तोकिएको समयमा काम नसकिएपछि पुस १० देखि निर्माण व्यवसायीले दैनिक ठेक्का रकमको ०.०५ प्रतिशत जरिवाना तिर्नुपर्ने, हालसम्म ८२ प्रतिशत मात्र काम
काठमाडौँ — तोकिएको समयमा ग्वार्को फ्लाइओभरको काम नसकिने भएपछि निर्माण व्यवसायीले जरिवाना तिर्नुपर्ने भएको छ । आगामी पुस १० मा निर्माण सक्नुपर्नेमा हालसम्म ८२ प्रतिशत मात्र काम सकिएको छ ।
उक्त अवधिपछि निर्माण व्यवसायीले दैनिक ठेक्का रकमको ०.०५ प्रतिशत जरिवाना तिर्नुपर्ने भएको हो ।
आवतजावतको संरचनासहित ५ सय ४० मिटर लामो फ्लाइओभरको १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । फ्लाइओभर निर्माण थालेको ३४ महिना भयो । गत ०८० फागुन १२ भित्र निर्माण सक्ने सम्झौता भए पनि अहिलेसम्म सकिएको छैन । अझै कति समय लाग्छ, टुंगो छैन । जसले कोटेश्वरबाट कलंकी र कलंकीबाट कोटेश्वरतर्फ जाने यात्रुले दैनिक ट्राफिक जामको सास्ती झेल्नुपर्ने बाध्यता छ ।
दुई वर्षभित्र सक्ने गरी ०७८ फागुनमा ठेक्काको कार्यादेश दिइएको थियो । डिजाइन परिवर्तनलगायत कारणले तोकिएको अवधिमा काम नसकिएको निर्माण व्यवसायीको भनाइ छ । ०८० फागुन १२ भित्र काम नसकिएपछि दोस्रो पटक गत असारसम्मका लागि म्याद थप गरिएको थियो । उक्त समयभित्र पनि काम नसकिएपछि आगामी पुस ९ सम्म म्याद थप गरिएको छ ।
यस अवधिमा पनि काम सकिने सम्भावना कम रहेको सडक विभागअन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ । तोकिएको समयभित्र नसकिने भएपछि जरिवाना लगाएर काम गराउन लागिएको केन्द्रका निर्देशक प्रभातकुमार झाले बताए ।
‘निर्माण व्यवसायीले म्याद थप मागेका थिए, अब म्याद थप हुँदैन,’ उनले भने, ‘हर्जाना लगाएर काम गराउन डेढ साताअघि पत्र पठाइसकेका छौं ।’
निर्माण व्यवसायीले चैतसम्म काम सक्ने कार्यतालिका बनाएर पेस गरेको उनको भनाइ छ । ‘कुल ठेक्का रकमको ०.०५ प्रतिशत प्रतिदिन तिर्ने गरी हर्जाना लगाउने गरी चिठी पठाइएको हो,’ उनले भने, ‘चैतभित्र काम सक्ने प्रतिबद्धता निर्माण व्यवसायीको छ, त्यो समयभित्र काम सक्नुपर्छ ।’
अहिले छेउछेउमा क्रंक्रिट प्यानल र विशेषखालको ‘पोलिमर रेन्फोर्समेन्ट’ राखेर र्याम्प बनाउने काम भइरहेको छ । र्याम्प १०.२ मिटरसम्म अग्लो बन्नेछ । सातदोबाटोतर्फ बनाइएको करिब ४० मिटर र्याम्प भने झिकेर फेरि राख्न लागिएको उनले बताए । ‘कोटेश्वरतर्फ र्याम्प राख्ने काम हुँदै छ,’ उनले भने, ‘दुवैतर्फ र्याम्पको काम सकेर कालोपत्र सुरु हुन्छ ।’
ठेक्का भएको १३ महिनामा डिजाइनमा समस्या आएपछि काम रोकिएको थियो । इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलअन्तर्गत यसको ठेक्का गरिएको हो । त्यसैले यसमा डिजाइनदेखि निर्माणसम्मको काम ठेक्का लिने कम्पनीले नै गर्नुपर्छ । निर्माणका क्रममा प्राविधिक समस्या देखिएपछि मुख्य काम रोकेर निर्माण व्यवसायीले ‘डिजाइन रिभाइज’ गरेका थिए ।
आशिष–समानान्तर–रेलिगेर जेभीले निर्माणको ठेक्का लिएको हो । निर्माण कम्पनीले भने घाटा सहेर काम गरिरहेको दाबी गर्दै आएको छ । ‘निर्माणमा कहिले फाइदा होला, कहिले घाटा होला,’ झाले भने, ‘त्यो सरकारको सरोकारको विषय होइन, घाटा–नाफाको जोखिम ठेक्का लिने निर्माण कम्पनीले नै लिने हो ।’
ईपीसी प्रक्रियामा ठेक्का भएको र डिजाइनमा केही समस्या आए निर्माण व्यवसायी नै जिम्मेवार हुने उनले सुनाए । ‘पुल निर्माण अन्तिम चरणमा छ । अब यसको ‘लोड टेस्ट’ गर्न बाँकी छ,’ उनले भने, ‘त्यसका लागि पहिला र्याम्प बनाइसक्नुपर्छ, त्यो नबनाई यसको काम हुँदैन ।’
यसअघि आयोजनाले पानी नपरे दसैंअघि नै फ्लाइओभर सञ्चालनमा ल्याउने दाबी गरेको थियो । तर पानी परेर काम गर्न नपाउँदा भनेकै समयमा सम्पन्न हुन नसकेको ठेक्का लगाउने निकायको दाबी छ । पटक/पटक म्याद थप गर्दा पनि आयोजना सम्पन्न नहुँदा यस खण्डमा गुड्ने सवारी साधन व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मेहम्मे भएको छ ।
गएको बर्खामा फ्लाइओभरको काम चार महिनासम्म ठप्प बनेको थियो । गत कात्तिक १६ मा फ्लाइओभर निरीक्षणका क्रममा पुग्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्माणको काम छिटो सक्न निर्देशन दिएका थिए । पूर्वाधार तथा विकास आयोजनाहरूको निर्माणमा हुने ढिलासुस्ती आफूलाई सह्य नहुने मन्त्री दाहालले बताए पनि त्यसअनुसार काम हुन सकेको छैन ।
