१५ वर्षमा १८ किलोमिटर सडक कालोपत्र : स्थानीयका घर भत्काइए, मुआब्जा आएन

मंसिर १७, २०८१

गगनशिला खड्का

18 km road blacked in 15 years: houses of locals were demolished, no compensation was received

गुल्मी — बुद्ध जन्मस्थल लुम्बिनीलाई ढोरपाटन सिकार आरक्ष जोड्ने सालझण्डी–ढोरपाटन सडक ट्र्याक खुलेको १५ वर्षमा जम्मा १८ किलोमिटर मात्र कालोपत्र भएको छ । संघीय सरकारले बजेटमा प्राथमिकता नदिएपछि १९७ किलोमिटर सडकमध्ये १५ वर्षमा जम्मा १८ किलोमिटर कालोपत्र भएको आयोजना कार्यालयले जनाएको छ । 

लुम्बिनी र गण्डकी प्रदेशका ५ जिल्ला रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान र बागलुङलाई प्रत्यक्ष जोड्ने र रुकुम पश्चिमलगायतका जिल्लाका बासिन्दालाई समेत लाभ पुग्ने गरी २०६६ सालदेखि उक्त सडक निर्माण थालिएको हो ।

उक्त सडकले विशेषगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा बुद्ध जन्मस्थल लुम्बिनीबाट ढोरपाटन सिकार आरक्षलाई छोटो दूरीमा जोड्ने भएकोले पर्यटकीय हिसाबले महत्त्वपूर्ण छ । साथै बागलुङको ढोरपाटन, गुल्मीको मालिका, मदानेलगायतका आलु तथा प्यूठानको झिमरुक तथा अर्घाखाँचीका विभिन्न पालिकामा उत्पादन हुने कृषि उपजलाई तराईसम्म बजारको पहुँचका लागि पनि सडक महत्त्वपूर्ण छ ।

सडक निर्माण थालेको १५ वर्षमा जम्मा १८ किलोमिटर मात्र कालोपत्र र ८३ किलोमिटर ग्राभेल भएको परियोजनाले जनाएको छ । उक्त सडकका १० वटा पुल निर्माण गर्नुपर्ने भए पनि अहिलेसम्म जम्मा ८ वटा पुल निर्माण भएको र २ वटा पुनः डीपीआर गर्नुपर्ने अवस्था आएको सडक आयोजनाकी सूचना अधिकारी कृष्टिना थापाले बताइन् । ‘२ वटाको डिजाइन रिभ्यु गर्नुपर्ने भएकोले माथि लेखेर पठाइएको छ,’ उनले भनिन् । 

18 km road blacked in 15 years: houses of locals were demolished, no compensation was receivedसुरुमा ८ अर्बको डीपीआर भएको सडकमा सरकारले हरेक वर्ष अत्यन्तै न्यून बजेट विनियोजन गर्ने गरेको कारण निर्माण सुस्त गतिमा रहेको सडक आयोजना प्रमुख गागलबहादुर भण्डारीले बताए । बजेट विनियोजनको हिसाबले यो आयोजना सम्पन्न गर्न वर्षौं लाग्ने आयोजना प्रमुख भण्डारीले बताए । ‘यो वर्ष जम्मा यो वर्ष ४५ करोडमात्रै बजेट विनियोजन भएकोमा १७ करोड गतवर्षको बाँकी भुक्तानीमै सकियो, अब काम हुने जम्मा २८ करोडबाट हो,’ उनले भने, ‘यो हिसाबले बजेट आउने हो कसरी काम हुन्छ ?’ उनका अनुसार आयोजनाको बहुवर्षीय ठेक्काअन्तर्गत बहुवर्षे ठेक्काको साढे २ अर्ब रुपैयाँ दायित्व बाँकी नै छ ।

