अमेरिकामा रहेका प्रवासी नेपालीमध्ये एक तिहाइभन्दा बढी प्रविधि क्षेत्रमा

प्रविधि क्षेत्रमा संलग्न प्रवासी नेपालीहरू विशेषगरी डेटा इन्जिनियरिङ, सफ्टवेयर इन्जिनियरिङ, डिजिटल मार्केटिङ, सूचना सेवा, बायोटेक्नोलोजी र रासायनिक तथा यान्त्रिक इन्जिनियरिङमा नेपाली महिला विद्यार्थीहरू प्रविधि र स्वास्थ्य क्षेत्रमा बढी सक्रिय देखिएका छन् भने पुरुष विद्यार्थीहरूको झुकाव पनि प्रविधि क्षेत्रमै बढी

पुस २, २०८१

सजना बराल

More than one-third of expatriate Nepalis in the US are in the technology sector

काठमाडौँ — अमेरिकामा रहेका प्रवासी नेपालीमध्ये एक तिहाइभन्दा बढी प्रविधि क्षेत्रमा आबद्ध रहेको एक अध्ययनले देखाएको छ । सर्वांगीण विकास अध्ययन केन्द्र (आईआईडीएस) ले गरेको अध्ययनअनुसार अमेरिकामा रहेका प्रवासी नेपालीमध्ये ३४.७ प्रतिशत प्रविधि क्षेत्रमा कार्यरत छन् । 

सन् २०२० को अमेरिकी जनगणनाअनुसार अमेरिकामा १ लाख ८५ हजारदेखि २ लाख १५ हजार प्रवासी नेपाली रहेको अनुमान छ । ‘नेपाली माइग्रेन्ट ड्रिम्स् इन द अमेरिकन ल्यान्डस्केप’ नामक अध्ययन प्रतिवेदन सोमबार सार्वजनिक हुँदै छ । यसका लेखक अरुणराज जोशी, विभव प्रधान र रुजेल श्रेष्ठ  छन् भने अध्ययनमा स्नेहा घिमिरे, प्रवेश रिजाल, आशिष घिमिरे, श्रीष त्रिपाठी र अदित त्रिपाठीले सघाएका थिए ।

प्रतिवेदनमा अध्ययन, रोजगार, आप्रवासन र अन्य विविध कारणले अमेरिका पुगेका नेपालीहरूको आर्थिक–सामाजिक पक्षहरूको अध्ययन गरिएको जनाइएको छ । प्रविधि क्षेत्रमा संलग्न प्रवासी नेपालीहरू विशेषगरी डेटा इन्जिनियरिङ, सफ्टवेयर इन्जिनियरिङ, डिजिटल मार्केटिङ, सूचना सेवा, बायोटेक्नोलोजी र रासायनिक तथा यान्त्रिक इन्जिनियरिङ जस्ता विविध भूमिकामा क्रियाशील रहेको पनि सो अध्ययनले औंल्याएको छ । 

प्रविधि क्षेत्रमा कार्यरत प्रवासी नेपालीको वार्षिक आम्दानी पनि उल्लेखनीय देखिएको छ । सर्वेक्षणका अनुसार प्रविधि क्षेत्रमा कार्यरत महिलाको वार्षिक औसत आम्दानी ५० हजार अमेरिकी डलर रहेको छ भने पुरुषको औसत आम्दानी ८० हजार अमेरिकी डलर रहेको छ । 

यस अध्ययनले प्रविधिमा प्रवासी नेपालीहरूको बढ्दो दक्षता र उपस्थितिको झल्को दिन्छ । दोस्रो स्थानमा रहेको स्वास्थ्य सेवा क्षेत्रमा १६.१ प्रतिशत, वित्त क्षेत्रमा ८.२ प्रतिशत, शिक्षामा ६.९ प्रतिशत, फुड एन्ड होटल सेवामा ६.८ प्रतिशत नेपाली संलग्न छन् । 

अमेरिकामा रहेका नेपालकीको प्रतिव्यक्ति आम्दानी ३९ हजार ९ सय ९३ डलर रहेको र यो अमेरिकी प्रतिव्यक्ति आयभन्दा कम रहेको प्रतिवेदनमा उल्लेख छ ।

अध्ययनका क्रममा गरिएको सर्वेक्षणमा अमेरिकामा पढाइ गरिरहेका नेपाली विद्यार्थीहरूमध्ये ठूलो हिस्सा प्रविधि क्षेत्रमा आबद्ध रहेको देखिएको छ । सर्वेक्षणका अनुसार ४२.७ प्रतिशत नेपाली विद्यार्थीहरूले प्रविधि क्षेत्रमा अवसर खोजिरहेका छन् । प्रविधि क्षेत्रमा कार्यरत प्रवासी नेपालीहरूमध्ये ४१.५ प्रतिशतको आम्दानी ८० हजार डलरभन्दा बढी, १७.८ प्रतिशतको आम्दानी ४५ हजारदेखि ८० हजार डलरसम्म रहेको पाइएको छ । 

नेपाली महिला विद्यार्थीहरू प्रविधि र स्वास्थ्य क्षेत्रमा बढी सक्रिय देखिएका छन् भने पुरुष विद्यार्थीहरूको झुकाव प्रविधि क्षेत्रमा बढी देखिन्छ । प्रविधि क्षेत्रमा कार्यरत उच्च आय भएका नेपालीहरूले आफ्ना परिवारलाई ठूलो मात्रामा रेमिट्यान्स पठाउने सम्भावना रहेको अध्ययनले देखाएको छ । अमेरिकामा ८० हजार डलरभन्दा बढी कमाउने ७०.६० प्रतिशत नेपालीले १० हजार, २०.६ प्रतिशत नेपालीहरूले १० हजारदेखि ३० हजार डलर र ७ प्रतिशतले ३० हजारदेखि ५० हजार डलर रेमिट्यान्स नेपालमा पठाउने गरेका छन् । ‘सन् २०२३ मा अमेरिकाबाट नेपालमा अनुमानित १.२८ अर्ब डलर रेमिट्यान्स पठाएको हाम्रो अनुमान छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यसले नेपालको कुल रेमिट्यान्सको ११.६ प्रतिशत हिस्सा ओगट्छ ।’ 

अमेरिकाका टेक्सास, भर्जिनिया, क्यालिफोर्निया, मेरिल्याण्ड, न्युयोर्कलगायतका राज्यमा नेपालीहरूको बाक्लो बसोबास छ । त्यसमध्ये पनि सबैभन्दा बढी टेक्सासमा १८.५७ प्रतिशत, भर्जिनियामा ११.५९ प्रतिशत, क्यालिफोर्नियामा ८.९५ प्रतिशत बस्छन् । 

अध्ययनमा प्रतिक्रिया दिँदै अमेरिकाका लागि नेपाली पूर्वराजदूत श्रीधर खत्रीले भनेका छन्, ‘नेपाल सरकारलाई हाम्रो दूतावासले पेस गरेको नीतिगत सिफारिस र विश्व बैंकसँगको एक बैठकको सहमतिका आधारमा के भन्न सकिन्छ भने आगामी ७ वर्षभित्र अमेरिकामा रहेका आईटी प्रोफेसनल र नेपाल सरकारको सहकार्यमा झन्डै १ अर्ब डलर लगानी ल्याउन र लगभग १० लाख नयाँ रोजगारी नेपालमा सिर्जना गर्न सकिन्छ ।’

सजना बराल बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully