गाउँपालिकाले गर्‍यो तिते करेलाको ब्रान्डिङ

पुस २, २०८१

पर्वत पोर्तेल

The municipality did the branding of bitter gourd

विराटनगर — इलामको रोङ गाउँपालिकाले तिते करेलालाई ब्रान्डिङ गरी बिक्री गर्न थालेको छ । यसअघि गुन्द्रुक, सिस्नो, बेसार, मह, चिया र अम्लिसोलाई ब्रान्डिङ गरेको रोङले पछिल्लो पटक गाउँलेले उत्पादन गरेको करेलालाई ब्रान्डिङ गरेको हो ।

‘किसानले उत्पादन गरेको वस्तुलाई नै व्यवस्थित तरिकाले ब्रान्डिङ गरी बिक्री गर्न थालिएको हो,’ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्वो (सुवास) ले भने, ‘रोङको करेला खोज्नेहरूको संख्या बजारमा बढिरहेको छ ।’ तिते करेलालाई केही समय सुकाएर सुकुटी तयार पारिन्छ । त्यसैलाई प्याकेजिङ गरेर बजारमा पठाइन्छ । गाउँपालिकाले यो वर्ष २ सय किलो करेलाको सुकुटी तयार पारेर बजार पठाएको छ । गाउँपालिकाले करेलालाई प्रशोधन गरी सुकुटी बनाउने उद्योग पनि निर्माण गरिरहेको छ ।

‘एक सिजनमा ५० हजार किलोसम्म काँचो करेला प्रशोधन गर्न सक्ने क्षमताको उद्योग हामी बनाउँदै छौं,’ अध्यक्ष स्याङ्वोले भने, ‘उद्योग बनेपछि स्थानीय किसान बढीभन्दा बढी लाभान्वित हुने हाम्रो अनुमान छ ।’

सुकुटी बनाइएको तिते करेला करिब १० मिनेट तातो पानीमा भिजाउँदा पुरानै स्वरूप तथा स्वादमा पाउन सकिन्छ । गाउँपालिकाका सबै वडामा करेलाको उत्पादनका लागि सहायता गरेको छ । किसानलाई करेला फलाउन पहिला प्रोत्साहन गर्ने अनि फलेका करेला आफैं किनेर ब्रान्डिङ गरी बजारसम्म पुर्‍याउने काम पालिका आफैंले गर्दै आएको छ ।

रोङले खासगरी त्यस भेगको कृषिजन्य उत्पादनलाई बजारीकरण गर्न किसानलाई सघाउँदै आएको छ । रोङमा काँक्रा, फर्सी, स्कुस, टमाटर, सागजन्य तरकारी, तरुल, सुन्तलालगायत कृषिजन्य वस्तु तथा फलफूल बढी उत्पादन हुँदै आएको छ । तर किसानले बजार नपाउँदा ती उत्पादन कुहिएर जाने गरेका छन् ।

‘रोङमा उत्पादित कुनै पनि वस्तु कुहिएर फाल्नुपर्ने या पशुलाई खोले बनाएर खुवाउनुपर्ने अवस्था आउँदैन,’ अध्यक्ष स्याङ्वोले भने, ‘किसानको उत्पादनलाई खेर जान नदिन पालिकाले सक्दो सहयोग गर्छ ।’

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully