‘अध्ययनबिनै आयोजनामा बजेट छुट्याइँदा समस्या’

राजस्व प्रशासनमा रहेका समस्यामाथि गम्भीर निगरानी बढाइए पनि सरकारका प्रयास सम्पूर्ण रूपमा सफल हुन नसकेको अर्थमन्त्रीको स्वीकारोक्ति 

मंसिर २७, २०८१

कान्तिपुर संवाददाता

”Problem in allocating budget to projects without study”

काठमाडौँ — बजेट निर्माणका क्रममा विस्तृत अध्ययन र सम्भाव्यताबिनै आयोजनामा रकम विनियोजन गर्ने प्रवृत्ति रहेकाले स्रोत व्यवस्थापनमा समस्या भएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । संघीय संसद्को अर्थ समिति बैठकमा बुधबार अर्थमन्त्री पौडेलले ठूलो संख्यामा खल्तीका आयोजना रहेको दाबी गरे । 

‘विस्तृत अध्ययन र सम्भाव्यताबिनै त्यस्ता आयोजनामा बजेट परेको छ । संघ सरकारको बजेटमा ७५ हजार रुपैयाँ लागतको योजना पनि परेको देखियो । यसरी हजार र लाखका योजना केन्द्र सरकारले राख्यो भने प्रदेश, स्थानीय तह, वडाले कस्ता योजना बनाउलान् र कार्यान्वयन गर्लान् ?’ उनले प्रश्न गरे, ‘विनियोजन कौशल भएन भने स्रोतको सदुपयोग हुन सक्दैन । यसकारण योजनाको वर्गीकरण चाहियो ।’ 

विकास आयोजना कार्यान्वयनमा लागि तीन तहका सरकारबीच क्षेत्राधिकार परिभाषित हुन नसक्दा र आयोजना वर्गीकरण नहुँदा समस्या देखिएको अर्थमन्त्रीको भनाइ छ । यो समस्या समाधानका लागि आयोजनाको वर्गीकरणसम्बन्धी स्पष्ट मापदण्ड बनाएर कुन तहका सरकारले कस्तो आयोजना कार्यान्वयन गर्ने भनेर स्पष्ट पारिनुपर्ने उनले बताए । 

निर्माण व्यवसायीको दायित्व सरकारले नरोकेको स्पष्ट पार्दै अर्थमन्त्री पौडेलले भने, ‘विधि र प्रक्रिया पुर्‍याएर आए सरकारले कुनै पनि निर्माण व्यवसायीको भुक्तानी रोक्दैन ।’ मुलुकको अर्थतन्त्रको अवस्था विस्तारै सुधारोन्मुख देखिए पनि त्यसको गतिबाट आफू सन्तुष्ट नरहेको पनि अर्थमन्त्री पौडेलको भनाइ छ । ‘अर्थतन्त्रमा रहेका समस्या र दबाबबाट विस्तारै बाहिर निस्कन खोज्दै छौं । लामो समयदेखि थुप्रिँदै गएका समस्या भएकाले आजको भोलि नै समाधान हुन सक्दैनन्,’ अर्थमन्त्री पौडेलले भने, ‘विदेशी मुद्रा सञ्चिति राम्रो छ । पर्याप्त तरलता र ब्याजदर घेटेको छ । मुद्रास्फीति वाञ्छित सीमाभित्र छ । तर यो प्रगतिसँग हामी सन्तुष्ट छैनौं । यसमा थप सुधार आवश्यक छ । अहिलेको सुधारमा मात्रै चित्त बुझाएर हुँदैन ।’

गत आर्थिक वर्षको पहिलो चौमासिक अवधिको तुलनामा चालु आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा सरकारी राजस्व बढेको देखिए पनि लक्ष्यअनुसार भने अझै संकलन हुन नसकेको अर्थमन्त्री पौडेलले जनाए । 

राजस्व प्रशासनमा रहेका समस्यामाथि गम्भीर निगरानी बढाइए पनि सरकारका प्रयास सम्पूर्ण रूपमा सफल हुन नसकेको उनको भनाइ छ । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले राखेको राजस्व लक्ष्य हासिल गर्न गत आर्थिक वर्षको भन्दा करिब ३० प्रतिशत बढी राजस्व उठाउनुपर्ने गरी महत्त्वाकांक्षी भएर अर्थ मन्त्रालयले काम गरिरहेको अर्थमन्त्री पौडेलको दाबी छ । 

अहिले बजारमा तरलता पर्याप्त हुँदा र ब्याजदर घट्दा पनि लगानी बढ्न नसक्नुको कारणबारे आफूले नेपाल राष्ट्र बैंकसँग कुरा गरेको पनि अर्थमन्त्री पौडलले बताए । ‘सेयर भित्री कारोबार (इन्साइडर ट्रेडिङ) र कर्नरिङ जस्ता समस्या देखिएकाले त्यसलाई नियन्त्रण गर्न पहल भइरहेको छ,’ उनी भन्छन्, ‘नेपालले इतिहासमै पहिलो पटक मुलुकको सार्वभौम साख मूल्यांकन गरिएको छ । यसको नतिजा सन्तोषजनक अवस्था देखिएकाले अब विस्तारै लगानी बढ्दै जानेछ ।’

बैठकमा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले घटेको बजार माग र निजी क्षेत्रको मनोबल उकास्नु अहिलेको मुख्य चुनौती रहेको बताए । ‘हाम्रो अर्थतन्त्रका समस्या विस्तारै कम हुँदै गए पनि कायमै छन् । निजी क्षेत्रको आत्मविश्वास बढाउने चुनौती हाम्रासामु छ । बजारमा माग पनि घेटेको छ,’ महतले भने, ‘सेयर बजारमा सुधार भए पनि स्वस्थकर रूपमा विकास हुन सकेको छैन । निकामक निकायहरूले समस्या समाधान गर्नेभन्दा पनि समस्या बढाउने काम गरेका छन् ।’

नेपालको सार्वजनिक ऋणको दायित्व निकै बढी भइसकेकाले अब विचार पुर्‍याएर मात्र ऋण लिनुपर्ने र द्विपक्षीय वैदेशिक ऋणलाई अस्वीकार गर्नुपर्ने बेला आइसकेको महतको भनाइ छ । 

मुलुकमा नयाँ चरणको आर्थिक सुधार आवश्यक रहेको पूर्वअर्थमन्त्री वर्षमान पुनले बताए । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले नयाँ चरणको आर्थिक सुधारका लागि प्रक्रिया थाल्ने उल्लेख गरेको र त्यसका लागि सरकारले उच्चस्तरीय सुझाव कार्यदल पनि गठन गरिसकेको पुनको भनाइ छ । लक्षित राजस्व पुर्‍याउन सरकारका अहिलेका प्रयास पर्याप्त नरहेको पनि पुनको भनाइ छ । सहकारी क्षेत्र नियमनका लागि सक्दो चाँडो छुट्टै निकाय गठन गर्न पनि उनले सरकारसँग आग्रह गरे ।

कोभिड महामारीपछि बन्द रहेका छोटी भन्सार कार्यालय सञ्चालनमा ल्याइनुपर्ने तथा सीमा क्षेत्रमा हुने चोरी पैठारी रोकिनुपर्ने सांसद उपेन्द्र यादवले बताए ।

कान्तिपुर

Link copied successfully