तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ६३ प्रतिशत

मंसिर २५, २०८१

सम्झना रसाइली

Physical progress of Tanahun hydropower project is 63 percent

तनहुँ — जिल्लाको ऋषिङ गाउँपालिका–१ काहुँशिवपुरको झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ६३ प्रतिशत मात्रै भएको छ । तीन प्याकेजमा विभाजन गरी निर्माणाधीन आयोजनाको समग्र आर्थिक प्रगति ५८ प्रतिशत रहेको छ ।

प्याकेज–१ अन्तर्गत मुख्य बाँधको तल्लो तह क्षेत्रमा ग्राउटिङ भइरहेको आयोजनाका प्रमुख श्यामजी भण्डारीले बताए । उनका अनुसार ऋषिङ–१ र व्यास नगरपालिका–५ को सीमा भएर बग्ने सेती नदीमा १४० मिटर उचाइको मुख्य बाँध निर्माण गरिनेछ । 

‘क्रसर तथा चिस्यान प्लान्ट स्थापना गरी तयारी अवस्थामा राखिएको छ’, उनले भने, ‘मुख्य बाँध निर्माण छिट्टै सुरु गर्ने तयारीमा छौं ।’ सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीले निर्माणको जिम्मेवारी लिएको यस प्याकेजको भौतिक प्रगति ३६ प्रतिशत रहेको उनले बताए । 

यस्तै, प्याकेज–२ अन्तर्गत जलाशयको मुहान (इनटेक)बाट सुरु भई पेनस्टक पाइप रहने स्थानसम्मको १४९३ मिटर लामो सुरुङ ‘ब्रेक थ्रु’ गरी कंक्रिट लाइननिङ भइरहेको प्रमुख भण्डारीले बताए । ‘मुख्य सुरुङबाट गएको पानीलाई २१३ मिटर लामो पेनस्टक पाइपमार्फत भूमिगत विद्युत् गृहमा खसाली विद्युत् उत्पादन गरिनेछ’, उनले भने, ‘यसका लागि पेनस्टक पाइप जडान अन्तिम चरणमा पुगेको छ ।’

आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतको निर्माण कार्य सिनो हाइड्रो कर्पोरेसन चीनले गरिरहेको छ । विद्युत् गृहका सिभिल संरचना निर्माण अन्तिम चरणमा छ । स्वीजयार्ड निर्माण, विद्युत् गृहमा रहने उपकरणहरू जडानलगायतका कार्य भइरहेको आयोजनाले जनाएको छ । यस प्याकेजको भौतिक प्रगति करिब ६२ प्रतिशत छ । 

प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीएको डबल सर्किट प्रसारण लाइन निर्माणको जिम्मा केईसी इन्टरनेसनल लिमिटेड भारतले लिएको छ । ३४.७ किमि प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ७८ वटा टावरको जग हालिएको छ भने ६९ वटा टावर खडा गरिएको आयोजनाले जनाएको छ । यस प्याकेजको प्रगति ७४ प्रतिशत रहेको छ । 

समग्र निर्माण २०८३ असारभित्र (सन् २०२६ मे) सक्ने लक्ष्य राखिएको छ । एडीबीको नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वा र प्राधिकरणका कार्यकारी निर्देशक एवं तनहुँ हाइड्रोपावर लिमिटेडका सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङ सम्मिलित टोलीले सोमबार आयोजनाको स्थलगत अनुगमन गरी निर्माण तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका थिए । 

आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत तनहुँ जिल्लामा विद्युतीकरण गर्नका लागि नेपाल प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ । यसअन्तर्गत स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३/११ केभीएका दुईवटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । उक्त सबस्टेसनहरूसम्म विद्युत् पुर्‍याउनका लागि ३३ केभीए लाइन निर्माण गरिएको छ । तनहुँ जिल्लाको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मरहरू जडान र ११ केभीए लाइन निर्माण गरिएको छ । 

सामुदायिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित क्षेत्रहरूमा हालसम्म शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, नदी तटबन्द निर्माणलगायतका गरी ६३ वटा परियोजनाहरू सम्पन्न भएका छन् । १० वटा परियोजना सञ्चालित छन् । आयोजना प्रभावितहरूको जीविकोपार्जन तथा आयआर्जन बृद्धिका लागि विभिन्न सीपमूलक तालिमहरू सञ्चालन भइरहेका छन् । 

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । 

कम्पनीले आयोजननाबाट विद्युत् उत्पादनपछि प्राप्त हुने बहाव र मादी नदीको पानीलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना विकास प्रक्रिया अगाडि बढाएको छ ।

सम्झना रसाइली रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully