मेची-महाकाली विद्युतीय रेल्वे आयोजनाको रौतहट खण्डमा मुआब्जा विवाद

ऐलानी जग्गामा बसेका स्थानीयले मुआब्जा मागेपछि तीन स्थानमा काम अघि बढेन, रौतहट खण्डमा ५ वटा प्याकेजमा ट्र्याक र कल्भर्ट निर्माण 

पुस १, २०८१

शिव पुरी

Compensation dispute on Rautahat section of Mechi-Mahakali electric railway project

रौतहट — मेची–महाकाली विद्युतीय रेल्वे आयोजनाको रौतहटतर्फ वाग्मतीदेखि पश्चिमको धन्सार नदी सम्मको रेलवे ट्र्याक निर्माण अन्तिम चरणमा छ । तर, बीचका तीन स्थानमा ऐलानी र एकमा निजी जग्गाको मुआब्जा विवाद २ वर्षदेखि सुल्झिन नसक्दा काम अघि बढ्न सकेको छैन ।

आयोजनाको सर्लाही कार्यालयका प्रमुख किरण कार्कीले वाग्मतीदेखि पश्चिम चांदी नदीछेउको ऐलानी जग्गाका स्थानीयले मुआब्जा मागेको बताए । ‘ऐलानी जग्गामा बस्नेहरूको कागजपत्र हुँदैन । बिना लालपुर्जा उनीहरूलाई मुआब्जा दिने नियम छैन,’ उनले भने, ‘तर, उनीहरूले मुआब्जा मागेर काममा अवरोध गरेका छन् । हामी माथिको निर्देशन कुरेर बसेका छौं ।’ 

लमाहा खोला नजिक झन्डै सय मिटर ऐलानी जग्गामा पनि मुआब्जाको विवाद रहेको प्रमुख कार्कीले जानकारी दिए । यस्तै, सन्तपुर क्षेत्रका एक स्थानीयले पनि चलनचल्तीभन्दा कम मुआब्जा दिने निर्णय भएको भन्दै लिन अस्वीकार गरेका छन्, जसका कारण उक्त क्षेत्रमा पनि काम अघि बढ्न नसकेको आयोजनाले जनाएको छ ।

चांदी क्षेत्रका स्थानीय सरोज चौधरीले लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाको मुआब्जा पाउनुपर्ने बताए । सुकुम्बासीको उठीबास लगाउने गरी रेलवेको नामका जग्गा हडप्ने काम हुन लागेको उनको आरोप छ । ‘सरकारले केही न केही राहत दिनैपर्छ,’ उनले भने, ‘नभए काम अघि बढ्न दिँदैनौं ।’

आयोजना र ठेकेदारले स्थानीयसँग पटकपटक वार्ता गरेका थिए । तर स्थानीयले मुआब्दा नदिएसम्म काम गर्न नदिने अडान राखेपछि ठेकेदारले पनि यी क्षेत्रमा काम अघि बढाएका छैनन् । आयोजनाअन्तर्गत रौतहट खण्डमा ५ वटा प्याकेजको ट्र्याक निर्माण र कल्भर्टको काम भइरहेको छ । रोशनकुमार श्रेष्ठ जेभी, सन्तोषी कन्टेक्ट, लुम्बिनी एपेक्स, खानी, हिन्दुङ थोकर र गोल्डेन बिरुवाले निर्माणको ठेक्का लिएका छन् । सबै प्याकेजहरू २०७८ माघ १४ मा सक्नुपर्ने सम्झौतामा उल्लेख छ । तर विभिन्न कारण देखाउँदै ठेकेदार कम्पनीले समयमा काम सकेका छैनन् । 

आयोजनाका अनुसार रौतहटमा ट्र्याक खोल्ने काम ८० प्रतिशतभन्दा बढी सकिएको छ । रौतहटतर्फर् प्याकेज १, २ र ४ नम्बरमा ऐलानी जग्गाको मुआब्जाको समस्या छ । आगामी फागुनसम्म काम सक्ने आयोजनाको लक्ष्य रहे पनि मुआब्जाको समस्याले फेरि अर्को म्याद थप्नुपर्ने भएको छ । मुआब्जाकै कारण काम समयमा सक्ने अवस्था नरहेको प्रमुख कार्कीले सुनाए ।

मेची–महाकाली विद्युतीय रेलमार्गको लम्बाइ ९ सय ४५ किलोमिटर छ । रौतहटको वाग्मतीदेखि बाराको सीमाक्षेत्र धन्सारसम्म २२ किलोमिटर ट्र्याक बनाउने योजना छ । रौतहट क्षेत्रको एउटा प्याकेजको ठेक्का झन्डै ७० करोड रुपैयाँमा लागेको हो । निर्माण कम्पनिले रेल्वेको ग्राभेल, माटो, बेस, पुल, बक्सकल्भट र हरियालीको काम गर्नुपर्छ । २०७६ साउनदेखि ठेकेदारले काम सुरु गरेका हुन् । 

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully