काठमाडौँ — कमलादीमा भ्वाङ परेको सडक निर्माण गरिएसँगै बिहीबारबाट सञ्चालनमा आउने भएको छ । गत साउन २५ मा कमलादीमा अविरल वर्षासँगै सडकमा भ्वाङ परेको थियो । त्यसपछि उक्त खण्डमा सवारी आवागमन ठप्प बनेको हो ।
भ्वाङ परेको साढे दुई महिनापछि ४९ लाख रुपैयाँमा ठेक्का सम्झौता भई कात्तिक २ बाट यसको निर्माण थालिएको हो । निर्माण थालेको ४६ दिनपछि मंसिर १७ मा निर्माणको काम सम्पन्न भएको हो ।
दरबारमार्गको महेन्द्र सालिकबाट काठमाडौं प्लाजा निस्कने बीचको बाटोमै भ्वाङ परेको थियो । सडक भ्वाङ परेको ठाउँमा तीन सिफ्टमा काम गरिएको र टिमवर्कले गर्दा निर्माणको काम डेढ महिनामै सकिएको सडक डिभिजन काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीले बताए । निर्माण केही दिनअघि सकिए पनि रंगरोगन गर्न समय लागेको उनले बताए ।
‘राम्रोसँग सवारी साधन चल्न मिल्ने गरी संरचना निर्माण भएका छन्,’ उनले भने, ‘भत्किएको बक्स कर्ल्भट, वरिपरिका रेलिङ बनाइएको छ ।’
‘सम्झौतामा तोकिएको निर्माण समय दुई महिना थियो,’ उनले भने, ‘तर चाडबाडले गर्दा तोकिएकै समयमा काम हुन सकेन, पछि निर्माण थालेको डेढ महिनामै काम सकिएको हो ।’ लगातार पानी परिरहेका बेला ११ मिटर लम्बाइमा पूरै कल्भर्ट भत्किएर सडकमा भ्वाङ परेको थियो ।
कल्भर्ट राणाकालीन समयमा बनाइएकाले जीर्ण भएर भत्किएको सडक विभागले जनाएको छ । यो सडक खण्ड काठमाडौं महानगरको १ र २८ नम्बर वडाको सीमा क्षेत्रभित्र पर्छ । डीजी प्रकाश कन्स्ट्रक्सनले असोज १८ मा ठेक्का लिएको थियो ।
