दिगो आर्थिक विकास र प्रकोप न्यूनीकरणमा चेम्बर र यूएनडीपीबीच सहकार्यको सम्झौता

पुस १, २०८१

कान्तिपुर संवाददाता

Cooperation Agreement between the Chamber and UNDP on Sustainable Economic Development and Disaster Reduction

काठमाडौँ — नेपाल चेम्बर अफ कमर्स(एनसीसी) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)बीच दिगो विकास एवं निजी क्षेत्रको क्षमता अभिवृद्धिका लागि सहकार्यको सम्झौतामा हस्ताक्षर भएको छ ।

काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल र युएनडीपीका कार्यवाहक आवासीय प्रतिनिधि जुलिएन चेभिलार्डले हस्ताक्षर गरेका छन् ।

निजी क्षेत्रको क्षमता अभिवृद्धि, जलवायु परिवर्तन अनुकूलन, विपद् व्यवस्थापन एंव यूनडीपीले तय गरेका विकास लक्ष्यलाई पूरा गर्न सहकार्य गर्नेगरी हस्ताक्षर भएको नेपाल चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्राकृतिक प्रकोपजन्य अवस्थामा समुदायको क्षमता अभिवृद्धिका लागि सहकार्य गर्ने विषय पनि सम्झौतामा समावेश गरिएको छ । जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनका साथै जोखिम न्यूनीकरण गर्नेबारे समेत प्रतिबद्धता जनाइएको छ ।

चेम्बर अफ कमर्स र यूएनडीपीबीच भएको सहमति तत्कालै कार्यन्व्यनमा आउने छ । राष्ट्रसंघीय एजेन्सीसँग निजी क्षेत्रको क्षमता अभिवृद्धि, विपद् व्यवस्थापनको पूर्वतयारी र प्रतिकार्यबारे सहकार्य गर्नु निजी क्षेत्रका लागि महत्त्वपूर्ण भएको चेम्बर अध्यक्ष अग्रवालले बताए ।

यूएनडीपीका कार्यवाहक आवासीय प्रतिनिधी चेभिलार्डले दिगो विकासका लागि राष्ट्रसंघीय लक्ष्यहरू पूरा गर्न चेम्बरसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको र प्राकृतिक विपद्‍बाट बच्नका लागि चेम्बरसँग गरिएको सहकार्य अति नै महत्त्वपूर्ण भएको उनको दाबी छ । निजी क्षेत्रको कार्यक्षमता विकास गरी देशको समग्र आर्थिक गतिविधी विस्तारमा टेवा पुग्ने चेभिलार्डले बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully