अमेरिकाबाट आउने प्रतिव्यक्ति रेमिट्यान्स कतार, मलेसिया, यूएई र साउदीको भन्दा धेरै

सन् २०२३ मा अमेरिकाबाट १.२८ अर्ब डलर विप्रेषण नेपाल भित्रियो

पुस २, २०८१

कान्तिपुर संवाददाता

Per capita remittances from the US are more than those of Qatar, Malaysia, UAE and Saudi Arabia

काठमाडौँ — नेपालमा वार्षिक औसत ८ हजार ६ सय ६६ डलर रेमिट्यान्स संयुक्त राज्य अमेरकाबाट आउने र प्रतिव्यक्ति रेमिट्यान्स कतार, मलेसिया, संयुक्त अरब इमिरेट्स र साउदी अरेबियाको भन्दा करिब दोब्बर गुणा धेरै रहेको अध्ययनले देखाएको छ ।

सर्वांगीण विकास अध्ययन केन्द्र (आईआईडीएस) ले मंगलबार सार्वजनिक गरेको ‘नेपाली माइग्रेन्ट ड्रिम्स् इन द अमेरिकन ल्यान्डस्केप’ अध्ययनअनुसार अमेरिकाबाट सन् २०२३ मा १.२८ अर्ब डलर विप्रेषण नेपाल भित्रिएको थियो । यो कुल रेमिट्यान्सको १२ प्रतिशत हो ।

अमेरिकी नेपाली डायस्पोराको प्रतिव्यक्ति रेमिट्यान्स अन्य देशहरूभन्दा अगाडि रहेको सो अध्ययनको निचोड छ । अध्ययनअनुसार अमेरिकाबाट आउने प्रतिव्यक्ति रेमिट्यान्स औसतमा ६ हजार ५ सय ४७ डलर  छ । यो कतार, साउदी अरेबिया र मलेसियाजस्ता प्रमुख देशहरूभन्दा धेरै हो । 

कतारमा रहेका नेपालीले पठाउने रेमिट्यान्स औसतमा प्रतिव्यक्ति हजार ३ सय २७ डलर रहेको छ भने साउदी अरेबियाबाट औसतमा ३ हजार ३ सय ६१ डलर र मलेसियाबाट‍ २ हजार ८ सय ७६ डलर नेपाल पठाउने गरेका छन् । ‘अमेरिकाबाट पठाइने प्रतिव्यक्ति रेमिट्यान्स कतारको भन्दा १.५१ गुणा, साउदी अरेबियाको भन्दा १.९५ गुणा र मलेसियाको भन्दा २.२८ गुणाले बढी छ,’ रिपोर्ट सार्वजनिक गर्ने क्रममा अध्ययनमा संलग्न विभव प्रधानले भने, ‘नेपाल भित्रिने कुल रेमिट्यान्समा अमेरिकाबाट आउने रेमिट्यान्सको योगदान करिब ११.६२ प्रतिशत छ ।’ 

अमेरिकामा रहेका नेपालीहरूले पठाउने रेमिट्यान्स रकम तुलनात्मक रूपमा कम भए पनि प्रतिव्यक्ति योगदान उच्च रहेको अध्ययनले देखाएको छ । अमेरिकी नेपालीहरूले अनौपचारिक रूपमा पनि परिवारजनलाई रकम पठाउने गरेको अध्ययनमा उल्लेख छ ।

अमेरिकामा वार्षिक ४५ हजारदेखि ८० हजार डलर आम्दानी गर्नेले नेपालमा सबैभन्दा धेरै (६७ प्रतिशत) रेमिट्यान्स पठाउने गरेको पाइएको छ । सन् २०२० को अमेरिकी जनगणनाअनुसार अमेरिकामा १ लाख ८५ हजारदेखि २ लाख १५ हजार प्रवासी नेपाली रहेको अनुमान छ ।

कान्तिपुर

Link copied successfully