काठमाडौँ — दुईतर्फी यात्रुको माग नभएपछि कतार एयरवेजले दोहा–भैरहवा उडान स्थगन गरेको छ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता दिपक ब्रजाचार्यका अनुसार, कतारले अन्तिम उडान मंसिर १५ गते शनिबार गरेको थियो ।
‘शनिबारपछि दोहाबाट कतार एयरवेजको उडान भएको छैन,’ प्रवक्ता बज्राचार्यले कान्तिपुरसँग भने ।
दसैं, तिहार, छठ लगायतका चाडपर्व र शरदकालीन पर्यटकीय सिजन सकिएसँगै नेपालबाट फर्किनुपर्ने यात्रुको चापका आधारमा कतारले १९ दिनअघि (कात्तिक २७ गते) दोहाबाट भैरहवा उडान गरेको थियो । दोहाबाट भैरहवा टचडाउन अनुमति लिई कतारले त्यहाँबाट काठमाडौं आई दोहा फर्किने उडान गरेको थियो । ‘यो रुटमा १९ दिन कतारले दैनिक उडान गर्दा दुईतर्फी सय हाराहारी यात्रु आवागमन भयो,’ प्रवक्ता बज्राचार्यले भने ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले कतारले भैरहवामा उडान गर्नेबारे अनुमतिका लागि पत्राचार नगरेको जनाएको छ । ‘पहिलोपटक दोहा–भैरहवाका लागि कतारले १२ नोभेम्बरदेखि ३० नोभेम्बरसम्मको उडान अनुमति लिएको थियो,’ प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले भने,‘नोभेम्बरपछि डिसेम्बर महिनाका लागि यसले अनुमति मागेको छैन ।’
कतारले भैरहवामा खटाइएका कर्मचारी पनि त्यहाँबाट काठमाडौं फिर्ता बोलाइसकेको छ ।
पर्यटकीय सिजनमा दैनिक दोहा–काठमाडौं चारवटा उडान गर्ने कतारले यतिबेला काठमाडौंमा दुइटा उडानमात्रै गरिरहेको छ ।
यसैबीच यात्रुको चाप नभएका कारण थाइल्यान्डबाट आउने थाई एयर एशियाले पनि भैरहवाको उडान संख्या कटौती गरेको छ । प्रवक्ता ब्रजाचार्यका अनुसार, सातामा सोम र बिहीबार बैंकक–भैरहवा उडान गरिरहेको थाई एयर एशियाले सोमबारको उडानलाई बिहीबारसँग मर्ज गरेको छ ।
भैरहवामा शनिबारसम्म कतारबाहेक थाई एयर एशिया, फ्लाई दुबई, जजीरा र नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेका थिए । शनिबारपछि भैरहवामा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाको संख्या चारमा झरेको छ । यो विमानस्थलबाट हाल दुबईका लागि भने यात्रुहरु रहेको विमानस्थल कार्यालयले जनाएको छ । दुबईबाट नेपाल दैनिक ६०–७० यात्रु फर्किरहेका छन् ।
