सगरमाथा क्षेत्रमा हेलिकप्टर उडान रोक्दैनौं : वायुसेवा संचालक संघ

मंसिर २८, २०८१

कान्तिपुर संवाददाता

We will not stop helicopter flights in the Everest region: Air Service Operators Association

काठमाडौँ — सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चेले हेलिकप्टर कम्पनीलाई जनवरी १ देखि व्यावसायिक उडानमा लगाएको रोकमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै वायुसेवा संचालकहरुले उक्त निर्णय नमान्ने जनाएका छन् ।

वायुसेवा संचालक संघका अध्यक्ष मनोज कार्कीले बिहीबार विज्ञप्ति जारी गर्दै कानुनविपरीत उक्त निर्णय आएकाले त्यसमा आपत्ति व्यक्त गरेका छन् । ‘गैरसैनिक हवाई उडान ऐनको प्रयोग गर्दै उडानमा प्रतिबन्ध लगाउने अधिकार नेपाल सरकारमा सुरक्षित रहेकाले हामी सगरमाथा क्षेत्रमा उडान रोक्न बाध्य हुने छैनौं,’ संघका अध्यक्ष कार्कीले कान्तिपुरसँग भने,‘सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय र स्थानीय समूहहरुले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गई लगाएको रोक संघका कुनै पनि सदस्यका लागि मान्य छैन ।’

संघले नेपालको उडान तथा अवतरणमा नेपाल नागरिक प्राधिकरण ऐनबाहेक कुनै पनि कानुन आकर्षित नहुने जनाएको छ । तर बुधबार सगरमाथा राष्ट्रिय निकुञ्जकी संरक्षण अधिकृत सुष्मा रानाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन लगायतको हवाला दिँदै सगरमाथा क्षेत्रमा पर्यटकका लागि हुने व्यावसायिक चार्टर उडानमा पुस १७ गतेदेखि रोक लगाइएको पत्र ११ वटा हेलिकप्टर कम्पनीलाई पठाएकी थिइन् ।

संघले उडानमा अवरोध गरेमा गैरसैनिक उडानअनुसार कारबाही हुने जनाउँदै आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गई अख्तियारको दुरुपयोग गरी सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले पत्र काटेकोमा तत्काल छानबिन गरी कारबाही गर्न सरकारलाई भनेको छ । 

कान्तिपुर

Link copied successfully