बुधबार आइपुग्यो एक हजार किलोलिटर मट्टितेल
काठमाडौँ — पेट्रोलको सफल परीक्षणपछि रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट परीक्षणका मट्टितेल पनि आयात भएको छ । यसअघि डिजेलमात्रै आयात भएको पाइपलाइनबाट गत असोज १७ मा ५ हजार ५ सय किलोलिटर पेट्रोल ल्याएको थियो ।
उक्त पेट्रोल परीक्षणको लागि ल्याइएको थियो । बुधबार एक हजार किलोलिटर मट्टितेल पनि ल्याइएको नेपाल आयल निगमका अमलेखगन्जस्थित प्रादेशिक कार्यालय प्रमुख प्रलयंकर आचार्यले बताए । ‘पहिलो लटमा एक हजार किलोलिटर मट्टितेल आयात गरी सफल परिक्षण भएको छ,’ प्रमुख आचार्यले भने ।
पाइपलाइन २०७६ भदौ २४ बाट औपचारिक रुपमा उद्घाटन भएको थियो ।
दोस्रो चरणअन्तर्गत पाइलाइनबाट पेट्रोल र मट्टितेल आयात गर्ने लक्ष्य छ । निगमले पुसबाट पेट्रोल र मट्टितेल पाइपलाइनबाटै निरन्तर आयात गर्ने तयारी गरिरहेको छ । त्यसकै तयारी स्वरुप बुधबार मट्टितेल पनि आयात गरिएको प्रमुख आचार्यले जनाए ।
साढे ३ दशकअघिदेखि सञ्चालनमा आएको अमलेखगंज इन्धन डिपो अहिले म्यानुअलमा सञ्चालन भइराखेको छ । पाइपलाइनबाट पेट्रोल आएसँगै डिपोलाई पूर्ण अटोमेसनमा लैजाने गरी पूर्वाधार बनाइएको छ । पाइलाइनबाट पेट्रोल र मट्टितेल आयात गर्न निगमले थप ४ वटा ट्यांकी, लोडिङ बे, अत्याधुनिक प्रयोगशालालगायत पूर्वाधार बनाएसँगै डिपो अटोमेसनमा जान लागेको हो ।
लोडिङमा पूर्ण अटोमेसन गर्न २४ वटा ‘लोडिङ बे’ निर्माण गरिएको छ । २४ वटा ‘लोडिङ बे’मा ३६ वटा फिलिङ पोइन्ट राखिएको छ । जसमध्ये पेट्रोलको ७ वटा बटम लोडिङ र ८ टम लोडिङ गर्न सकिन्छ । डिजेलको ४ वटा बटम र १४ वटा टप लोडिङ गर्न सकिन्छ । त्यस्तै, मट्टितेलको १ वटा बटम लोडिङ रहेको जनाइएको छ ।
पाइपलाइनबाट प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी भाडा बचत हुने तथा वातावरणीय प्रदूषण कम गर्नसमेत सहयोग पुग्ने निगमले जनाएको छ । ढुवानी भाडा र समय बचत, प्रदूषण नियन्त्रण, परिमाण र गुणस्तरको सुनिश्चितता हुनेछ ।
