अदुवाको भाउ बढ्दा उत्साहित किसान

गत वर्ष किलोको २० रुपैयाँमा पनि बिक्री नभएको अदुवा यस वर्ष बारीबाटै प्रतिकिलो ५० रुपैयाँमा बिक्री 

मंसिर २३, २०८१

विप्लव महर्जन

Farmers are excited as the price of ginger increases

सल्यान — परम्परागत तरिकाले खेती गर्दै आएका शारदा नगरपालिका–१४ माल्नेटाका ज्ञानबहादुर घर्तीले सात रोपनीमा प्रत्येक वर्ष ८० क्विन्टल अदुवा उत्पादन गर्दै आएका छन् । २०७७ मा प्रतिकिलो २०, २०७८ मा २५ र २०७९ मा २५ रुपैयाँका दरले अदुवा बिक्री गरेका उनले गत वर्ष ३५ रुपैयाँका दरले बिक्री गरेका थिए । 

यस वर्ष बारीबाटै प्रतिकिलो ५० रुपैयाँमा बिक्री भएपछि उनी उत्साहित भएका छन् । अदुवाबाट गत वर्ष ५ लाख आम्दानी गरेका उनले यसपालि ८ लाखभन्दा बढी कमाइ हुने अनुमान गरेका छन् ।

माल्नेटाकै बुद्धिराम गिरीले प्रत्येक वर्ष आफ्नो पाँच रोपनी जग्गामा ६५ क्विन्टलभन्दा बढी अदुवा उत्पादन गर्दै आएका थिए । गत वर्षसम्म ४ लाख जति आम्दानी गर्दै आएका उनले यसपालि अदुवाले भाउ पाएपछि ताजा र बुर्ना अदुवा बिक्री गरेर २ लाखभन्दा बढी कमाएका छन् । 

यस्तै बाग्चौर नगरपालिका–२ खरिबोटका किसान सुरेश ओलीले १० क्विन्टल बीउ लगाएर यस वर्ष ४० क्विन्टल जति उत्पादन गरेका थिए । उनले गत वर्ष सबै अदुवा बिक्री नभएपछि उनले आधाको सुठो बनाएका थिए । गत वर्षसम्म भाउ पाउन कठिनाइ भइरहेका बेला यसपालि उनले घरबाटै ५० रुपैयाँ किलोमा बेचेका छन् । 

चार वर्षपछि यहाँका अदुवा किसानले राम्रो भाउ पाएका हुन् । कोरोना महामारीयता प्रतिकिलो २५ देखि ३० रुपैयाँमाथि जान नसकेको अदुवाको मूल्य यसपालि बढेको हो । यस वर्ष किसानले घरबाटै ५० र बजारमा ७० रुपैयाँ प्रतिकिलोमा बेचिरहेका छन् ।

भारतका अतिरिक्त विभिन्न कम्पनीबाट पनि माग आएपछि किसान खुसी भएका छन् । माल्नेटाका सबै किसानले अदुवा खनेर बीउबाहेक धमाधम बिक्री गरिरहेको अगुवा किसान ज्ञानबहादुर घर्तीले बताए ।

 गत वर्ष मंसिर अन्तिमसम्म बिक्री नभएर त्यत्तिकै थन्किएको अदुवा अहिले घरमा थुपार्न नपरेको घर्तीको भनाइ छ । ‘किसानले उत्पादन गरेको अदुवा गत वर्षसम्म सुर्खेतस्थित एक प्रशोधन केन्द्रमा जान्थ्यो । यसपालि सिधै काठमाडौं, नेपालगन्जतिर गएको छ,’ उनले भने, ‘अदुवाले भाउ पाएपछि हरेक किसानले ५० हजारदेखि २ लाख बढी आम्दानी गरेका छन् ।’ 

गत वर्षसम्म बाहिरबाट आउने खरिदकर्ताको पर्खाइमा बस्नुपर्ने बाध्यता रहेकामा यसपालि कुर्नु नपरेको सिद्धकुमाख गाउँपालिका–५ का सुकवीर खड्काले जनाए । ‘सात रोपनीमा लगाएको अदुवा आठ क्विन्टल जति बीउ राखेर २० क्विन्टल प्रतिकिलो ४५ रुपैयाँका दरले बेचें । पोहोर ५० हजार कमाइ भएको थियो, यसपालि एक लाख हात परेको छ,’ उनले भने, ‘बिक्रीका लागि विगतका वर्ष जस्तो बजार घुम्नुपरेन । एउटै खरिदकर्ता आएर घरबाटै सबै लगे ।’ 

अदुवाले भाउ पाएपछि बल्ल मिहिनेतको फल मिलेको अनुभूति भएको उनको भनाइ छ । यस वर्ष अदुवाले भाउ पाएपछि जीविकोपार्जनमा सहज भएको बन्गाड कुपिण्डे–९ सेराका भद्रबहादुर बुढाथोकीले बताए । ‘गत वर्षसम्म स्थानीय खरिदकर्तालाई २० रुपैयाँ किलोमा लैजाऊ भन्दा मान्दैनथे । डोकोमा बोकेर झन्डै अढाई घण्टाको दूरी पार गरी सदरमुकाम खलंगामा लगेर बेच्नुपर्थ्यो । स्थानीय खरिदकर्ताले अदुवा राखेपछि कि ६ महिनापछि पैसा दिन्थे, कि खाद्यान्नमा पैसा कटाउँथे । यसपालि गत वर्ष जस्तो समस्या भएन,’ उनले भने । 

गत वर्षसम्म जिल्लामा २२ हजार टन उत्पादन भएर ४१ करोडको ४ हजार ८ सय ३१ टन अदुवा निकासी भएको कृषि विकास कार्यालय सल्यानका निमित्त प्रमुख महेश आचार्यले जनाए ।

यसपालि उत्पादनमा केही कमी आए पनि गत वर्षकै हाराहारीमा निकासी हुने र मूल्य बढेकाले ४३ करोड पुग्ने अनुमान गरिएको छ । देशमै सबैभन्दा राम्रो बोसे अदुवा उत्पादन हुने माल्नेटा र जिल्लाभरका किसानले प्रत्येक वर्ष १ हजार ४ सय २० हेक्टर जग्गामा अदुवा लगाउँदै आएको कार्यालयको तथ्यांक छ । 

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully