नेपाली चियाले दार्जिलिङमा प्रत्यक्ष असर पारेको श्रमिक नेताहरूको तर्क
विराटनगर — नेपाली चियाले दार्जिलिङ चियाको ब्रान्डमा असर पुर्याएको भन्दै दार्जिलिङका चिया श्रमिक संगठनका एक नेताले नेपाली चियाको आयात तत्काल रोक्न केन्द्र सरकारले पहल गर्नुपर्ने अभिव्यक्ति दिएका छन् । एक साताअघि दार्जिलिङ भ्रमणमा आएका बखत पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले नेपाली चियाको आयात रोक्ने आश्वासन दिएकी थिइन् ।
यसअघि राज्यसभा सांसद शान्त क्षेत्रीले राज्य विधानसभामा नेपाली चियामाथि प्रतिबन्ध लगाउन राज्य सरकारसँग माग गरेकी थिइन् । क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा) दार्जिलिङ जिल्लाका महासचिव सुनिल राईले सिलिगुडीमा हालै त्यस्तो अभिव्यक्ति दिएका हुन् ।
‘दार्जिलिङ चियाको नाम गरेर बिक्री गरिने नेपालको चियालाई भारतमा रोक लगाउनको विकल्प छैन,’ दार्जिलिङका चिया श्रमिकहरूको बोनस बृद्धि मागसम्बन्धी एक कार्यक्रममा राईले भने, ‘नेपाली चियालाई रोक्न पश्चिम बंगाल र केन्द्र सरकार दुवै तहबाट पहल गरिनुपर्यो ।’ भारतीय चिया श्रमिकको बैठक त्यहींका श्रमिकको भन्दा बढी नेपाली चियाबारे केन्द्रित भएको थियो ।
खासगरी नेपाली चिया गुणस्तर जाँचमा गम्भीर भएर लाग्न पनि सरकारसँग माग गरिएको थियो । ‘हामीले पहिलादेखि नेपालको चियालाई अंकुश लगाउनुपर्छ भन्ने विषय उठाउँदै आएका छौं,’ महासचिव राईको भनाइ उद्धृत गर्दै नेपाली भाषाको अखबार हिमालय दर्पणमा उल्लेख छ, ‘तर सरकारले गम्भीर चासो दिएकै छैन । यसले भविष्यमा थप जटिलता पैदा हुन सक्छ ।’
सन् २०१६ मा तत्कालीन राष्ट्रपति प्रणव मुखर्जी दार्जिलिङ भ्रमणमा आएका बखत भारतीय चिया उद्यमी र श्रमिक संगठनहरूले नेपाली चियालाई प्रतिबन्ध लगाउन माग गर्दै ज्ञापन बुझाएका थिए । उक्त मागलाई भारत सरकारले अहिलेसम्म खासै गम्भीर रूपमा नलिएको भन्दै उद्यमी रुष्ट बनेका छन् । नेपाली चियाले दार्जिलिङमा प्रत्यक्ष असर पारेको श्रमिक नेताहरूको तर्क छ ।
‘दार्जिलिङको चिया श्रमिक र चिया उद्योगलाई बचाउने हो भने केन्द्र सरकारले तत्काल नेपाली चियामाथि प्रतिबन्ध लगाउनुपर्छ,’ राईले भने । नेपाली चिया खुला रूपमा भारत निर्यात हुन्छ । त्यही चियालाई केही व्यापारिक गिरोहले ‘दार्जिलिङ ब्रान्ड’ बनाएर तेस्रो देश पठाउने गरेको पाइएको छ ।
सन् २०२३ मा करिब १ करोड ७० लाख किलो चिया भारत निर्यात भएको थियो । नेपाली चियाको बढ्दो आयातका कारण दार्जिलिङ चियालाई प्रत्यक्ष असर परेको चिया श्रमिक संगठनहरूको दाबी छ । ‘नेपाली चिया रोक्नेबित्तिकै दार्जिलिङको चियाको बजार बढ्न थालिहाल्छ,’ अर्का एक श्रमिक नेताले भने, ‘नत्र दार्जिलिङ ब्रान्डको शाख बिस्तारै खस्किएर जाने कुरामा ढुक्क छौं ।’
विश्वबजारमा दार्जिलिङ ब्रान्डको गरिमा बचाइराख्न राज्य र केन्द्र दुवै तहका सरकारले पहल गर्नुपर्ने धारणा श्रमिक संगठनहरूको छ । इलाम र दार्जिलिङको भूगोल र हावापानी मिल्दोजुल्दो रहेको इलामको गोर्खा टी इस्टेटका सञ्चालक उदय चापागाईं बताउँछन् ।
जसका कारण नेपालमा उत्पादित चियाको स्वाद दार्जिलिङसँग मेल खान्छ । जसकारण कतिपय भारतीय चिया उद्यमी नेपाली चियासँग त्रस्त बनेका हुन् । ‘जसरी हुन्छ नेपाली चियामाथि विभिन्न बहानामा अंकुश लगाउने भारतीय रणनीति देखिन्छ,’ चापागाईंले भने, ‘यसका लागि नेपाल सरकारले बेलैमा ध्यानाकर्षण गर्न जरुरी छ ।’
