खोटाङमा भित्रियो ५२ करोड

मंसिर २९, २०८१

डम्बरसिं राई

52 crores entered in Khotang

खोटाङ — अलैंची निकासीबाट यस वर्ष खोटाङमा ५२ करोड ६६ लाख रुपैयाँ भित्रिएको छ । किसानले प्रतिमन ८६–८७ हजार रुपैयाँका दरले अलैंची बिक्री गरेका हुन् ।

सबैभन्दा बढी केपिलासगढी गाउँपालिकामा अलैंची बिक्रीबाट २१ करोड ५० हजार रुपैयाँ भित्रिएको अलैंची व्यवसायी महासंघका जिल्ला अध्यक्ष प्रेमकुमार राईले बताए । खोटेहाङ गाउँपालिकामा ११ करोड ३१ लाख, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा ६ करोड ९० लाख, ऐंसेलुखर्क गाउँपालिकामा ४ करोड ३१ लाख, साकेला गाउँपालिकामा ४ करोड ३० लाख, जन्तेढुंगा गाउँपालिकामा २ करोड ९ लाख र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा २ करोड ८ लाख रुपैयाँ भित्रिएको राईले जानकारी दिए ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष करिब ४० प्रतिशतले अलैंची उत्पादन घटे पनि मूल्य पाउँदा किसानलाई राहत मिलेको उनको भनाइ छ । ‘गत वर्ष प्रतिमन ६०–६२ हजार रुपैयाँले अलैंची किनबेच भयो । यस वर्ष औसतमा प्रतिमन ८६–८७ हजार रुपैयाँले किनबेच भयो, उत्पादन घटे पनि मूल्य पाउँदा किसानलाई राहत भयो,’ उनले भने । 

यस वर्ष खोटाङको अलैंची प्रतिमन १ लाख ५ हजार रुपैयाँसम्ममा बिक्री भएको उनको भनाइ छ । खोटाङमा उत्पादित अलैंची झापा हुँदै अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने गरेको छ । यस वर्ष जिल्लामा १३ हजार ५ सय ५० मन अलैंची उत्पादन भएको कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख हरिनारायण राईले बताए । जिल्लामा १ हजार ६४ हेक्टर जमिनमा अलैंची उत्पादन हुन्छ ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully