आगामी जनवरी १ देखि फेरि सेनेटरी प्याडको निर्यात रोकिने

मंसिर २५, २०८१

सीमा तामाङ

The export of sanitary pads will be stopped from next January 1

काठमाडौँ — आगामी पुस १७ गतेदेखि फेरि सेनेटरी प्याड निर्यात रोकिने भएको छ । भारतीय निकाय बीआईएस (भारतीय मानक ब्युरो) ले आयात हुने सबै सेनेटरी प्याडलाई गुणस्तर प्रमाणपत्र अनिवार्य गरेका कारण प्याड निर्यात रोकिने भएको हो । 

स्वदेशी उद्योगको संरक्षण गर्न भन्दै भारतले एक वर्षअघि नै बीआईएस (ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड) अनिवार्य गरेको थियो । गत अक्टोबर १ देखि भारतमा अन्य मुलुकबाट निर्यात हुने प्याड र बेबी डाइपरमा बीआईएस अनिवार्य थियो ।

बीआईएस लागू हुनासाथ नेपालबाट निर्यात हुने प्याड र बेबी डाइपरसमेत रोकिएको थियो । लगत्तै भारतले २३ अक्टोबरमा एक सूचना जारी गर्दै जनवरी १ देखि लागू हुने भन्दै दुई महिनाका लागि म्याद थप गरेको थियो । एक वर्षअघि नै नेपालका उद्योगीले पनि भारतको बीआईएसमा आवेदन दर्ता गराएका थिए । बीआईएसबाट निरीक्षण टोली उद्योग अनुगमनमा आउने, ‘फ्याक्ट्री अडिट’ गर्ने प्रक्रिया थियो । तर हालस्म नआएको उद्योगीहरू बताउँछन् । 

बीआईएसबाट निरीक्षण टोली उद्योग अनुगमनमा आए पनि थप प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले फेरि सेनेटरी प्याड  निर्यात राेकिने जस्मिन हाइजिन प्रोडक्टका सीईओ पुनित शारडाले बताए ।' भारतबाट उद्योग भिजिटमा आउने टुंगो छैन, आए पनि प्रक्रियामा २/ ३ महिना समय लाग्छ,' उनले भने, 'बीआईएस टोली भिजिटमा आए/नआए पनि प्याड निर्यात रोकिनेछ ।'

भारतले फेरि म्याद थप गरेको खण्डमा मात्रै सेनेटरी प्याड निर्यात नरोकिने उनले बताए । 'भारतीय पक्षसँग पनि कुरा गरिरहेका छौं, यसबारे सकारात्मक छौं नै भनेका छन्, तर भिजिटमा आउने टु‌ंगो छैन्, उनले भने ।  

गत आर्थिक वर्षको पहिलो चार महिनामा १२ करोड ६५ लाख ६७ हजार रूपैयाँको प्याड निर्यात भएको थियो । त्यसको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा प्याड निर्यात घटेको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा  ७ करोड ७७ लाख ६४ हजार रूपैयाँको प्याड निर्यात भएको छ ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा  नेपालमा ४६ करोड १८ लाख ५४ हजार रूपैयाँको सेनेटरी प्याड आयात भएको छ । पछिल्ला चार महिनामा भारत, चीन, इजरायल, हङकङ र बेलायत र अस्ट्रियाबाट प्याड आयात भएको भन्सार विभागले जनाएको छ । विभिन्न मुलुकबाट प्याड आयात भए पनि नेपालबाट भने भारतमा मात्रै निर्यात हुने गरेको छ ।

आर्थिक वर्ष ०८०/०८१ मा ४१ करोड ८७ लाख २ हजार रुपैयाँको १५ करोड ४४ लाख ६९ हजार १ थान प्याड निर्यात हुँदा १ अर्ब ३३ करोड ८४ लाख २३ हजार रुपैयाँ बराबरको २१ करोड ३० लाख २ हजार २ सय २९ थान प्याड आयात भएको थियो ।

आर्थिक वर्ष ०७९/०८० मा ९१ करोड ७९ लाख २० हजारको १० करोड २९ लाख २४ हजार ७५ थान प्याड आयात र १४ करोड ९४ लाख ७८ हजारको ५ करोड ३५ लाख १२ हजार ६ सय ६६ थान निर्यात भएको थियो । 

आर्थिक वर्ष ०७८/०७९ मा १ अर्ब ११ करोड १३ लाख १४ हजारको १२ करोड ९१ लाख ९४ हजार ७ सय २१ थान प्याड आयात र ३ करोड ५१ लाख ५६ हजारको १ करोड १९ लाख ३० हजार २ सय ६४ थान निर्यात भएको थियो ।

आर्थिक वर्ष ०७७/०७८ मा १ अर्ब १७ करोड ७० लाख ८२ हजारको १७ लाख ३८ हजार ८ सय ५० किलो र ३ करोड ५७ लाख १३ हजार ४ सय ९० थान प्याड आयात भएको भन्सार विभागको तथ्यांक छ । उक्त वर्ष १ करोड ६१ लाख ४९ हजार रुपैयाँको ८४ हजार ९७९ किलो र १ लाख ७७ हजार २ सय थान प्याड भारत निर्यात भएको थियो ।

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully