काठमाडौँ — भन्सारमा बेथिति बढिरहेकाले तत्काल सुधारको थालनी गर्न सांसदहरूले आग्रह गरेका छन् । अर्थ समितिको बैठकमा बुधबार सांसदहरूले भन्सार विन्दुमा सुधार नहुँदा राजस्व घटेको भन्दै तत्काल सुधारको पहल थाल्न आग्रह गरेका हुन् ।
सांसद पदम गिरिले भन्सार विन्दुमा एक्सरे मेसिन बिग्रेर थन्किँदा पनि किन बनेन भनेर प्रश्न गरे । सांसद उपेन्द्र यादवले पनि राजस्व चुहावट बढेको दाबीसमेत गरे ।
भन्सार कडाइका नाममा सर्वसाधारणले दु:ख पाउने तर ठूला व्यापारलाई सधैँ चैन रहेको उनले बताए । अर्थ सचिव रामप्रसाद घिमिरेले भने राजस्व संकलनमा सुधार भइरहेको दाबी गरे ।
