काठमाडौँ — चीनसँग सम्बन्धित रहेको विश्वास गरिएको ‘साल्ट टाइफुन’ नामक ह्याकिङ समूहले अमेरिकाका भेरिजोन, एटीएन्डटी, लुमेन, टी-मोबाइलसहित आठवटा प्रमुख दूरसञ्चार कम्पनीहरूलाई लक्ष्य गरी गम्भीर साइबर आक्रमण गरेको छ । हाल कतिपय सेवा प्रदायकले आइफोन र एन्ड्रोइडका प्रयोगकर्ताहरूलाई एसएमएस सन्देश नपठाउन भनेका छन् ।
यो आक्रमणका क्रममा ह्याकरहरूले अमेरिकी उच्च पदस्थ सरकारी अधिकारीहरू र कैयौं प्रख्यात राजनीतिक व्यक्तिहरूका अत्यन्तै व्यक्तिगत एसएमएस सन्देश र फोन कुराकानीसम्म पहुँच बनाएको पाइएको छ । एक अमेरिकी सिनेटरले यो घटनालाई अमेरिकी टेलिकम इतिहासकै सबैभन्दा ठूलो ह्याकिङ बताएका छन् ।
अमेरिकी राष्ट्रपतीय कार्यालय ह्वाइट हाउसले यो आक्रमण सीमित व्यक्तिहरूतर्फ मात्र लक्षित रहेको भन्दै घटनाको पुष्टि गरेको छ । तथापी यो खुलासाको प्रभाव विश्वव्यापी सञ्चार प्रणालीहरूमा फैलिएको छ । घटनालगत्तै अमेरिकी अधिकारीहरूले दूरसञ्चार कम्पनीहरूको नेटवर्क सुरक्षामा उल्लेख्य सुधार र वार्षिक जोखिम व्यवस्थापन प्रोटोकल लागू गर्ने लगायतका बाध्यकारी नियमनको प्रस्ताव गरेका छन् ।
यसले भविष्यमा हुनसक्ने यस्तोखाले आक्रमणहरूलाई रोक्ने र टेलिकम सुरक्षा पूर्वाधारहरूमा सुधार ल्याउन मद्दत गर्ने उनीहरूको धारणा छ ।
ह्याकरहरूले पूर्व र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प, उनका उपराष्ट्रपति उम्मेद्वार जेडी भान्स, वर्तमान उपराष्ट्रपति कमला ह्यारिशको चुनाव प्रचार अभियानका कतिपय प्रमुख व्यक्तिहरूसम्मै पहुँच बनाएको अनुमान गरिएको छ ।
साइबर सुरक्षा र उदयमान प्रविधिसम्बन्धी राष्ट्रिय सुरक्षा उप-प्रमुख सल्लाहकार एनी न्युबर्गरले यस घटनाको गम्भीरतालाई पुष्टी गर्दै गर्दै भनेकी छिन्, 'कुनै क्लासिफाइड वा अत्यन्तै गोप्य सञ्चार सामग्रीमा ह्याकरहरूको पहुँच भएको वा तिनमा क्षति पुगेको छैन, तर यो घटनाबाट प्रभावित कम्पनीहरूमा विद्यमान साइबर सुरक्षाका कमजोरीहरू पूर्णरूपमा सम्बोधन नगरेसम्म थप क्षतिको जोखिम कायम रहन सक्छ ।'
सञ्चारमाध्यमहरूले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई यस घटनाबारे जानकारी दिइएको र यो समस्याको समाधान राष्ट्रिय प्राथमिकताको विषय बनेको बताएका छन् । अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई)का एक वरिष्ठ अधिकारीले यो विषयमा अनुसन्धान जारी रहेको बताउँदै चीनसम्बद्ध मानिएका ह्याकरहरूको प्रभावित नेटवर्कमा रहेको पहुँच पूर्ण रूपमा हटाउन टेलिकम कम्पनीहरूसँग सहकार्य भइरहेको जानकारी दिएका छन् ।
'चीनसँग सम्बन्धित साइबर आक्रमणकारीहरूले प्रमुख व्यावसायिक दूरसञ्चार सेवा प्रदायकलाई लक्षित गरेर संवेदनशील सूचना र जानकारीमा पहुँच बनाउन र साइबर जासुसीमा संलग्न हुन खोजिरहेका छन्,’ एफबीआईको साइबर डिभिजनका सहायक निर्देशक ब्रायन भोर्नड्रानको भनाइ छ ।
घटनाबाट प्रभावित कतिपय सेवा प्रदायक अमेरिका मात्र नभएर दर्जनौं अन्य देशमा समेत कार्यरत रहेकाले यो घटनाको प्रभाव विश्वव्यापी हुने प्रविधि विज्ञहरूको राय छ । टेलिकम क्षेत्रमा चुस्त र बलियो साइबर सुरक्षा प्रणाली आवश्यकता र डिजिटल संरचनामा भएका कतिपय कमजोरीहरूप्रति सचेत गराउने यो ह्याकिङ घटनाले राष्ट्रिय सुरक्षा र टेलिकम क्षेत्रको साइवर व्यवस्थापनसम्बन्धी खर्च र दायित्व बढाउन सचेत गराएको उनीहरूको धारणा छ ।
कतिपय विवरण अनुसन्धानकै क्रममा रहे पनि यस विषयमा छलफल गर्न अमेरिकी सिनेटको एक समितिको बैठक डिसेम्बर ११ को लागि बोलाइएको छ । साल्ट टाइफुनको क्षमता र कामको तरीका लगायतका आधारमा अमेरिकी सरकारले उक्त ह्याकिङ समूहलाई चिनियाँ सरकारको सहयोग र समर्थन रहेको बताउने गरेको छ । चीन सरकारले भने कुनै पनि खालको ह्याकिङ घटनामा आफ्नो समर्थन नरहेको भन्दै त्यसलाई निरन्तर नकार्दै आएको छ ।
