कास्की — पोखराको पहिचान बनाएको जेठोबुढो धानलाई अब खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किन्ने भएको छ । पोखरा महानगरपालिका र खाद्यबीच धान खरिद गर्ने विषयमा सम्झौता भएको छ ।
पोखरा महानगरभित्र उत्पादन हुने कृषि उपज खरिद सम्बन्धमा सम्झौता गरिएको नगर प्रमुख धनराज आचार्यले जनाए ।
सम्झौताअनुसार कम्पनीले महानगर क्षेत्रका किसानले उत्पादन गरेको स्थानीय रैथाने धान बाली जेठोबुढो खरिद समितिले तोकेको मूल्यमा किन्नेछ । यसका लागि महानगरले वास्तविक कृषक पहिचान र खरिद समितिले तोकेको परिमाणमा धान खरिद गर्न कृषकलाई कुपन उपलब्ध गराउनेछ ।
यो सम्झौता ०८२ आसार मसान्तसम्म लागू हुनेछ । किसानले उत्पादन गरेको धान स्वयं महानगरले तोकेको स्थान वा पृथ्वीचोक र बिरौटामा रहेको कम्पनीको गोदामसम्म लैजानुपर्ने महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए ।
जेठोबुढोसहित अन्य ३५ प्रकारका कृषि उपजको पनि समर्थन मूल्य तोकेर महानगरले किसानका लागि न्यूनतम मुनाफासमेतको मूल्य सुनिश्चित गरेको छ ।
स्थानीय उत्पादन प्रवर्द्धन अभियानअन्तर्गत कृषि उपजको ब्रान्डिङ तथा बजारीकरण र रैथाने हाटबजार पनि सञ्चालन कडरियाको भनाइ छ ।
‘पोखरा महानगर क्षेत्रको करिब ४ हजार हेक्टर क्षेत्रफलमा जेठोबुढो लगाइएको छ,’ उनले भने, ‘करिब १४ हजार टन उत्पादन हुने अनुमान छ ।’ महानगरले तोकेको समर्थन मूल्यका आधारमा जेठोबुढो धान प्रतिक्विन्टल ९ हजार ५ सय र खाद्यले १० हजार प्रतिक्विन्टलमा खरिद गर्दै आएको छ ।
