ पुगेको छ । गत असार मसान्तमा उक्त विनिमय दर १३३.३६ रुपैयाँ रहेको थियो ।

अमेरिकी डलरको भाउ बढोस् वा घटोस्, त्यसको प्रत्यक्ष असर नेपाली रुपैयाँमा पर्दैन । तर डलरको भाउमा आएको उतारचढावले भारतीय मुद्रा (भारु) प्रत्यक्ष प्रभावित हुने र त्यसको असरले नेपाली मुद्रा बलियो वा कमजोर हुने गरेको छ । नेरु र भारुबीच स्थिर विनिमय दर छ । नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रभावित हुन्छ । 

मंगलबार राति साढे ८ बजे (नेपाली समय) सम्म एक अमेरिकी डलरको विनिमय दर भारु ८४.९१ पुगेको छ । पछिल्ला केही सातायता डलरको तुलनामा भारु पनि निरन्तर अवमूल्यन हुँदै आएको छ । पछिल्ला दिनमा विश्व बजारमा डलरको माग बढिरहेकाले भाउ पनि बढेको हो । अमेरिकी रिपब्लिकन नेता डोनाल्ड ट्रम्प राष्ट्रपति बनेसँगै अमेरिकी डलर निरन्तरजसो उकालो लागिरहेको छ ।

ट्रम्पले आफ्नो चुनावी घोषणापत्रमा अमेरिकी डलरलाई पुनः रिजर्भ करेन्सीका रूपमा विकसित गर्ने उल्लेख गरेका छन् । उनी फेरि राष्ट्रपति निर्वाचित भएकाले डलरप्रति लगानीकर्ता आकर्षित भएको जानकारहरू बताउँछन् । आगामी जनवरीमा राष्ट्रपतिको कार्यभार सम्हालेपछि ट्रम्पले डलरबारे कस्तो नीति लिन्छन्, त्यसका आधारमा यसको भाउ अझै बढ्ने वा घट्ने निश्चित हुने जानकारहरूको भनाइ छ ।

डलर बलियो बन्दा नेपाललाई लाभ पनि हुन्छ । हालको अवस्थामा सबैभन्दा बढी फाइदा रेमिट्यान्स आप्रवाहमा पर्छ । डलर बलियो हुँदा एकातिर रेमिट्यान्स आप्रवाह (मुलुक भित्रिने रकम) बढ्छ भने अर्कोतिर रेमिट्यान्स पठाउनेको संख्या पनि तीव्र हुन्छ । डलर बढेको समयमा फाइदा पुग्ने भएकाले विदेशमा रहेका नेपालीले ठूलो मात्रामा रेमिट्यान्स पठाउँछन् । डलर बलियो हुँदा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा पनि सकारात्मक प्रभाव पर्छ ।

रेमिट्यान्स र एफडीआईमा आएको सुधारले मुलुकको भुक्तानी सन्तुलन बचतमा राख्न ठूलो मद्दत पुग्छ । अहिले रेमिट्यान्स बढिरहनुको एउटा कारण अमेरिकी डलर बलियो हुनु पनि भएको जानकार बताउँछन् । असोज र कात्तिक दसैं र तिहारको महिना भएकाले डलरको भाउ बढ्दा नेपाल आउने रेमिट्यान्स आप्रवाहमा सकारात्मक प्रभाव परेको उनीहरूको अनुमान छ । तर, गत कात्तिकमा नेपाल आउने रेमिट्यान्सको वृद्धिदरमा कमी आएको छ । 

नेपालले पर्यटन र निर्यातमा राम्रो सुधार गरेर पनि डलर बलियो हुनुको लाभ लिन सक्थ्यो । अहिले न त पर्यटक अपेक्षित रूपमा बढाउन सकिएको छ, न त निर्यात नै बढाउने सम्भावना छ । यसकारण डलर बलियो भएको लाभ नेपालले खासै लिन नसकेको जानकार बताउँछन् ।

डलरको भाउ बढ्दा सबैभन्दा बढी नोक्सानी वस्तु तथा सेवाको आयातबापतको भुक्तानीमा हुन्छ । यद्यपि पछिल्ला महिनामा आयात धेरै बढ्न नसकेकाले त्यसबापत भुक्तानी गर्नुपर्ने दायित्व त्यति बढेको छैन । यस्तै, डलरको मूल्य बढ्दा विदेश अध्ययन, भ्रमण, स्वास्थ्य उपचारमा धेरै रकम खर्चिनुपर्ने हुन्छ ।

विदेशी लगानी फिर्ता, विदेशी लगानीको लाभांश वितरणलगायतमा पनि धेरै रकम खर्चिनुपर्ने हुन्छ । त्यो नेपालका लागि नोक्सानी हो ।

कान्तिपुर संवाददाता

Link copied successfully