बक्यौता नतिर्ने उद्योगको सेयर रोक्का गर्न कम्पनी रजिष्ट्रारलाई विद्युत् प्राधिकरणको पत्र

मंसिर १२, २०८१

कान्तिपुर संवाददाता

Electricity authority's letter to company registrar to withhold shares of non-paying industries

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको अवधिमा डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेको बक्यौता नतिर्ने ३४ उद्योगको सेयर रोक्का गर्न कम्पनी रजिष्ट्रारको कार्यालयलाई पत्राचार गरेको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार रजिष्ट्रारको कार्यालयलाई पत्राचार गर्दै बक्यौता नतिर्ने उद्योगको सेयर कारोबार रोक्का गर्न भनेका हुन् । 'विद्युत् महसुल बापतको बक्यौता सार्वजनिक राजस्व भएका कम्पनीको अन्य कुनै कम्पनीमा सेयरमा लगानी भएको भए उक्त कम्पनीको शेयर एवम् विद्युत् महसुल बक्यौता राख्ने कम्पनीको सञ्चालकको उक्त कम्पनीमा सेयर कुनै पनि प्रकारले हक हस्तान्तरण गर्न र धितोबन्धकी दिन नपाउने गरी रोक्का गरी विद्युत् महसुलबापतको बक्यौता सार्वजनिक राजस्व रकम असुलीको लागि आवश्यक सहयोग गरिदिनुहुन अनुरोध छ,' घिसिङले पठाएको पत्रमा उल्लेख छ । 

मन्त्रिपरिषद्को कात्तिक २५ को निर्णय र विद्युत् नियमन आयोगको मंसिर ११ को निर्देशनअनुसार घिसिङले कम्पनी रजिष्ट्रारको कार्यालयलाई बक्यौता नतिर्ने उद्योगको सेयर कारोबारमा रोक लगाउन पत्राचार गरेका हुन् । आयोगले नेपाल विद्युत् प्राधिकरणले बक्यौता असुलीको लागि उद्योगको विद्युत् विच्छेदको बाहेकका कारबाही गर्न निर्देशन दिएको थियो ।  

Electricity authority's letter to company registrar to withhold shares of non-paying industries

कान्तिपुर

Link copied successfully