नेपालमा ‘सोसल इन्जिनियरिङ’ उदीयमान साइबर थ्रेटका रूपमा देखिएको छ : साइबर सुरक्षा विज्ञ

मंसिर ३०, २०८१

कान्तिपुर संवाददाता

'Social engineering' seen as emerging cyber threat in Nepal: Cyber ​​security expert

काठमाडौँ — साइबर सुरक्षाका अनेक चुनौतीमध्ये नेपालमा ‘सोसल इन्जिनियरिङ’मार्फत हुने आक्रमण उदीयमान चुनौतीका रूपमा देखापरेको साइबर सुरक्षा विज्ञहरूले औंल्याएका छन् । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास-आईटी) ले शुक्रबार आयोजना गरेको कार्यक्रममा विज्ञहरूले साइबर सुरक्षाका विभिन्न पक्षहरू उजागर गरेका थिए ।

कार्यक्रममा वक्ताहरूले नेपालमा साइबर सुरक्षाका चुनौतीहरूमध्ये सोसल इन्जिनियरिङलाई प्रमुख उदयीमान खतरा ठहर गरेका थिए । साइबर सुरक्षा सेवा उपलब्ध गराउँदै आएको संस्था, लगपोइन्टका डाइरेक्टर अफ प्रोडक्ट म्यानेजमेन्ट बासुदेव राउतले ह्याकरहरूका लागि सोसल इन्जिनियरिङ कसरी सहज माध्यम बनिरहेको छ भन्ने सुनाए । ‘फायरवाल, एन्टिभाइरस वा बटलाई छल्नभन्दा मानिसलाई छल्न सजिलो हुन्छ,’ उनले भने, ‘प्राविधिक सुरक्षा प्रणालीमा पहुँच बनाउनुभन्दा मानिसलाई झुक्याएर उनीहरूको डिभाइस वा प्रणालीमा पहुँच बनाउन सहज हुने भएकाले सोसल इन्जिनियरिङमार्फत हुने इन्सिडेन्ट बढ्दो क्रममा छन् ।’ 

सोसल इन्जिनियरिङ यस्तो साइबर हमला हो जसमा ह्याकरले प्रयोगकर्तालाई कुनै तरिकाले झुक्याएर, विश्वासमा पारेर वा प्रभावित गरेर उनीहरूको युजरनेम, पासवर्ड, बैंक खाता, ओटीपी कोडजस्ता संवेदनशील विवरण फुत्काउने गर्छन् । प्रयोगयोगकर्तालाई उनीहरूको अकाउन्ट ह्याक भएको झुटो जानकारी दिएर पासवर्ड रिसेट गर्न लिंक पठाउने र त्यस्ता लिंक क्लिक गरेमा संवदेनशिल विवरण चोरी गर्नेदेखि कसैले आफूलाई इन्टरनेट सेवा प्रदायक वा कुनै मोबाइल वालेट कम्पनीका कर्मचारी भनेर चिनाउँदै फोन गर्ने र ओटीपी कोड वा राउटरको पासवर्ड माग्नेजस्ता गतिविधि सोसल इन्जिनियरिङ ह्याकिङका उदहारण हुन् ।

विज्ञहरूका अनुसार सोसल इन्जिनियरिङमार्फत साइबर अपराधीहरूले प्राविधिक सुरक्षा प्रणालीलाई छलेर प्रयोगकर्तालाई अझै असुरक्षित बनाइरहेका छन् । लगपोइन्टका प्रमुख सुरक्षा सूचना अधिकारी रोशन पोखरेलले सरकारी तथा निजी क्षेत्रका सूचना प्रविधि प्रणाली कमजोर डिफेन्स मेकानिजमका कारण बारम्बार साइबर आक्रमणमा पर्ने गरेको बताए । ‘हालै राहदानी विभागमा मालवेयर आक्रमण भएको घटना र केही समयअघि खल्ती वालेट तथा फुडमान्डुबाट विवरण लिक भएका घटनाले हाम्रो साइबर सुरक्षाको अवस्था झल्काउँछ,’ उनले भने, ‘डिभाइसहरूको लग अनुगमन गरेर र नियमित सुरक्षा मूल्यांकन गरेमा यस्ता थ्रेटबाट बच्न सकिन्छ ।’ 

बिज सर्भ आईटीका प्रमुख कार्यकारी अधिकृत प्रभात पोखरेलले साइबर सुरक्षाका कानुनी पक्ष नेपालमा तुलनात्मक रूपमा राम्रो भए पनि प्राविधिक र क्षमता विकासको पक्षमा कमजोरी रहेको औंल्याए । ‘साइबर सुरक्षामा अन्तरनिकाय सहकार्य र प्राविधिक क्षमता अभिवृद्धिमा हामी पछाडी छौं,’ उनले भने, ‘विकसित देशका कुनै निकायको प्रणालीमा साइबर आक्रमण भएमा ती निकायले यसबारे आफ्ना सेवाग्राही र नियामक निकायलाई जानकारी नगराए ठूलो आर्थिक जरिवाना हुन्छ । हामीकहाँ चाहिँ यस्ता घटना जतिसक्दो लुकाउने प्रवृत्ती छ । यो ठीक होइन ।’ 

नास-आईटीका कोषाध्यक्ष अभय पौडेलले साइबर सुरक्षाका विभिन्न पिलरलाई बलियो बनाउन सचेतना कार्यक्रम आवश्यक रहेको धारणा राखे । लगपोइन्टका निर्देशक प्रकाश थापाले १५ वर्षदेखि नेपालमा प्रविधिको क्षेत्रमा काम गर्दै आएको र यूरोप र अमेरिकाका अनुभव नेपालमा उपयोग गर्न तयार रहेको बताए । त्यस्तै, नास-आईटीका महासचिव दिपेन चापागाइँले चाहिँ नेपालमा पछिल्लो प्रविधि र साइबर जोखिमका विज्ञ नेपालमा खासै नभएको तथा नेपाल र नेपालीलाई हुनसक्ने जोखिम आफ्नो पनि भएको धारणा राखे ।

कान्तिपुर

Link copied successfully