यो वर्ष रुपन्देहीको कञ्चनखोलादेखि पाल्पाको खुर्सानेसम्म १३.५ किमी, खुर्सानेदेखि अर्घाखाँचीको पटौटी सम्मको २२ किलोमिटर डेढ अर्ब, अर्घाखाँचीको माटेदेखि भण्डारा र गुल्मीको पूर्कोटदहदेखि सिर्सेनीसम्म २६ किलोमिटरमा १ अर्बको बहुवर्षे ठेक्का लागेर काम भइरहेको छ । त्यस्तै गुल्मीको सिर्सेनीदेखि अर्खाबाङसम्म ८.३ किलोमिटर ३४ करोडको ठेक्का लागेर काम सुरु हुने तयारीमा रहेको छ । तर धमाधम काम भइरहेको सडकमा ठेकेदारलाई भुक्तानी दायित्वको बजेट पनि नआउँदा समस्या भएको आयोजना कार्यालयको जनाएको छ । 

ठेकेदार कम्पनीले समयमै काम नगर्दा झन् ठूलो समस्या छ । बागलुङको बुर्तिबाङदेखि ढोरपाटनको फल्लेघरसम्म २२ किलोमिटर ग्राभेल गर्न ठेक्का लिएको स्वच्छन्द–ओम बुद्ध जेभीले तोकिएको समयमा काम सम्पन्न नगर्दा यातायात आवागमनमा ठूलो समस्या छ । ३० महिनामा काम सम्पन्न गर्ने गरी २०७८ कात्तिक ५ गते भएको ठेक्का सम्झौता गत वैशाखमै सकिएको छ । तर पुस मसान्तसम्मका लागि थप गरिएको म्यादमा समेत ठेकेदारले ३० प्रतिशत मात्रै काम गरेकोले ठेक्का तोड्ने तयारी भएको आयोजना प्रमुख गागलबहादुर भण्डारीले बताए । ‘ठेकेदार कम्पनीको जमानत तानेर पटक–पटक पत्र पठाइ ठेक्का तोड्ने चेतावनी दिएपछि बल्ल काम सुरु भएको छ,’ सूचना अधिकारी थापाले भनिन् । 

18 km road blacked in 15 years: houses of locals were demolished, no compensation was receivedसडक निर्माणका लागि गुल्मीको मदाने गाउँपालकिा–७ पुर्कोटदह, म्यालपोखरीलगायतका स्थानमा मुआब्जा विवाद लामो समयदेखि रहेको छ । गत वर्ष मात्रै गुल्मीमा स्थानीय सहमतिमा आएर घरहरू भत्काउन सुरु भए पनि समयमै मुआब्जा आउन नसकेपछि ठूलो समस्या भएको छ । 

स्थानीयलाई मुआब्जा दिन २ करोड बजेट आवश्यक पर्नेमा जम्मा १५ लाख रुपैयाँमात्र आएको आयोजना प्रमुख भण्डारीले बताए । गुल्मीको मदाने गाउँपालिका ६, ५ र २ नम्बरमा ७६ वटा घरधुरीका लागि ३ करोड ८० लाख रुपैयाँ दिनुपर्नेमा यो वर्ष १ करोड मात्र आएको र अब २ करोड ८० लाख बाँकी रहेको आयोजनाका लेखा अधिकृत योगेश पन्थीले बताए । 

विकासका लागि बाधक नबन्ने भनेर आफूहरूले घर भत्काउन दिएपनि मुआब्जा किस्ता किस्तामा दिने गर्दा समस्या भएको स्थानीयको भनाइ छ । नालीसहित ११ मिटर चौडाइको उक्त सडक निर्माणका लागि प्रतिकिलोमिटर करिब ८/९ करोड रुपैयाँ लाग्ने आयोजना कार्यालयका इन्जिनियरहरू बताउँछन् । उक्त हिसाबअनुसार सडक आयोजना सम्पन्न गर्नका लागि १७ अर्बभन्दा बढी रकम लाग्ने अनुमान छ । तर वार्षिक ३०/४० करोडका दरले मात्र बजेट विनियोजन हुँदा सडक निर्माण सम्पन्न गर्न वर्षौं लाग्ने देखिन्छ ।

गगनशिला खड्का कान्तिपुरकी गुल्मी संवाददाता हुन् ।

Link copied successfully