काठमाडौं — तारा एयरको टुइनअटर विमानले आज (आइतबार) देखि नेपालगन्ज–टीकापुर–नेपालगन्ज उडान सुरु गरेको छ । नेपालगन्ज विमानस्थल प्रमुख सुम्मतप्रसाद चौधरीका अनुसार, ताराको टुइनअटरले दिउसो १:२७ बजे नेपालगन्जबाट ११ जना यात्रु र ३ जना एयरलायन्सकै कर्मचारी लिएर टीकापुर पुगेको थियो ।
टीकापुरबाट उक्त विमानमा १६ जना यात्रु र तीन जना कर्मचारीलाई नेपालगन्ज ल्याएर आएको थियो ।
नेपालगन्ज विमानस्थलका अनुसार यो रुटमा टुइनअटरले जाँदा १८ मिनेट र फर्किंदा २० मिनेट समय लगाएको थियो । चालकदलले हेरेर उडान गर्ने (आईएफआर) नियमअनुसार जाँदा ६५ सय फिट र फर्किंदा ५५ सय फिटको उचाइबाट उडान गरेका थिए ।
नागरिक उड्डयन प्राधिकरणले तारा एयरलाई आइत र बिहीबार नेपालगन्जबाट टीकापुर उडान अनुमति दिएको छ । तारालाई पहिलो चरणमा मंसिर ३० देखि पुस १६ गतेसम्मका लागि उडान अनुमति दिएको हो । २७ वर्षदेखि बन्द टीकापुरमा कात्तिक १२ गते नेपाल वायुसेवा निगमको टुइनअटर विमानले परीक्षण उडान गरेको थियो ।
त्यसैदिन तारा एयरले पनि चार्टर उडान गरेको थियो । नेपालगन्ज-टीकापुरको एकतर्फी भाडा ३ हजार ६ सय रुपैयाँ रहेको छ । टीकापुर विमानस्थलको धावनमार्ग कच्ची भएकाले हिउँदमा मात्र प्राधिकरणले उडान अनुमति दिएको छ ।
