शरद्कालीन हिमाल आरोहणलाई ७२ देशका आरोही नेपालमा

अमेरिकाबाट १३१, बेलायतबाट १०५, फ्रान्सबाट ८३, चीनबाट ७९, जर्मनीबाट ७७, रसियाबाट ७५, जापानबाट ६४, चेक रिपब्लिकबाट ६२, स्पेनबाट ५१ र अस्ट्रेलियाबाट ५० आरोही

मंसिर १६, २०८१

कान्तिपुर संवाददाता

Climbers from 72 countries in Nepal for autumn mountain climbing

काठमाडौँ — वसन्तकालीन सिजनपछिको आकर्षक मानिने शरद्कालीन हिमाल आरोहणका लागि ७२ वटा देशका १ हजार २ सय ५१ नागरिक नेपाल आइपुगेका छन् । पूर्वमा संखुवासभामा पर्ने मकालु हिमालदेखि पश्चिममा दार्चुलामा पर्ने अपीसम्मका ४६ हिमाल आरोहण गर्न यस पटक ७२ वटा देशबाट आरोही नेपाल आएको पर्यटन विभागले शुक्रबार जारी गरेको तथ्यांकमा उल्लेख छ । 

यस पटक सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकाबाट १ सय ३१, बेलायतबाट १ सय ५, फ्रान्सबाट ८३, चीनबाट ७९, जर्मनीबाट ७७ रसियाबाट ७५, जापानबाट ६४, चेक रिपब्लिकबाट ६२, स्पेनबाट ५१ र अस्ट्रेलियाबाट ५० आरोही नेपाल आएका छन् । 

शरद्कालीन सिजनको आरोहणका लागि २ सय ९२ महिला र ९ सय ५९ पुरुष आरोही रहेको विभागका अधिकृत सन्देश मास्केले जनाए । विदेशीबाहेक ४३ जना नेपाली पनि शरद्यामको हिमाल आरोहणमा जाँदै छन् । बाँकी पृष्ठ ८

विभागले शुक्रबारसम्म हिमाल आरोहण अनुमतिबाट ८ करोड ५८ लाख सलामी दस्तुर संकलन गरेको छ । यस सिजनमा सगरमाथा आरोहणमा भने कोही गएका छैनन् । अरू ८ हजार अग्ला मनास्लु, धौलागिरि, मकालु र चोयुसहितका ४६ हिमालमा १ सय ५९ वटा आरोहण दल गएका छन् । 

यस पटक सबैभन्दा धेरै अमादब्लममा ४ सय ८१, मनास्लुमा ३ सय ८, हिमलुङमा १ सय ४४, वरुणसेमा ५१, थापापिक धम्पुसमा ३२, पुथाहिमचुलीमा २८, सारीबुङमा २१ जना आरोही पुगेका थिए । 

 नेपालले १२ महिनामा तीन सिजन हिमाल आरोहण खुला गर्दै आएको छ । वसन्त, सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा पर्ने शरद् र डिसेम्बर, जनवरी, फेब्रुअरीमा पर्ने जाडो–गर्मीयाम गरी तीन सिजनमध्ये सबैभन्दा धेरै वसन्तयाम र सबैभन्दा कम जाडो–गर्मीयाममा आरोहण हुने गरेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully