बझाङका दर्जनभन्दा बढी गाउँमा अझै छैन टेलिफोन सुविधा

कार्तिक २६, २०८१

वसन्तप्रताप सिंह

More than a dozen villages in Bajhang still do not have telephone facilities

बझाङ — सरकारले सन् २०२५ सम्म देशका सबै पालिकामा इन्टरनेट सेवा पुर्‍याउने लक्ष्यअनुसार अप्टिकल फाइबर नेटवर्क विस्तार गर्दै आएको छ । बझाङका धेरै पालिकाका बासिन्दाले अझै सहज ढंगले टेलिफोन सुविधा उपयोग गर्नसमेत पाएका छैनन् ।

यहाँको साइपाल, तलकोट, केदारस्युँ, बित्थडचिर गाउँपालिका र बुंगल नगरपालिकाका अधिकांश गाउँमा अहिले पनि फोन गर्न घण्टौं हिँड्नुपर्ने बाध्यता छ । 

चीनको तिब्बतसँग जोडिएको दुर्गम साइपाल गाउँपालिकामा पाँच वर्षअघि नेपाल टेलिकमको टावर सञ्चालनमा आए पनि सबै गाउँ सञ्चार सेवामा जोडिन सकेका छैनन् । वडा ४ र ५ अन्तर्गतका धुली, न्युना, बलौडीलगायत गाउँमा अहिले पनि टेलिफोनको टावर नटिप्ने गरेको स्थानीयको गुनासो छ । ‘पालिकामा टावर बन्यो । सबैलाई सुविधा भयो भन्ने भान पारिएको छ,’ स्थानीय तर्जन लामाले भने, ‘हामीले अहिले पनि राम्रोसँग कुरा गर्न डेढ/दुई घण्टा हिँडेर डाँडा चहार्नु परिरहेको छ ।’ 

साइपाल–२ मा पर्ने रस्यालेकमा निर्माण गरिएको टावरले समेट्ने क्षेत्रमा पनि आंशिक रूपमा मात्रै सञ्चालन हुने गरेको स्थानीयको गुनासो छ । ‘टावर बनेपछि केही सहज त भएको छ । तर चाहिएका बेला फोन नलाग्ने समस्या उस्तै छ,’ काडाका प्रेम बोहराले भने, ‘बादल लागेको बेला हिउँ परेका बेला टावरले काम गर्दैन । केही आपत् पर्‍यो भने दिनभर हिँडेर डाँडाकाँडा धाउनुपर्छ ।’

साइपालसँग जोडिएको तलकोट गाउँपालिकाका दाँतोला, किदन्न, बढीगाउँलगायत गाउँको अवस्था पनि यस्तै छ । पालिकाका अन्य क्षेत्रमा पनि घाम लागेका बेला मात्रै नेटवर्कले काम गर्ने र अरू बेला सम्पर्कविहीन हुनुपर्ने बाध्यता स्थानीयको छ । टेलिफोन र इन्टरनेट सेवा ठीक नभएका कारण पालिकाले दिने सेवा पनि प्रभावित हुने गरेको सूचना प्रणाली अपरेटर (एमआईएस अपरेटर) भरत विष्टले बताए । ‘पालिकामा छुट्टै इन्टरनेट सुविधा छैन । नेटवर्कले काम गरेका बेला डाटा लिएर इन्टरनेट चलाउने गरेका छौं,’ विष्टले भने, ‘चाहिएका बेला डाटा नचल्दा टाढाबाट हिँडेर आएका सेवाग्राहीले दुःख पाउने गरेका छन् ।’ इन्टरनेट सेवा नहुँदा व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा भत्तालगायत काम पटक–पटक प्रभावित हुने गरेको र दुर्गम गाउँमा टेलिफोन सम्पर्क नहुँदा पालिकाका सूचना प्रवाहमा पनि समस्या भइरहेको उनले बताए । 

बुंगल नगरपालिकाको हालत पनि उस्तै छ । घाम लागेका बेला मात्रै यो पालिकाका सीमित क्षेत्रमा नेटवर्कले काम गर्ने गरेको छ । वडा १ र २ को बीचमा रहेको दहचौरमा रहेको टेलिकमको टावरले काम नगरेका कारण यी दुई वडा पाँच महिनादेखि पूर्ण रूपमा सञ्चार सम्पर्कविहीन रहेको बुंगल नगरपालिका–२ का पूर्ववडाध्यक्ष विश्वप्रकाश जोशीले जनाए । 

‘गाउँमा केही ठूलो घटना भयो । कोही मान्छे मर्‍यो भने पनि बाहिर भएका आफन्तले थाहा नपाउने अवस्था छ,’ उनले भने, ‘सूचना प्रविधिको युग भए पनि बुंगलका जनताले एक ठाउँबाट अर्को ठाउँ खबर पठाउनुपर्दा मान्छे दौडाउनुपर्ने अवस्था छ ।’ बझाङको केदारस्युँ, मस्टा, दुर्गाथली तथा छबिस पाथीभेरा गाउँपालिका र जयपृथ्वी नगरपालिकाका दुर्गम गाउँमा पनि टेलिफोनको नेटवर्कले राम्रोसँग काम नगर्ने स्थानीय बताउँछन् । 

सरकारले इन्टरनेट सेवा गाउँ–गाउँमा पुर्‍याउने अभियान चलाइरहेको बताइरहँदा आफूहरूले टेलिफोन गर्न पनि घण्टौं हिँड्नुपर्ने बाध्यता भोग्नु परिरहेको जनप्रतिनिधिको भनाइ छ । ‘गाउँ–गाउँमा फाइबर इन्टरनेट पुर्‍याउने सरकारको नीति एकातिर छ । एक कल फोन गर्न पनि नपाउने हाम्रो बाध्यता अर्कोतिर छ,’ आफ्नो पालिकामा थप टावर निर्माणका लागि जिल्लादेखि केन्द्रसम्म पहल गर्दा पनि सफल हुन नसकेको अवस्था सुनाउँदै साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले भने, ‘सूचना प्रविधिको युगमा पनि खबर एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउन मान्छे नै पठाउनुपर्ने बाध्यता छ । टावर बनाइदिनुस् भनेर पटक–पटक धाउँदा पनि नसुन्ने राज्यको नीति कसरी सफल होला ?’

यता नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले पनि सरकारको नीतिअनुसार टेलिकमले सबै गाउँमा सञ्चार सुविधा पुर्‍याउन काम गरिरहेको तर कतिपय बस्ती विभिन्न कारणले अझै सम्पर्क सञ्जालमा नजोडिएको बताए । ‘हाम्रो पनि सबै ठाउँमा सञ्चार सेवा पुर्‍याउने लक्ष्य छ । यद्यपि कतिपय ठाउँमा बिजुलीको कारण, कतिपयमा टावर नभएको कारणले नपुगेको हुन सक्छ,’ उनले भने, ‘बझाङको हकमा के भएको हो भनेर म त्यो क्षेत्र हेर्ने अधिकारीसँग बुझेर सुधारको प्रयास गर्न लगाउँछु ।’ 

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully