काठमाडौँ — नेपाल उद्योग परिसंघले प्रस्तावित राजदूतहरुसँग आर्थिक कूटनीतिलाई उच्च प्राथमिकता राख्न आग्रह गरेको छ । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले आर्थिक सम्बन्ध विस्तारलाई उच्च प्राथमिकतामा राख्न प्रस्तावित नेपाली राजदूतहरुलाई आग्रह गरेका हुन् ।
आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्दै नेपालमा रहेको लगानीका क्षेत्रका विषयमा सम्बन्धित देशका लगानीकर्ताहरुलाई नेपालसाग जोड्न राजदूतहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा उनले जोड दिए ।
अध्यक्ष अग्रवालले लगानी तथा निर्यात प्रवर्द्धन गर्न देशकेन्द्रित विशिष्ट आर्थिक रणनीति बनाउनुपर्ने, विदेशी लगानीकर्ता तथा स्वदेशी लगानीकर्ताका लागि सबै नेपाली राजदूतावासमा ‘फोकल कन्ट्याक्ट पर्सन’ राख्नुपर्ने बताए ।
कुनै पनि मुलुकसँगको सम्बन्ध राजनीतिकभन्दा आर्थिक सम्बन्ध स्थिर एवं बलियो रहेको विश्वको उदाहरण प्रस्तुत गर्दै उनले व्यवसायका माध्यमबाट देशको ब्राण्डिङ गर्न सकिने बताए । नेपालको ‘कन्ट्री रेटिङ’ भइसकेको र राम्रो रेटिङ पाएकाले नेपालमा आवश्यक क्षेत्रमा लगानी भित्र्याउन सहयोगी बन्न सक्ने उनको विश्वास थियो ।
सन् २०२६ मा नेपाल विकसित मुलुकमा स्तरोन्नति हुने भएकाले देशले पाउँदै आएको सुविधा नघट्ने तथा नेपालको हित हेरेर सौविद्य व्यापार सम्झौता (पीटीए) गर्नुपर्ने उनको भनाइ थियो । परिसंघले उच्च व्यापार घाटा कम गर्न नेपाली वस्तुहरुको प्रवर्द्धन, पर्यटन, सूचना प्रविधि, उद्योग, जलविद्युत्, पूर्वाधारमा लगानी केन्द्रित गर्नुपर्नेमा पनि जोड दिएको छ ।
उक्त अवसरमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राईले देशको प्रतिनिधिको रुपमा राजदूतहरुले नेपाली वस्तुहरुको प्रवर्द्धन, नेपाली व्यवसायीहरुलाई आवश्यक सहजीकरण गर्ने बताए । नेपाली व्यावसायिक क्षेत्रलाई सम्बन्धित मुलुकका लगानीकर्तासँग सम्पर्क स्थापना गर्न, नेपाली वस्तु तथा सेवा निर्यातमा आवश्यक सहजीकरणमा केन्द्रित हुन उनले आग्रह गरे ।
नेपाली राजदूतहरु शंकर शर्मा, सेवा लम्साल, चित्रलेखा यादव, चन्द्रकुमार घिमिरे, सुम्निमा तुलाधर, जंगबहादुर चौहान, प्रा. कपिलमान श्रेष्ठ, प्रकाशमणि पौडेल, शिवमाया तुम्बाहाम्फे, पूर्ण बहादुर नेपाली, नेत्रप्रसाद तिम्सिनालेले नेपाल र नेपालीको हितमा देशको प्रतिनिधिको रुपमा काम गर्ने बताए ।
आर्थिक कूटनीतिलाई हरेक राजदूतहरुले केन्द्रमा राख्नुपर्ने भन्दै आर्थिक विकासका लागि नेपाली निजी क्षेत्रलाई आवश्यक सहजीकरण गर्ने राजदूतहरुको भनाइ थियो ।
