विद्यार्थीको बैंक खाता खोल्दै आँबुखैरेनी

करिब ३ सय विद्यार्थीको खाता खोलिसकियो, गाउँपालिकाले छुट्यायो २५ लाख 

मंसिर २२, २०८१

सम्झना रसाइली

Ambukhaireni opening a student's bank account

तनहुँ — बालबालिकालाई बचत गर्ने बानीको विकास गराई अध्ययनमा सहज बनाउने उद्देश्यले आँबुखैरेनी गाउँपालिकाले विद्यार्थीको बैंक खाता खोलिदिएको छ । गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रममै समावेश गरी मातहातका सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीको बैंक खाता खोलिएको हो । 

शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘विद्यार्थी बचत खाता’ सञ्चालन गरी विद्यार्थीका नाममा बैंक खाता खोलिदिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।

कार्यक्रममार्फत सानैदेखि बचत गर्ने बानीको विकास, रुचि तथा क्षमताअनुसारको उच्च शिक्षाको पहुँच र उद्यमशील विकास गरी सुनौलो भविष्य निर्माणका लागि सहयोग पुर्‍याउने उद्देश्य रहेको चुमानको भनाइ छ । 

गाउँपालिकाले मंसिर ६ मा आँबुखैरेनी–३ स्थित रामशाह माध्यमिक विद्यालयबाट कार्यक्रम सुरु गरेको थियो । हालसम्म करिब ३ सय विद्यार्थीको खाता खोलिएको गाउँपालिकाले जनाएको छ ।

‘हामीले कार्यक्रम सुरु गर्दा गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राको मात्रै बैंक खाता खोलिदिने गरी अघि बढेका थियौं,’ उनले भने, ‘अहिले सामुदायिक र संस्थागतमा अध्ययनरत छात्रा र छात्रकै खाता खोलिदिने भएका छौं ।’ 

सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई एक हजार रुपैयाँ बचत मौज्दातसहित निःशुल्क विद्यार्थी बचत खाता खोलिदिने चुमानको भनाइ छ । तर सामुदायिकका छात्र र संस्थागत विद्यालयका छात्रा र छात्रले भने आफैंले एक हजार रुपैयाँ तिर्नुपर्छ । ‘कक्षा १ देखि १० सम्मका विद्यार्थीको विद्यार्थी बचत खाता खोलिदिन्छौं । यसले उनीहरूमा सानैदेखि बचत गर्नुपर्छ भन्ने भावनाको पनि विकास हुन्छ,’ । 

१२ कक्षाबाट उत्तीर्ण भएपछि उच्च शिक्षा हासिल गर्न बचतले सहयोग हुने, पढ्दै–कमाउँदै कार्यक्रमलाई पनि यसैसँग जोड्ने र बैंक तथा गाउँपालिकाले मिलेर विद्यार्थीलाई केही तालिम दिने उद्देश्य रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताए । 

रामशाह माविबाट सुरु भएको यो कार्यक्रम सबै वडाका सामुदायिक विद्यालयमा सञ्चालन गरिने शर्माको भनाइ छ । गाउँपालिकामा करिब ७ हजार विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीको खाता कुमारी बैंकसँगको समन्वयमा खोलिनेछ । बैंकले २० हजार रुपैयाँ बराबरको स्वास्थ्य बिमाको सुविधा दिने उनले जनाए ।

आँबुखैरेनी गाउँपालिकाका ६ वटा वडामा २४ सामुदायिक र ८ संस्थागत गरी ३२ विद्यालय छन् । ती विद्यालयमा करिब ७ हजार १ सय ६७ जना विद्यार्थी अध्ययनरत छन् । 

गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत २ हजार ५ सय छात्रालाई निःशुल्क बैक खाता खोलिदिने भएको छ । यसका लागि गाउँपालिकाले २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यसअघि गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी, शिक्षकका छोराछोरी सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरिसकेको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा पढाउने परिवारलाई कर छुट दिने नीति पनि ल्याएको छ ।

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully