काठमाडौँ — नेपाल बिमा प्राधिकरणमा अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव मदन दहाललाई दिइएको छ । भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध मुद्दा दर्ता गरेपछि उनी स्वत: निलम्बनमा परेका छन् ।
उनको निलम्बनसँगै खाली रहेको अध्यक्षको जिम्मेवारी सहसचिव दहालले पाएका हुन् । दहालले हाल अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्दै नेपाल बिमा प्राधिकरणका सञ्चालक छन् ।
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रबार अध्यक्ष दहाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । सरकारले अर्को व्यवस्था नभएसम्मका लागि नेपाल बीमा प्राधिकरणको अध्यक्ष भई कामकाज गर्न अध्यक्ष दहाललाई जिम्मेवारी दिएको हो ।
कार्यभार सम्हाल्दै गर्दा प्राधिकरणका अध्यक्ष दहालले आफ्नो पहिलो प्राथमिकता चाँडै नै प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि पहल गर्ने र दोस्रो प्राथमिकता प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति रहेको बताए ।
अध्यक्ष दहालले प्राधिकरणमा परिवर्तन आएको देखिने गरी दत्तचित्त भएर काम गर्न र आ–आफ्नो जिम्मेवारी पूरा गर्न कर्मचारीहरूलाई निर्देशन दिए । ‘बीमितहरू मर्कामा परेका मुद्दाहरूको फर्छ्यौटलाई प्राथमिकता दिनुपर्छ, बीमितको हकतिको संरक्षण गर्ने र बीमा गर्दा राम्रो हुन्छ भन्ने विश्वास नागरिकमा जगाउने गरी काम गर्नुपर्छ, बीमकहरूको समस्या समाधान र बीमा क्षेत्रको विकासएवम्विस्तारमाध्यान दिनुपर्छ,’ उनले भने ।
