काठमाडौँ — बाढीले क्षतिग्रस्त बीपी राजमार्गको अध्ययन अन्तिम चरणमा पुगेको छ । बढीमा डेढ साताभित्र अध्ययन प्रतिवेदन आउने सडक विभागले जनाएको छ । तत्काल निर्माण थाल्न भने बजेटको समस्या भएको छ ।
बजेटका लागि गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् व्यवस्थापन कोषमा रहेको बजेट माग गर्नेबारे छलफल भइरहेको सडक विभागका महानिर्देशक रामहरि पोखरेलले बताए । ‘अर्थ मन्त्रालयसँगको परामर्शपछि प्राधिकरणसँग माग गर्ने छलफल भइरहेको छ,’ उनले भने, ‘निर्णय भइसकेको छैन ।’ प्राधिकरणले योजना लिएर आउन भनेको र सबैको योजना संकलन गरेर बजेटबारे निर्णय हुने पोखरेलको भनाइ छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली हुन् । यसबारे प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चासो दिएकाले प्राधिकरणको कोषको बजेटबाट निर्माण थाल्नेबारे छलफल गरिएको हो । अध्ययनको अन्तिम प्रतिवेदन नआइसकेकाले लागत टुंगो लागेको छैन । ‘अध्ययनका क्रममा स्ट्रक्चर डिजाइन गर्दा त्यसमा केही थप गर्नुपरेमा फिल्डमै पुगेको बेला सुझाएका छौं,’ पोखरेलले भने, ‘त्यसैले अन्तिम रिपोर्ट आएपछि मात्र कति लागत लाग्ने थाहा हुनेछ ।’ सडक डिभिजन भक्तपुरको अगुवाइमा निर्माणमै जान मिल्ने गरी अध्ययन भइरहेको उनले बताए ।
महानिर्देशक पोखरेलले आउने बर्खामा सवारीसाधन चल्न मिल्ने गरी दिगो संरचनाका साथ निर्माण गर्ने तयारीमा रहेको जानकारी दिए । बर्खामा चलाउन मिल्ने गरी वैकल्पिक सडक सुधार गर्न पनि बजेट माग गरिएको छ । ‘त्यो वैकल्पिक मार्ग हो, भकुन्डेबेसी– मेच्छेपौवा–नारायणथान– सिन्धुलीटार हुँदै नेपालथोक । त्यसपछि मध्यपहाडी राजमार्ग भएर सित्खा पुल हुँदै बीपी राजमार्गमा बाटो जोडिनेछ,’ उनले भने ।
प्रारम्भिक अध्ययनमा बीपी राजमार्ग बनाउन करिब ७ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । ‘यसबाट सडक निर्माण र आवश्यक पूर्वाधार निर्माण गरिनेछ,’ पोखरेलले भने, ‘स्रोत सुनिश्चितता पाएपछि मात्र निर्माण अघि बढाउँछौं ।’ बर्खामा बीपी राजमार्ग चलाउन ठूलो चुनौती रहेको र त्यसअनुसार अहिलेबाट नै तयारी गर्नुपर्ने उनले बताए । ‘निर्माणका लागि अहिले कुनै पनि दातृ निकायसँग कुरा भएको छैन, अध्ययन सकिएपछि निर्माणको प्रक्रिया थाल्छौं,’ उनले भने, ‘त्यो बेलासम्म कुनै दातृ निकायले चासो देखाए विकल्प रहन्छ ।’
तीन वर्षभित्र सक्ने गरी निर्माण थालिने पोखरेलको भनाइ छ । ‘अध्ययन सकिएलगत्तै हामीलाई निर्माणमा जान समस्या छैन,’ उनले भने, ‘त्यसका लागि पहिला स्रोत सुनिश्चितता चाहिएको छ ।’
त्यसपछि ठेक्का प्रक्रिया पूरा गर्न तीन महिना लाग्ने उनले बताए । ‘बढीमा वैशाखभित्र काम सुरु गर्ने योजना हो,’ उनले भने ।
काभ्रेभन्ज्याङ–नेपालथोक खण्डको १२ किलोमिटर सडकमा गत असोज १० देखि १२ सम्म आएको बाढीपहिरोले क्षति गरेको छ । यसको ८.७ किमि सडकखण्ड रोशी खोलाले बगाएको छ । अहिले अस्थायी डाइभर्सन बनाएर यातायातका साधन चलाइएको छ । तर सवारी चाप उच्च भएकाले दिनहुँ ट्राफिक जामको समस्या हुने गरेको छ । यो सडक भएर दिनको ७ हजारभन्दा बढी सवारीसाधन गुड्छन् । अप्ठ्यारो खण्डमा एकतर्फी रूपमा यातायात चलाउने गरिएकाले ट्राफिक जाम बढी हुने गरेको छ । विभिन्न अप्ठ्यारो र समस्या भएको ठाउँमा सडकलाई सिधा गर्ने गरी पुल बनाउने तयारी छ ।
काभ्रेको चौकीडाँडादेखि मुल्कोटसम्मको सडकमा समस्या छ । त्यसमा पनि बढी समस्या चौकीडाँडादेखि नेपालथोक खण्डमा छ । बाढीले सिन्धुली खण्डमा कम र काभ्रे खण्डमा बढी क्षति पुर्याएको छ । बीपी राजमार्गअन्तर्गत काभ्रेको धुलिखेलदेखि महोत्तरीको बर्दिबाससम्म १ सय ५८ किमि जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको हो । करिब २० वर्ष लगाएर यसको निर्माण गरिएको थियो । राजधानीलाई पूर्वी तराईसँग जोड्ने गरी सन् १९९६ मा यो सडक निर्माण सुरु गरेर २०१५ मा सम्पन्न गरी नेपाललाई जापानले हस्तान्तरण गरेको थियो ।
