काठमाडौँ — तारा एयरको ट्विनअटर विमानले आइतबारदेखि नेपालगन्ज–टीकापुर–नेपालगन्ज उडान सुरु गरेको छ । नेपालगन्ज विमानस्थल प्रमुख सुम्मतप्रसाद चौधरीका अनुसार ताराको ट्विनअटरले आइतबार दिउँसो १:२७ बजे नेपालगन्जबाट ११ यात्रु र ३ जना एयरलाइन्सकै कर्मचारी लिएर टीकापुर पुगेको थियो । टीकापुरबाट उक्त विमान १६ यात्रु र तीन कर्मचारी लिएर नेपालगन्ज फर्केको थियो ।
नेपालगन्ज विमानस्थलका अनुसार यो रुटमा ट्विनअटरबाट जाँदा १८ मिनेट र फर्कंदा २० मिनेट लगाएको थियो । चालकदलले हेरेर उडान गर्ने (भीएफआर) नियमअनुसार जाँदा ६५ सय फिट र फर्कंदा ५५ सय फिटको उचाइबाट उडान गरेका थिए ।
नागरिक उड्डयन प्राधिकरणले तारा एयरलाई आइतबार र बिहीबार नेपालगन्जबाट टीकापुर उडान अनुमति दिएको छ । तारालाई पहिलो चरणमा मंसिर ३० देखि पुस १६ सम्मका लागि उडान अनुमति दिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार, यो रुटमा एकतर्फी ३६ सय रुपैयाँ भाडा तोकिएको छ ।
२७ वर्षदेखि बन्द टीकापुर विमानस्थलमा गत कात्तिक १२ मा नेपाल वायुसेवा निगमको ट्विनअटर विमानले परीक्षण उडान गरेको थियो । त्यसै दिन तारा एयरले पनि चार्टर उडान गरेको थियो । आइतबारको उडानमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीले यो रुटमा प्रत्येक उडानमा १५ सिटको सुनिश्चितता टीकापुर नगरपालिकाले गरेको बताए ।
उनका अनुसार तारा र यती एयरलाइन्ससँगको साझेदारीमा काठमाडौं–नेपालगन्ज–टीकापुर कनेक्टिङ यात्रु हुने भएकाले टिकट त्यसैअनुसार बिक्री वितरण भइरहेको छ । काठमाडौंदेखि टीकापुरसम्मको एकतर्फी हवाई भाडा ९ हजार रुपैयाँ तोकिएको छ । २०४१ देखि सञ्चालनमा आएको यो विमानस्थल द्वन्द्वकालमा ०५३ सालदेखि बन्द भएको थियो ।
त्यसअघि अछामको साँफेबगरबाट नेपाल वायुसेवा निगमको ट्विनअटरले नियमित उडान गरेको थियो । राज्यमन्त्री चौधरीका अनुसार, यो रुटमा टीकापुर आसपासका गाउँ र बर्दिया आसपासका यात्रुहरूले लाभ लिनेछन् । यो उडानले कर्णाली नदी र बर्दिया राष्ट्रिय निकुञ्ज जाने पर्यटकहरूको संख्यासमेत वृद्धि हुने उनले जनाए ।
