अलैंची बिक्रीबाट खोटाङले भित्र्यायो ५२ करोड

मंसिर २७, २०८१

डम्बरसिं राई

Khotang earned 52 crores from the sale of cardamom

खोटाङ — अलैंची बिक्रीबाट यस वर्ष मात्रै खोटाङमा ५२ करोड रुपैयाँ भित्रिएको छ । विभिन्न स्थानीय तहमा उत्पादन भएको अलैंची निकासीबाट ५२ करोड ६६ लाख रुपैयाँ जिल्ला भित्रिएको हो ।

अलैंची व्यवसायी महासंघका जिल्ला अध्यक्ष प्रेमकुमार राईका अनुसार प्रतिमन ८६–८७ हजार रुपैयाँका दरले किसानबाट अलैंची खरिद बिक्री भएको छ । यसमा सबैभन्दा बढी केपिलासगढी गाउँपालिकामा अलैंची बिक्रीबाट २१ करोड ५० हजार भित्रिएको छ ।

त्यस्तै खोटेहाङ गाउँपालिकामा ११ करोड ३१ लाख, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा ६ करोड ९० लाख, ऐसेलुखर्क गाउँपालिकामा ४ करोड ३१ लाख, साकेला गाउँपालिकामा ४ करोड ३० लाख, जन्तेढुंगा गाउँपालिकामा २ करोड ९ लाख र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा २ करोड ८ लाख गरी ५२ करोड ६६ लाख रुपैयाँ भित्रिएको राईले बताए । 

यस वर्ष अघिल्लो वर्षको तुलनामा करिब ४० प्रतिशतले अलैंची उत्पादन घटे पनि मूल्य पाउँदा किसानलाई राहत मिलेको राईको भनाइ छ । ‘यस वर्ष गत वर्षको तुलनामा ४० प्रतिशतले अलैंची उत्पादन घट्यो तर मूल्य बढ्यो,’ राईले भने, ‘गत वर्ष प्रतिमन ६०–६२ हजार रुपैयाँले किसानसँग अलैंची किनबेच भयो,’ उनले भने, ‘यस वर्ष प्रतिमन ८६–८७ हजार रुपैयाँले किनबेच भयो, उत्पादन घटे पनि मूल्य पाउँदा किसानलाई राहत भयो ।’

यस वर्ष बजारमा खोटाङको अलैंची प्रतिमन १ लाख ५ हजार रुपैयाँसम्ममा बिक्री भएको राईले बताए । खोटाङमा उत्पादन भएको अलैंची झापा हुँदै अन्तर्राष्ट्रिय बजार पुग्ने गरेको छ । यस वर्ष जिल्लामा १३ हजार ५ सय ५० मन अलैंची उत्पादन भएको कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख हरिनारायण राईले बताएका छन् । राईका अनुसार जिल्लामा १ हजार ६४ हेक्टर जमिनमा अलैंची खेती गरिन्छ ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully