सवारी चालकले ट्राफिक नियम उल्लंघन गर्दा कागजी रूपमा दिइने चिटको साटो डिजिटल चिट काट्दै प्रहरी
काठमाडौँ — ट्राफिक नियम उल्लंघन गर्नेमध्ये दैनिक औसतमा १ हजार सवारी चालकलाई नागरिक एपमार्फत कारबाही गर्ने गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । गत कात्तिकदेखि डिजिटल लाइसेन्स प्रणाली लागू भएयता औसत १८ सयदेखि २ हजार सवारीको जाँचमा आधाजसो कारबाही डिजिटल चिटमार्फत भइरहेको कार्यालयले बताएको छ ।
सरकारले गएको कात्तिक ४ मा काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई डिजिटल चिट (ई–चलान) दिने प्रणाली सुरु गरेको थियो । डिजिटल चिट प्रणाली लागू भएपछि ट्राफिक नियम उल्लंघनको निगरानी र कारबाही दरमा उल्लेख्य वृद्धि भएको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन कार्कीको भनाइ छ । ‘पहिले दिनको २ सयदेखि ३ सय मात्रै ट्राफिक कारबाही हुन्थ्यो, अहिले नागरिक एपमार्फत दिनको औसत ९ सयदेखि १ हजार जनालाई कारबाही गरिरहेका छौं,’ कार्कीले भने, ‘डिजिटल प्रणाली प्रभावकारी बनाउन ट्राफिक प्रहरीले सवारी चालकहरूलाई नागरिक एप डाउनलोड गर्न प्रोत्साहित गरिरहेको छ, धेरैले एप नै डाउनलोड गर्नु भएको रहेनछ ।’
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागका अनुसार हाल करिब ५५ लाख प्रयोगकर्ताले नागरिक एप डाउनलोड गरेका छन् । एन्ड्रोइडमा ४९ लाख १० हजार ५ सय ९६, आईओएसमा ६ लाख १२ हजार ११५ र वेबमा २३ सय २७ डाउनलोड्स छ । हाल एपमा ३२ वटा निकायका ६२ वटा सेवा तथा सूचना इन्टिग्रेट गरिएको छ । पछिल्लो समय एपभित्रकै डिजिटल लाइन्सेन्समा रहेको क्यूआर कोडबाट ट्राफिक जरिवाना तिर्ने/तिराउने प्रक्रिया समावेश गरिएको हो । सवारी चालकहरूले ट्राफिक नियम उल्लंघन गर्दा कागजी रूपमा दिइने चिटको साटो प्रहरीले डिजिटल चिट काट्न थालेका छन् । नागरिक एपमा ट्राफिक भायोलेसन रेकर्ड सिस्टम (टीभीआरएस) आबद्ध गरिएपछि सर्वसाधारणले सवारी चालक अनुमतिपत्रको साटो एपभित्रकै भर्चुअल लाइसेन्स देखाए पुग्ने भएको हो । यो व्यवस्थामा, ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गर्नेलाई नागरिक एपभित्र रहेको क्यूआर कोड स्क्यान गरेर डिजिट चिट (ई–चलानी) जारी गर्दै आएका छन् । चिट काटेपछि सम्बन्धित व्यक्तिले तुरुन्तै जरिवाना तिर्न डिजिटल पेमेन्ट सिस्टमको प्रयोग गर्न सक्छन् ।
डिजिटल चिट प्रणालीले ट्राफिक कारबाही प्रक्रियालाई कागजविहीन बनाउँदै सहज र पारदर्शी बनाएको डीएसपी कार्कीले बताए । यसले ट्राफिक उल्लंघनको रेकर्ड राख्न, जरिवाना लिन र लाइसेन्स फिर्ता गर्नुपर्ने झन्झटसमेत कम भएको कार्कीको भनाइ छ । तथापि डिजिटल साक्षरताको कमीले गर्दा डिजिटल चिट जारी गरिएकामध्ये आधाले मात्रै जरिवाना शुल्क अनलाइनबाट भुक्तानी गर्ने गरेको कार्यालय परिसरका एक ट्राफिक प्रहरी अधिकारीले बताए ।
‘यसमा समस्या के देखिएको छ भने धेरैजसो सवारी चालकहरूले अझै पनि नागरिक एप डाउनलोड गर्नुभएको छैन र उल्लेख्य जनसंख्याले अर्काका नाममा रहेको मोबाइल सिम चलाएकाले नागरिक एपमा खाता खोल्नै सक्नुभएको रहेनछ,’ उनले भने, ‘अनलाइन भुक्तानी गर्न अलमल भएर कारबाहीमा पर्नेमध्ये आधाले मात्रै डिजिटल माध्यमबाट जरिवाना बुझाउने गर्नुभएको छ ।’
डिजिटल चिट प्रणालीअन्तर्गत रातो बत्ती उल्लंघन, लेन अनुशासन तोड्ने, तीव्र गतिमा सवारी चलाउने, मादकपदार्थ सेवन गरी सवारी चलाउने जस्ता कसुरमा विगत एक महिनामा १३ हजार ३ सय ७० जनालाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ । दिनको औसत १८ सयदेखि १९ सय वटा सवारीको जाँचमा झन्डै आधाजसो कारबाही डिजिटल चिटमार्फत भइरहेको कार्यालयका प्रवक्ता कार्कीले जनाए । हाल वाग्मतीका काठमाडौं, भक्तपुर र ललितपुरमा मात्रै यो प्रणाली कार्यान्वयनमा छ । डिजिटल लाइसेन्स र डिजिटल चिटसम्बन्धी व्यवस्था बिस्तारै अन्य प्रदेशमा लैजाने ट्राफिक प्रहरीको तयारी छ ।
डिजिटल सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नियमनका लागि क्यूआर कोड स्क्यान गर्ने डिभाइस आवश्यक पर्ने र हाल ट्राफिक प्रहरीसँग करिब ५ सय जति मात्रै डिभाइस रहेको प्रवक्ता कार्कीले जनाए । ‘सातै प्रदेशमा लागू गर्ने उद्देश्यले डिभाइस प्रदेशमा पठाउने तयारी अघि बढिसकेको छ,’ उनले भने, ‘संख्या धेरै नभए पनि अहिलेलाई अभ्यस्त बनाउँदै लगौं भनेर प्रदेशअनुसार १५/२० वटा मोबाइल डिभाइस प्रहरी प्रधान कार्यालयमार्फत पठाउने तयारी भएको हो ।’
