गुरुयोजनामा काठमाडौं लाइन (बनेपा, धुलिखेल, कोटेश्वर, भृकुटीमण्डप भएर थानकोट), पाटन लाइन (गोदावरीदेखि भृकुटीमण्डप, बुढानीलकण्ठ), विष्णुमती लाइन (दक्षिणकाली, चोभार, बल्खु, टंकेश्वर, नयाँ बसपार्क, धर्मस्थली), चक्रपथ लाइन (रिङरोड आसपास) र भ्याली लाइन (आउटर रिङरोड) प्रस्ताव
लन्डन — बेलायतका इन्जिनियरहरूले काठमाडौं उपत्यकामा मेट्रो रेल चलाउन सकिने विभिन्न आधार प्रस्तुत गरेका छन् । ‘इन्स्टिच्युसन अफ सिभिल इन्जिनियर्स’ र ‘सोसाइटी अफ नेप्लिज इन्जिनियर्स यूके’ ले गत बुधबार आयोजना गरेको एक कार्यक्रममा बेलायती र नेपाली इन्जिनियरले यसको सम्भाव्यता र दीर्घकालीन प्रभावसहित गुरुयोजनाबारे छलफलसमेत गरे ।
काठमाडौंको ट्राफिक चाप घटाउन, क्षेत्रीय सम्पर्क बढाउन, वातावरणीय प्रदूषण घटाउन, सहरी विकास, रोजगारी र अर्थतन्त्र सुधारका लागि रेल जरुरी भएको मेट्रो रेल विकासको गुरुयोजना सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका सिभिल इन्जिनियर डा. विनोदलाल अमात्य बताउँछन् । ‘यसले सहर पुनर्जागृत (अर्बन रि–जेनेरेसन) पनि हुन्छ । मोबिलिटी बढेपछि उत्पादनशीलता पनि बढ्छ,’ इन्स्टिच्युसन अफ सिभिल इन्जिनियर्सका फेलोसमेत रहेका उनले कान्तिपुरसँग भने ।
गुरुयोजनामा काठमाडौं उपत्यकामा पाँच लाइन– काठमाडौं लाइन (बनेपा, धुलिखेल, कोटेश्वर, भृकृटीमण्डप भएर थानकोट), पाटन लाइन (गोदावरीदेखि भृकुटीमण्डप, बुढानीलकण्ठ), विष्णुमती लाइन (दक्षिणकाली, चोभार, बल्खु, टंकेश्वर, नयाँ बसपार्क, धर्मस्थली), चक्रपथ लाइन (रिङरोड आसपास) र भ्याली लाइन (आउटर रिङरोड) प्रस्ताव गरिएको छ ।
यो कुल १९२.५ किमि लामो हुनेछ भने ८५ किमि भूमिगत टनेल र १०७.५ किमि ओभरहेड (जमिनमाथि) हुनेछ । यसमा अन्डरग्राउन्ड स्टेसन ३९ र ओभरग्राउन्ड स्टेसन ४९ रहनेछन् । ३६.५ किमि दूरीको काठमाडौं लाइन बनाउन २.६ बिलियन अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । यसमा १५ किमि टनेल र २१.५ किमि जमिनमाथि हुनेछ । ओभरग्राउन्ड स्टेसन १२ र अन्डग्राउन्ड स्टेसन ९ वटा रहनेछन् ।
गोदावरीदेखि भृकुटीमण्डप, बुढानीलकण्ठ जाने २६ किमि लामो पाटन लाइनमा १४.५ किमि टनेल र ११.५ किमि जमिनमाथि बनाउनुपर्ने डा. अमात्यको सुझाव छ । यसको ओभरग्राउन्ड स्टेसन ९ र अन्डरग्राउन्ड स्टेसन ११ रहनेछन् । यसको अनुमानित बजेट २ अर्ब अमेरिकी डलर छ । काठमाडौं लाइन सञ्चालन खर्च १७ देखि ४३ मिलियन डलर वार्षिक र पाटन लाइनका लागि १२ देखि ३१ मिलियन अमेरिकी डलर लाग्ने अनुमान छ । निजी व्यावसायिक प्रतिष्ठान, सफ्ट लोन, वैदेशिक लगानी, करदाता आदिबाट बजेट जोहो गर्न सकिने जनाइएको छ ।
इङ्ल्यान्डको युनिभर्सिटी अफ वारविकमा अध्ययनरत १५ विद्यार्थीले सन् २०१८ मा पनि उपत्यकामा मेट्रो रेलबारे ६ महिना अनुसन्धान गरेका थिए । अनुसन्धान काठमाडौंको माटोमा सुरुङ प्रविधि कस्तो हुन्छ भन्ने विषयमा केन्द्रित थियो । उपत्यकामा जमिनको सतह समथर छैन । त्यसकारण रेलको ट्र्याक राख्न १५ देखि ३५ मिटर जमिनमुनि सुरुङ जान सक्छ । किनभने रेल धेरै उकालो–ओरालो गर्न सक्दैन । टनेल ५.४ देखि ५.८ डायमिटर हुनुपर्छ । भूकम्प प्रतिरोधक बनाउन कंक्रिटको स्ल्याब २७५ देखि ३०० एमएम बाक्लो ल्याएर राख्नुपर्छ ।
मेट्रो रेल सञ्चालन गर्दा एकीकृत यातायात, संस्कृति तथा सम्पदा संरक्षण संवर्द्धन, मोबिलिटी एन्ड कनेक्टिभिटी, अर्बन रिजेनेरेसन, हरियाली कायम, भूमिगत ठाउँको प्रयोग, अर्थतन्त्र जस्ता विषयलाई पनि हेरिनुपर्ने अमात्यको भनाइ छ । मेट्रो रेल निर्माण गर्न सरकारी संस्था, निर्माण व्यवसायी र परामर्शदाताको कार्यक्षमता वृद्धि, विश्वविद्यालयको अनुसन्धान क्षमता वृद्धि, राजनीतिक नेताहरूको क्षमता वृद्धि, निर्माण सामग्रीहरूको गुणस्तर वृद्धि गर्ने योजना र नागरिकहरूमा सामाजिक जागरण जरुरी रहेको उनले बताए । बेलायतमा लन्डन अन्डरग्राउन्ड लिमिटेड भए जस्तै सरकारले मेट्रो रेल प्राधिकरण बनाएर त्यसअन्तर्गत मेट्रो बनाउने जिम्मा दिनुपर्ने उनको सुझाव छ ।
