फोहोरबाट मल र मोहर

सफा ऊर्जाले खैरहनी र रत्ननगर नगरपालिकाभित्रको नकुहिने ठोस फोहोर पुनःप्रयोग गर्छ, कुहिने फोहोरबाट मल बनाउँछ ।

मंसिर १६, २०८१

रमेशकुमार पौडेल

Manure and seal from waste

चितवन — फोहोरमैला व्यवस्थापन स्थानीय तहका लागि टाउको दुखाइको विषय बन्ने गरेको छ । चितवन खैरहनी नगरपालिका–४ भुवनेश्वर टोलमा रहेको सफा ऊर्जा उत्पादन प्रालिले भने फोहोरलाई कृषि उब्जाउ बढाउने मल र मोहरमा बदल्दै आएको छ । 

सफा ऊर्जाले दुई वर्षदेखि खैरहनी र रत्ननगर नगरपालिकाभित्रको नकुहिने ठोस फोहोरको पुनःप्रयोग र कुहिने फोहोरबाट मल बनाउने गरेको छ । यी दुई नगरपालिकामा दिनहुँ संकलन हुने १८ टन फोहोर सफा ऊर्जाले खपत गरेको हो ।

‘हामीले कुहिने फोहोर र नकुहिने ठोस पदार्थ सिसा जस्ता अन्य फोहोर संकलन हुने दिन छुट्टाछुट्टै तय गरेका छौं,’ सफा ऊर्जाका सञ्चालकमध्येका योगेन्द्र केसीले भने । कुहिने फोहोरबाट प्रांगारिक मल उत्पादन हुँदै आएको छ । कम्पनीले दुईवटा ब्रान्डमा मल उत्पादन गर्छ । 

एउटा मल प्रांगारिक प्रमाणित भएको र अर्को प्रमाणीकरणको प्रक्रियामा रहेको केसीले जनाए । वर्षको पाँच लाख किलो मल उत्पादन गर्न सक्ने क्षमता रहे पनि हाल आधा मात्रै उत्पादन हुने गरेको उनको भनाइ छ । अहिले संकलन हुने फोहोरमध्ये १० प्रतिशत मात्रै मल बनाउन मिल्ने कुहिने फोहोर हुने गरेको छ । सफा मलमा माटोलाई आवश्यक १६ प्रकारका सूक्ष्म पोषकतत्त्व रहेको उनले बताए । 

‘अन्य ठोस फोहोर पुनःप्रयोग या प्रशोधन हुन्छ । प्लास्टिकका बोतल, प्लास्टिक झोला, धातु र कागज प्रशोधन उद्योगका कच्चा पदार्थका रूपमा बिक्री हुन्छन् । कपडाबाट रेसा निकाल्छौं । रबर पनि पुनःप्रयोगमा आउन सक्छ,’ केसीले भने । फुटेका सिसाको धूलो बनाएर कंक्रिट ब्लक बनाउने गरेको पनि उनले जनाए । धेरै फोहोर पुनःप्रशोधन या प्रयोगमा आउने र २० प्रतिशत मात्रै ल्यान्डफिल साइटमा पठाउनुपर्ने उनको भनाइ छ । 

कम्पनीले फोहोर व्यवस्थापनका साथै कृषि र मलका लागि काम गरेको केसीले बताए । ७० जना युवाले १२ करोड रुपैयाँ जुटाएर कम्पनी खोलेको उनले जनाए । ‘फोहोरबाट फरक–फरक वस्तु छुट्याउन, सफा गर्न औजार उपकरण किनेका छौं । प्लान्ट राख्न जमिन किनेका छौं । अझ व्यवस्थित र स्वचालित रूपमा काम गर्न लगानी थप्दै छौं । २१ करोड रुपैयाँसम्म लगानी पुग्छ होला,’ केसीले भने । 

फोहोरमैला व्वस्थापनको काम गर्दा १ सय ३० जनाले रोजगारी पाएको सफा ऊर्जाका सेफ्टी म्यानेजर वसन्त रानाको भनाइ छ । फोहोर प्रशोधन गरी तयार गरेको प्रांगारिक मल प्रभावकारी भएको उदाहरण दिन चार बिघा जमिनमा खेती सुरु गर्न लागेको पनि उनले बताए । ‘हामीले सयपत्री फूल रोपेर यही मल राख्यौं । परिणाम निकै राम्रो आयो । अब प्याज, लसुन र मकै लगाउँदै छौं,’ कम्पनीका कृषि हेर्ने फणीन्द्र न्यौपानेले भने । 

फोहोर व्यवस्थापन दिगो र प्रभावकारी बनाउन पालिकाहरूसँग मिलेर काम गर्न खोजेको केसीले जनाए । ‘यो खर्चिलो पनि छ । लगानीअनुसार प्रतिफल नआए पनि फोहोर व्यवस्थापनका लागि प्रभावकारी काम भएको छ । यसले फोहोरलाई आर्जनमा बदलेको छ । वातावरणमैत्री पनि छ । प्रभावकारी रूपमा दिगो रूपमा लैजान पालिकाहरूसँग सहकार्य गर्न आवश्यक छ,’ केसीले भने । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully