कार्यकाल दुई वर्ष, एक जना महिला उपाध्यक्ष
काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघमा फेरि प्रत्यक्ष निर्वाचनबाटै अध्यक्ष चयन हुने भएको छ । महासंघ कार्यसमितिले गत असार २४ मा तयार पारेको संशोधित विधान मंगलबार बसेको विशेष साधारणसभाले सर्वसम्मतले पारित गरेपछि उक्त व्यवस्था कार्यान्वयनमा आउने भएको हो ।
साधारणसभाबाट पारित विधान मन्त्रिपरिषद्बाट स्वीकृति भएपछि लागू हुनेछ । यसअघिको विधानमा महासंघका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान थियो ।
विशेष साधारणसभाले कार्यसमितिको कार्यकाल दुई वर्षको हुने, एक महिला उपाध्यक्ष रहने, वरिष्ठ उपाध्यक्ष र महिला उपाध्यक्षको चयन कार्यकारिणी समितिले गर्ने, जिल्ला/नगरतर्फ दुई जना उपाध्यक्ष रहनेलगायत व्यवस्था पनि गरेको छ । साधारणसभाले हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बनेर उनको कार्यकाल सकिएपछि अध्यक्ष चयन प्रत्यक्षबाट गर्ने निर्णय गरेको हो । ‘वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको अध्यक्षको कार्यकाल सकिएपछि २ वर्षे कार्यकाल लागू हुनेछ र त्यसपछिको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाटै चयन हुनेछन्,’ महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भने ।
यसअघि पनि प्रत्यक्ष निर्वाचनबाट अध्यक्षको प्रस्ताव भए पनि सदस्यबीच विवादका कारण पारित हुन सकेको थिएन । यस पटक भने विशेष साधारणसभाबाट पनि सर्वसम्मतले महासंघको विधान पारित भएको अध्यक्ष ढकालले बताए । ‘कुनै विवाद भएन, सर्वसम्मत विधान पारित भएको छ,’ उनले भने, ‘सर्वसम्मत भएको यो निर्णयले राम्रो सन्देश प्रवाह भएको छ ।’
नयाँ व्यवस्थाअनुसार हालको कार्यसमितिको तीनवर्षे कार्यकाल सकिएपछि वर्षमान वरिष्ठ उपाध्यक्ष र श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् । त्यस कार्यसमितिको वरिष्ठ उपाध्यक्ष कार्यकारिणी समितिले चयन गर्नेछ । यसअघि वरिष्ठ उपाध्यक्षको प्रत्यक्ष निर्वाचन हुने व्यवस्था थियो । महासंघ कार्यकारिणी समितिले दुई जना वरिष्ठ उपाध्यक्ष रहने प्रस्ताव गरेको थियो । साधारणसभाले एक जना वरिष्ठ रहने हालकै व्यवस्था पारित गरेको हो । संशोधित विधानमा एक जना महिला उपाध्यक्ष रहने व्यवस्था छ । तर, महिला उपाध्यक्षका लागि कार्यकारिणी समितिमा १२ जना महिना सदस्य हुनुपर्नेछ ।
‘महासंघमा महिला उपाध्यक्ष रहने व्यवस्था गरिएको छ,’ अध्यक्ष ढकालले भने, ‘कार्यकारिणी समितिमा १२ जना महिला सदस्य भएमा मात्र महिला उपाध्यक्ष चयन हुनेछ र महिला उपाध्यक्ष कार्यकारिणी समितिले चयन गर्नेछ ।’ यदि कार्यकारिणी समितिमा १२ जना महिला सदस्य नभएको अवस्थामा महिला उपाध्यक्ष नरहने महासंघले प्रस्ट्याएको छ । यसैगरी जिल्ला/नगरतर्फ २ जना उपाध्यक्ष रहने व्यवस्था महासंघले गरेको छ । यसअघि जिल्ला/नगरबाट एक जना मात्र उपाध्यक्ष रहने व्यवस्था थियो ।
प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष चयन एक कार्यकालपछि भए पनि बाँकी एसोसिएट्स र वस्तुगततर्फबाट महिलाको प्रतिनिधित्व सम्बन्धमा भएको व्यवस्था आउँदो निर्वाचनबाटै लागू हुने पनि महासंघले जनाएको छ । ‘एकातिर उपाध्यक्षमा एकसहित विभिन्न पदमा महिला प्रतिनिधित्व हुनैपर्ने नयाँ व्यवस्थाको सुरुवात गरेका छौं,’ ढकालले भने, ‘अध्यक्ष प्रत्यक्ष निर्वाचित हुने प्रावधानले सक्षम व्यक्ति नेतृत्वमा आउन सहयोग पुग्ने भएको छ ।’
यस्तै, महासंघले वस्तुगतको १४ सदस्यमध्ये एक जना महिला अनिवार्य, एसोसिएट्सका १९ सदस्यमध्ये २ महिला अनिवार्यलगायत व्यवस्था गरेको छ । महासंघले यसअघि पनि विधान संशोधनको प्रयास गरेको थियो । ‘विभिन्न कार्यदल एवं समितिहरू गठन गरी काम गरिएको भए पनि सहमति हुन सकेको थिएन,’ अध्यक्ष ढकालले थपे, ‘मैले निर्वाचनकै समयमा विधान संशोधन गर्दै अध्यक्ष पद प्रत्यक्ष निर्वाचित गर्ने वाचा गरेको थिएँ । अहिले त्यही वाचाले मूर्त रूप पाएको हो ।’
यसअघि पूर्वअध्यक्ष चण्डीराज ढकाल र कुशकुमार जोशीको संयोजकत्वमा छुट्टाछुट्टै विधान संशोधन समिति बनाएर प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष चयन गर्ने प्रक्रिया प्रस्ताव भए पनि पारित हुन सकेको थिएन । महासंघको अध्यक्ष सुरुदेखि नै प्रत्यक्ष निर्वाचनबाट चुनिँदै आए पनि विशेष साधारणसभामार्फत २०७३ सालमा विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्षको निर्वाचन गर्ने र वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था सुरु गरिएको हो । यो व्यवस्थाअनुसार हालसम्म पूर्वअध्यक्षद्वय भवानी राणा र शेखर गोल्छा अध्यक्ष भइसकेका छन् भने ढकाल बहालवाला छन् । हालका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ पनि यही व्यवस्थाअनुसार अध्यक्ष बन्नेछन् ।
