काठमाडौँ — अघिल्ला पाँच कारोबार दिन लगाचार घटेको नेप्सेमा बुधबार उच्च अंकको सुधार भएको छ । जसअनुसार मंगलबारको तुलनामा बुधबार नेप्से ४५.८८ अंकले बढेर २ हजार ७ सय १५.७१ विन्दुमा उक्लेको छ ।
अघिल्लो दिनको तुलनामा यो १.७१ प्रतिशतले बढी हो । मंगलबार नेप्से २ हजार ६ सय ६९.८२ विन्दुमा बन्द भएको थियो । सो दिन कारोबारमा आएकामध्ये ११२ वटा कम्पनीको सेयरमूल्य बढ्यो, २८ वटाको घट्यो भने बाँकी ३ वटा कम्पनीको स्थिर रहयो ।
५६ हजार ३ सय ५० पटकको कारोबारमा १ करोड १३ लाख ८६ हजार ८ सय ५४ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब ५ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको हो ।
उक्त दिन कारोबारमा आएका १३ उपसमूहमध्ये सामूहिक लगानीबाहेक सबैको परिसूचक धेरैले बढेपछि समग्र नेप्सेको उच्च वृद्धिमा टेवा पुगेको हो ।
